अवैध रूपमा औषधि प्याकिङ गर्ने वीरगन्जको फर्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ
वीरगन्ज : वीरगन्जमा अवैध रूपमा औषधि प्याकिङ गरेर बजारमा बिक्री गर्ने गरेको आरोपमा प्रहरीले एक फार्मास्युटिकल्सका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-११ श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिका सञ्चालक राहुल चौहान रहेका छन्।
श्रीपुरको उक्त फार्मास्युटिकल्सको आडमा करिब डेढ वर्षदेखि अवैध रूपमा औषधि प्याकिङ तथा कारोबार भइरहेको सूचना पाएपछि शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी नायब उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले फार्मास्युटिकल्समा छापा मारेर सञ्चालक चौहानलाई नियन्त्रणमा लिएको हो।
त्यसक्रममा प्रहरीले उक्त फार्मास्युटिकल्सबाट अवैध रुपमा प्याकिङ गरिएका औषधि, कच्चा पदार्थका रूपमा राखिएका औषधिजन्य वस्तु, स्टिकर र लेबलहरू पनि जफत गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले आरपी फार्मास्युटिकल्सका सञ्चालक चौहानलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।
बिना अनुमति औषधिजन्य पदार्थ प्याकिङ भइरहेको सूचनाका आधारमा शुक्रबार उक्त फार्मास्युटिकल्समा पुगेर प्रहरीले खानतलासी गरेको उनले बताए। त्यसक्रमा प्याकिङ गरिएका औषधि र कच्चा पदार्थका रूपमा राखिएका औषधिजन्य वस्तुहरू पनि प्रहरीले जफत गरेको उनले बताए। चौहानलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !