देउवाको आगमन, कांग्रेस समीकरणमा जोड–घटाउ
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा फागुन १३ गते राति उपचारका लागि ‘सुटुक्क’ सिंगापुर प्रस्थान गरे। एकातिर सत्ताबाट विमुख, अर्कोतिर पार्टी राजनीतिबाट ‘किनारा’ मा परेका देउवाको सिंगापुर प्रस्थानले राजनीतिमा अनेक प्रश्न उब्जाएका थिए। त्यसमाथि सम्पत्ति शुद्धीकरणलगायतमा छानबिन र सरकारबाट पक्राउ गरिने हल्ला चलाइएको थियो। तर, बिहीबार स्वदेश फर्किने क्रममा देउवाका पक्षमा देखिएको कांग्रेस समर्थकको भीडले पार्टीको आन्तरिक राजनीतिक समीकरणमा फेरि हलचल पो ल्याउने हो कि भन्ने अनुमान गर्न थालिएको छ।
५ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्केलगत्तै देउवाको नाममा अपिल जारी गरियो।‘आफू नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर’ फर्किएको देउवाले अपिलमा उल्लेख गरे। आफूलाई ‘विनम्र सेवक’ का रूपमा प्रस्तुत गर्दै सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन नेपाल फर्किएको उनले बताएका थिए। अपिलमा देउवाले भनेका छन्– ‘जनता नै देशका मालिक हुन्, जनताले जे चाह्यो त्यही हुन्छ।’
आफू पक्षीय नेताहरूले खोलेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई देउवाले संक्षिप्त सम्बोधन गरे।देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए। ‘हाम्रो खिलापमा मुद्दा हालियो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए,’ देउवाले आक्रामक हुँदै भने, ‘तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ नेपालमा पनि मुद्दा लगाएका छन्, यस्ता फटाहाहरू छन् यहाँ। सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो।तैपनि बदमासी गरे।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पटक–पटक आफूहरूमाथि अनुसन्धान गरेको उनको भनाइ थियो।‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो। दोस्रो पटक आयो, केही छैन भन्यो। उसलाई निकालिदियो।यतिसम्म बदमासीपूर्ण काम गरेका छन्, तर मलाई बदलाको भावना लिनु छैन।’
‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् ?’
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई केही गर्न नसकेको भन्दै अरूले पनि केही गर्न नसक्ने देउवाले बताए।‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ? ’ उनले आक्रामक शैलीमा भने।देउवाले देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए।‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र।मैले मात्रै चाहेर ल्याएको हो र ?
संविधानसभाले ल्याएको हो गणतन्त्र। मैलेमात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन।नेपाली जनता सबैभन्दा ठूला हुन्। जनता मालिक हुन्। मालिकले जे भन्यो त्यही हुन्छ।’ नेपाली जनता र नेपाली अदालतमाथि आफूलाई पूरा विश्वास रहेको पनि देउवाले बताए। ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो, यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ देउवाले भने। उनले आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। पाँच महिनाको उपचारपछि स्वदेश फर्कन पाउँदा आफू गहिरो भावनाले भरिएको उल्लेख गर्दै उनले हिमाल, पहाड र तराईले आफूलाई आफ्नै घरतर्फ बोलाएको अनुभूति भएको बताएका छन्।
देउवाले सार्वजनिक जीवनमा पदमा रहेर काम गर्दा आलोचना र प्रत्यालोचना हुनु स्वाभाविक भएको उल्लेख गर्दै आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरेका छन्।उनले आफ्नो जीवन ‘खुला किताब’ भएको भन्दै आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
कांग्रेसको एकतामा जोड
देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताएका छन्।‘संसद्मा अंकगणितीय रूपमा कांग्रेस सानो भए पनि २००७ सालदेखि नेपालको राजनीतिक परिवर्तनका हरेक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ,’ देउवाले अपिलमा भनेका छन्।मुलुकको ‘मियो दल’ कांग्रेसभित्र विवाद हुँदा राष्ट्रियता नै कमजोर हुन सक्ने भन्दै उनले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई सामूहिकतामा विश्वास गर्ने पार्टीको चरित्रअनुसार अघि बढ्न आग्रह गरेका छन्।सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा देउवाले जोड दिएका छन्।
पाका सबै नेता खराब भन्ने भाष्य गलत
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति देउवाले युवाहरूलाई नेतृत्वमा अघि बढाउनुपर्ने बताउँदै सामाजिक सञ्जालमा प्राप्त भ्युजका आधारमा पाका तथा अनुभवी सबै नेता खराब हुन् भन्ने भाष्य निर्माण गर्न नहुने स्पष्ट पारेका छन्।उनले युवा पुस्तालाई अघि बढाउँदै गर्दा कांग्रेसको ऐतिहासिक दायित्व, अनुभव र योगदानलाई पनि बिर्सिन नहुने सन्देश दिएका छन्।
देउवा चुनदेवी पुगेलगत्तै उनको कार्यकक्ष प्रवेश गर्ने ढोकामा सभापति पद राखिएको छ।इतर पक्षले देउवालाई सभापतिकै रूपमा कार्यकक्ष बनाएर प्रवेश गराएको थियो।
कांग्रेसले भन्यो– अभिभावकीय भूमिकाको अपेक्षा गर्छौं
कांग्रेसको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएकामा स्वागत गरेको छ।सभापति गगन थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले भनेको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएकोमा हार्दिक स्वागत गर्दछ।
यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ।’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ।’
बैठकले देउवाबाट अभिभावकीय भूमिकाको पनि अपेक्षा गर्दै भनेको छ, ‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्णविश्वास व्यक्त गर्दछ।’ बैठकको सुरुवातमै सभापति थापाले भने, ‘स्वास्थ्य उपचारपछि नेपाल फर्किनुभएका निवर्तमान
सभापति शेरबहादुर देउवाजीलाई स्वदेशमा स्वागत छ।’
तर, कांग्रेसभित्रको नेतृत्व र आधिकारिकतासम्बन्धी विवाद भने कायमै छ। नेता डा. शशांक कोइरालाले देउवा नै नेपाली कांग्रेसको वैधानिक सभापति रहेको दाबी गरेका छन्।सभापतिको जिम्मेवारीका विषयमा कानुनी अड्चन वा अदालतबाट ‘स्टे अर्डर’ नरहेको भन्दै उनले देउवा नेतृत्वअन्तर्गत पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन्।पार्टीबाट बाहिरिएको पक्षलाई समेत पुनः मूलधारमा ल्याउनुपर्नेमा जोड दिँदै कोइरालाले असन्तुष्टि संवादमार्फत समाधान गर्नुपर्ने बताए।
राष्ट्रिय भेलालाई सम्बोधन गर्ने
२९ साउनदेखि कांग्रेस संस्थापनइतर (देउवा) समूहले तीनदिने राष्ट्रिय भेला आयोजना गरेको छ। देउवाले उक्त भेलालाई सम्बोधन गर्ने तय भइसकेको उनी पक्षीय नेताहरू बताउँछन्। अर्कोतर्फ संस्थापन पक्षको केन्द्रीय समिति बैठक पनि जारी छ। विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएको कांग्रेसको आधिकारिकता विवाद र देउवा पक्षका नेताहरूले बोलाएको राष्ट्रिय भेलाका कारण पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको छ। लामो समय विदेशमा रहेका देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक शक्ति समीकरणमा उनको प्रत्यक्ष उपस्थितिको प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषय पनि चर्चामा देउवा स्वदेश फर्किएसँगै उनी र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषय पनि पुनः चर्चामा आएको छ।
जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी र लुटपाट भएपछि जलेका नोटका टुक्रा फेला परेको खबर सार्वजनिक भएका थिए।त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो।
विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरूलाई नेपाल फर्काउने उद्देश्यले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराउने प्रयास भए पनि पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै रेड नोटिस जारी नभएको बताइएको छ।देउवा स्वयं नेपाल फर्किएपछि अनुसन्धान र अदालतबाट जारी पक्राउ पुर्जीको कार्यान्वयन कसरी अघि बढ्छ भन्ने विषय सर्वत्र चासोको विषय बनेको छ।
विदेश बसाइबारे प्रश्न कायमै
देउवा फागुन १२ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए।उनकी पत्नी आरजु भने दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन्। पछि देउवा दम्पती सिंगापुरबाट हङकङ पुगेका थिए। उनीहरूले उपचारका लागि विदेश गएको बताउँदै आए पनि कहाँ र कुन स्वास्थ्य समस्याको उपचार गराइएको हो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। पाँच महिनाभन्दा लामो विदेश बसाइको खर्च कसले व्यहोरेको हो भन्ने प्रश्न पनि अझै उठिरहेको छ।
देउवा स्वदेश फर्किए पनि उनकी पत्नी आरजु भने अझै विदेशमै रहेकी छन्। स्वास्थ्य उपचारपछि देउवाको स्वदेश फिर्तीले व्यक्तिगत स्वास्थ्यभन्दा बाहिर कांग्रेसको नेतृत्व विवाद, पार्टी एकता, आगामी राजनीतिक रणनीति तथा सम्पत्ति शुद्धीकरण अनुसन्धानलगायत विषयलाई समेत पुनः राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।
प्रदीप पौडेल, महामन्त्री

निवर्तमान पार्टी सभापति शेरबहादुर दाइलाई हार्दिक स्वागत छ। पूर्ण स्वास्थ्यलाभको कामना छ। कांग्रेस पार्टीले उहाँलाई ५ पटक प्रधानमन्त्री बनाएको हो। दुई पटक पार्टी सभापति बनायो। उहाँले नेपाली कांग्रेस पार्टीलाई एकतामा ल्याउन पहल गर्नुहोला। उहाँबाट अपेक्षा गरिने मुख्य कुरा भनेको उहाँ कुनै कित्ताको हुनुभएन। विधि–प्रक्रियालाई स्वीकार्नुहुन्छ भन्ने हामीलाई लाग्छ। शेरबहादुर दाइ विधि र प्रक्रिया मान्ने नेता हो। उहाँले विधिलाई अवलम्बन गरेर सबैलाई एउटै डोरीमा समेट्नुहुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ।
पूर्णबहादुर खड्का, पूर्वकार्यवाहक सभापति
हामीले हाम्रो अभिभावक आएको महसुस गरेका छौं। हाम्रा अभिभावक तथा पार्टी सभापति शेरबहादुर देउवा भदौ २४ गतेको घटनामा धेरै ठूलो आक्रमणमा परेर गम्भीर घाइते हुनुभएको सबैलाई थाहा छ।उहाँ थप स्वास्थोपचारका लागि विदेश जानुभएको थियो। आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौं।यसबाट हामी सबै खुसी र उत्साहित भएका छौं। अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ। एउटा नेतृत्वमा हुनुपर्ने परिपक्व भावको कमी भएरै पार्टी एक हुन सकेको थिएन।अब एउटै लयमा पार्टी जान्छ। त्यो भूमिका आदरणीय नेता शेरबहादुर देउवाले गर्नुहुन्छ।
राष्ट्रिय भेला आयोजक समितिले उहाँ कार्यालयमा आउँदा कुन भूमिकामा राख्ने, कोठामा राख्दा के परिचय दिएर राख्ने भनेर तय गरेको हो।एउटा कोठामा डा. शशांक कोइराला संयोजक हुनुहुन्छ, अर्कोमा उहाँ।

मीन विश्वकर्मा
नेता
कांग्रेसको सभापति गगन थापा नै हुनुहुन्छ, उहाँ नै वास्तविक नेतृत्व हो।शेरबहादुर दाइको नाममा चलखेल गर्ने र उहाँलाई प्रयोग गरेर फेरि तागतमा पुग्ने कांग्रेसभित्रको प्रवृत्ति मौलाएको छ।त्यसले नेपाली कांग्रेसलाई उचाइमा पुर्याउन सक्दैन।

डिला संग्रौला
सहमहामन्त्री
एउटा जनताको छोरो, सुदूरपश्चिमको एउटा कुनाकाप्चामा जन्मिएको एउटा नेता, उहाँको कर्मले गर्दा आज यत्रो समर्थन पाउनु भएको छ।यो नेपाली जनताका लागि पनि खुसीको कुरा हो।
मोहन बस्नेत
नेता
अब शेरबहादुर देउवाजीकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ।देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा विमानस्थल आउनुभएको छ।अहिले नआएका नेताहरू पनि केही दिनभित्र आउनुहुन्छ।
डा. प्रकाशशरण महत
नेता
प्रतिक्रिया दिनुहोस !