काठमाडौं : कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा रहेकै बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले शुक्रबार राष्ट्रिय भेलाको आयोजना गर्यो। पार्टी विभाजन रोक्नुपर्ने र पुरानो संरचनालाई पुनः एकीकृत गर्नुपर्ने देउवापक्षीय नेताहरूको जोड रह्यो। भेलाको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सन्देश भने पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति देउवाको पुनः केन्द्रीय भूमिकामा देखिएको सक्रियता हो।
देउवाले स्वयं पार्टीभित्र भावनात्मक एकता आवश्यक रहेको भन्दै कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता दुवै कमजोर हुने चेतावनी दिए। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले गत पुसमा भएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको दाबी गरे। विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेको भन्दै उनले अदालतबाट न्याय हुनेमा आफू विश्वस्त रहेको बताए।
पार्टीलाई व्यक्ति केन्द्रित नभई संस्थागत आधारमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। ‘कांग्रेसभित्र भावनात्मक रूपमा एकता आवश्यक छ। पार्टीमा विवाद हुँदा मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ,’ देउवाले भने।
कांग्रेसको लामो राजनीतिक इतिहास, विगतमा सहमति र सहकार्यबाट पार्टीले कठिन परिस्थितिको सामना गरेको उदाहरण तथा वर्तमान राजनीतिक संवेदनशीलतालाई जोड्दै देउवाले पार्टी एकताको पक्षमा दृढ हुन सबैलाई आग्रह गरे। उनले मुलुकमा समेत राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
‘मुलुकको यो विषम परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएका सबै राष्ट्रिय राजनीतिक शक्ति र व्यक्तिसँग सहकार्यको ढोका खुल्ला रहनुपर्छ भन्ने मेरो विश्वास छ। आज महामानव बीपी कोइरालाले देखाउनु भएको राष्ट्रिय एकता र मेलमिलापको मार्ग अझ बढी सान्दर्भिक भएको छ।’
शेरबहादुर देउवा
राजनीतिक अस्थिरता र सामाजिक निराशालाई सम्बोधन गर्न लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको निष्कर्ष थियो।
देउवाले आफूलाई मुलुकको राष्ट्रियता र जनताको हितमा आवश्यक जुनसुकै भूमिकाका लागि तयार रहेको सन्देशसमेत दिए। राष्ट्रिय भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले भने देउवालाई ‘निवर्तमान’ ‘पूर्वसभापति’ नभनी कांग्रेसको सभापति नै भन्नुपर्ने जिकिर गरे। निधिले कार्यकर्तालाई गाउँगाउँसम्म देउवा नै कांग्रेसको सभापति रहेको सन्देश लिएर जान आग्रह गरे। उनले आगामी १५औं महाधिवेशनसमेत देउवाकै नेतृत्वमा हुने दाबी गरे।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन गर्ने निर्णयलाई गम्भीर राजनीतिक गल्तीका रूपमा चित्रित गरे। उनले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई सभापति भन्नसमेत आफूलाई असहज लागेको बताए। विशेष महाधिवेशन अवैधानिक र अराजक ढंगले गरिएको आफ्नो पक्षको धारणा रहेको उनको भनाइ थियो। सिटौलाले थापालाई आफ्नो निर्णय पुनर्विचार गर्न सुझाव दिँदै गल्ती स्वीकार्नु कमजोरी नभई राजनीतिक महानता हुने बताए।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आन्तरिक विवादलाई राष्ट्रिय संकटसँग जोड्दै अझ गम्भीर परिस्थिति आउन सक्ने चेतावनी दिए।
तराई–मधेसमा पछिल्लो समय देखिएको जातीय द्वन्द्वको घटनालाई उनले ‘ट्रेलर’को संज्ञा दिए। त्यसको राजनीतिक अर्थ कांग्रेसभित्र मात्रै सीमित नरहेको उनको संकेत थियो। उनका अनुसार कांग्रेस कमजोर र विभाजित भए मुलुकमा उत्पन्न हुन सक्ने राजनीतिक तथा सामाजिक संकट सामना गर्न कठिन हुनेछ।
खड्काले राष्ट्रियता जोगाउन कांग्रेसको एकता पहिलो आवश्यकता भएको बताए। साथै सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै छिमेकी मुलुकसँगको सम्बन्धमा पनि विशेष ध्यान पुर्याउनुपर्ने उनको धारणा थियो।
नेता डा. शेखर कोइरालाले कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको स्वीकार गर्दै पार्टी अन्ततः एक ढिक्का हुने विश्वास व्यक्त गरे। ‘हामी कांग्रेस मिलाउँछौं’ भन्ने सन्देश दिँदै उनले पार्टीलाई एकताबद्ध गर्नु देशकै आवश्यकतासँग जोडिएको विषय भएको बताए।
शेखरको सहभागिता यस भेलाको अर्को महत्त्वपूर्ण राजनीतिक पक्ष हो। उनी विगतमा देउवा पक्षसँग प्रतिस्पर्धामा रहे पनि पछिल्लो विवादमा विशेष महाधिवेशनको प्रक्रियाप्रति असहमति राख्ने नेताहरूको समूहमा देखिएका छन्। यसले देउवा–शेखर समूहबीच रणनीतिक निकटता बढेको संकेत गरेको छ। पछिल्ला महिनामा कांग्रेसको आन्तरिक समीकरणमा देउवा, खड्का र शेखर पक्षबीच सहकार्यको सम्भावना चर्चामा रहँदै आएको छ।
नेता रमेश लेखकले पनि कांग्रेसलाई पूर्वसभापति देउवाको नेतृत्वमा पुनः एकीकृत गर्नुपर्ने स्पष्ट धारणा राखे। उनका अनुसार विशेष महाधिवेशनका कारण कांग्रेस विभाजनको अवस्थामा पुगेको छ। नियमित र विशेष महाधिवेशन पक्षधरलाई पुनः एउटै संरचनामा ल्याएर अघि बढ्नुपर्ने उनको प्रस्ताव छ। लेखकले विशेष महाधिवेशनको प्रक्रियालाई प्राकृतिक राजनीतिक प्रक्रियालाई हतारमा बदल्ने प्रयासका रूपमा चित्रित गरे।
नेता एनपी साउदले कांग्रेसका युवा नेताहरूले प्रस्तुत गर्दै आएको लोकप्रियताको दाबीमाथि प्रश्न उठाए। ‘हाम्रो अनुहार बिक्छ’ भन्ने दाबी निर्वाचन परिणामले पुष्टि नगरेको उनको टिप्पणी थियो। उनले पार्टीभित्र केही नेताको राजनीतिक महत्त्वाकांक्षाका कारण निर्वाचनको मुखमा विशेष महाधिवेशन गरिएको र त्यसले कांग्रेसको संगठनात्मक एकतालाई कमजोर बनाएको आरोप लगाए।
पूर्वउपसभापति विजयकुमार गच्छदारले कांग्रेसमा भावनात्मक दूरी बढेको भन्दै चिन्ता व्यक्त गरे। उनले विगतमा गुटगत राजनीतिका कारण पार्टी विभाजनको पीडा आफैंले भोगेको स्मरण गर्दै आफू कुनै गुटमा नरहेको बताए। गच्छदारले कांग्रेस अहिले करुणाहीन बन्दै गएको टिप्पणी गरे। उनका अनुसार पार्टीभित्र एक नेताको पीडामा अर्को नेता खुसी हुने अवस्था सिर्जना हुनु कांग्रेसको मूल चरित्रविपरीत हो।
नेता प्रकाशमान सिंहले आगामी १५औं महाधिवेशन निष्पक्ष र विधिसम्मत रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले नेताहरूले लोभ र डरबाट मुक्त भएर निर्णय गर्नुपर्ने बताए।
सिंहले सामाजिक सञ्जालबाट मात्रै शासन सञ्चालन नहुने टिप्पणी गर्दै जनताको वास्तविक समस्या बुझ्न राजनीतिक दलहरू जनतामाझ पुग्नुपर्ने बताए। महँगी, ग्यास, मललगायत दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्न कांग्रेसले आफ्नो राजनीतिक भूमिका पुनस्र्थापित गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय भेलामा देउवा र शेखर कोइराला पक्षका नेताहरूको उपस्थितिले कांग्रेसभित्र नयाँ शक्ति समीकरणको सम्भावना देखाएको छ। यसअघि नेतृत्वका लागि प्रतिस्पर्धा गरेका देउवा र शेखर हाल गगन नेतृत्वको विशेष महाधिवेशन प्रक्रियाप्रति असहमति राख्ने साझा धरातलमा देखिएका छन्। यद्यपि यो स्थायी राजनीतिक गठबन्धन हो वा तत्कालीन परिस्थितिमा बनेको रणनीतिक सहकार्यमात्र हो भन्ने स्पष्ट भइसकेको छैन। तर आगामी १५औं महाधिवेशनमा नेतृत्वको समीकरण निर्माण गर्दा शेखर समूह निर्णायक बन्न सक्ने सम्भावना भने बढेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस !