लगानीकर्ताको ‘पर्ख र हेर’ अवस्थाले सेयर बजारको घट्ने क्रममा सुधार
काठमाडौं : स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालको भनाइ छ– ‘बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्।’
संस्थागत लगानीकर्ता पनि लगानी गर्न हच्किएका छन्। बैंकको मुद्दतीबाट एकदमै कम प्रतिफल आउँदा पनि पैसा ‘होल्ड’ गरी राखेका छन्। सेयर बजारमा सुधार ल्याउन सरकारले केही प्रयास गरे पनि सफल हुन सकेको देखिँदैन। यसबेला सेयर बजार घट्ने क्रममा भने केही सुधार आएको छ। साउनको चौथो सातामा नेप्से ३ दिन बढ्यो भने २ दिन घट्यो। अघिल्लो साता पनि ५ दिन सेयर कारोबार भएकोमा १ दिन बढेर ४ दिन घटेको थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६५७.४४ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार सामान्य अंकले घट्यो। त्यसदिन नेप्से ९.०२ अंकले घटेर २६४१.०६ विन्दुमा झर्यो। त्यसपछिका तीन दिन लगातार नेप्से सामान्य अंकले बढ्यो। मंगलबार ०.७९ अंक र बुधबार ०.५५ र बिहीबार ८.८१ अंकले नेप्से बढ्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार भने नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा झर्यो।
सातामा दुई दिनको कारोबारमा १६.३९ अंकले घट्ने र तीन दिनको कारोबारमा १०.१५ अंकले बढ्ने हुँदा नेप्सेमा ६.२४ अंकले गिरावट आयो। अघिल्लो सातामा पनि नेप्से ३५.४३ अंकले घटेको थियो। यस सातामा बुधबार न्यून विन्दु २६२९.२२ मा र बिहीबार उच्च विन्दु २६५६.५४ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो। यस साता सबैभन्दा कम मंगलबार ३ सय ४० वटा कम्पनीको कारोबार भएकोमा सोमबार साताकै सबैभन्दा बढी ३ सय ५२ स्क्रिप्टको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५० स्क्रिप्टसम्मको कारोबार भएको थियो।
यस साता सबैभन्दा कम सेयर कारोबार बिहीबार ३ अर्ब ५३ करोड २१ लाख र सबैभन्दा बढी शुक्रबार ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँ भयो। साताभरिमा ५ दिनको कारोबारमा १९ अर्ब ३१ करोड ७७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसबाट औसतमा दैनिक ३ अर्ब ८६ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता भने २१ अर्ब ४४ करोड ९६ लाखको कारोबार हुँदा औसतमा दैनिक ४ अर्ब २८ लाख ९९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग १० प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता भने औसत दैनिक सेयर कारोबार करिब २ प्रतिशत मात्रैले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ५४ करोड ३६ करोड रुपैयाँ पुगेको थियो। साताभरमा नेप्से ६.२४ अंकले घट्दा कुल बजार पुँजीकरण ६ अर्ब ९१ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण ६० अर्ब ९२ करोड रुपैयाँले घटेको थियो।
यस साता सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रिज र माउन्टेन एभरेस्ट पावर डेभलपमेन्टको दुई–दुई दिन र अपर लोहोरे खोला हाइड्रोपावरको एक दिन सकरात्मक सर्किट लेभलमा कारोबार भयो। अघिल्लो साता २ दिने एभरेस्ट कलरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। यस साता बिहीबार अपर लोहोरे खोला हाइड्रोपावरको नकारात्मक सर्किट लेभलमा पनि कारोबार भएको थियो।
यस साता सर्वाधिक बढी कारोबार हुनेमा सोमबार सोलु हाइड्रोपावरको ४६ करोड ३७ लाख, मंगलबार पनि सोलुकै ४४ करोड ८७ लाख र बुधबार एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्टको ३१ करोड ७० लाख रुपैयाँ छ। त्सैगरी, बिहीबार सर्वाधिक कारोबार घलेम्दी हाइड्रोपावरको २९ करोड ९८ लाख र शुक्रबार एग्रिकल्चर बोन्डको ७० करोड ७९ लाख रुपैयाँको भयो।
सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता ३ उपसमूको बढेको थियो भने अरू १० वटाको घटेको थियोे। बढ्नेमा होटल्स एन्ड टुरिजम, अदर र माइक्रो फाइनान्स समूह हुन्। अघिल्लो साता ७ उपसमूको घटेको थियो भने अरू ५ वटाको बढेको थियोे। बढ्नेमा म्यानुफ्mयाक्चरिङ एन्ड प्रोसेसिङ, ट्रेडिङ, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र इन्भेस्टमेन्ट समूह थिए।
यस साता सेन्सेटिभ इन्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले बढेका थिए। फ्लोट इन्डेक्स भने ०.०३ अंकले घटेको थियो। अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ७.०७ अंक र फ्लोट इन्डेक्स २.९४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६६ अंकले घटेका थिए।
नेप्सेको सीईओमा ८ जनाले दिए आवेदन
नेपाल स्टक एक्सचेन्जको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम समय गत साउन २६ गतेसम्ममा ८ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ।
अब उनीहरूको विज्ञहरूमार्फत कार्ययोजनाको मूल्यांकन गरिसकेपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ। त्यसपछि सर्टलिस्टमा पर्नेहरूले कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा दिनुपर्नेछ। सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधि जस्ता विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ।
सेयर बजारका समस्या सुल्झाउन सेबोन प्रतिबद्ध
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले सेयर बजारका समस्या सुल्झाउन प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाल सेयर बजार लगानीकर्ता संघका प्रतिनिधिमण्डलसँग गत सोमबार भएको छलफलमा यस्तो प्रतिबद्धता गरेका हुन्।
उनले नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए अध्यादेश ल्याएरै भए पनि पुराना समस्या समाधान गर्न आफू तयार रहेको दाबी गरे। उनले लगानीकर्ताको हक–हित संरक्षण र बजारको पारदर्शिता नै प्राथमिक जिम्मेवारी भएको बताए। संघका उपाध्यक्ष भगवानबहादुर रावतले बजार उतारचढाव हुँदा साना लगानीकर्ताको बचत जोखिममा परेको हुँदा देशको अर्थतन्त्र सुधार्ने वास्तविक माध्यम बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष डा. भट्टले लगानीकर्तालाई बजारको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरे। उनले सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङलाई व्यावहारिक रूपमै लागू गर्ने दाबी गरे। यसका लागि आवश्यक कार्य भइरहेको र लगानीकर्ताले छिट्टै प्रयोग गर्न पाउने आश्वासन उनले दिए।
प्रतिक्रिया दिनुहोस !