कुवेतमा मदिरा, जीवनकै खतरा

कुवेतमा मदिरा, जीवनकै खतरा
फाइल तस्बिर।
सुन्नुहोस्

कुवेत : संयोगले कुवेत सहर घुम्ने मौका मिल्यो। दुबईबाट कुवेत सहर प्रस्थान गर्दै गर्दा ‘ड्ययुटी फ्री’ मा मदिराका बोतलहरूमा आँखा नपरेका होइनन्। उपहार लगिदिनु पर्ने र कसैले पनि नमगाएको हुँदा खाली हात कुवेत लागियो। अक्सर छुट्टीमा जाने नेपालीहरू ड्युटी फ्रीमा रक्सीका बोतलहरू छानिरहेका भेटिन्छन्।

कुवेतमा बस्ने नेपालीहरूका लागि सबैभन्दा ठूलो सांस्कृतिक फरकमध्ये एक हो, रक्सीमाथिको पूर्ण प्रतिबन्ध। नेपालमा सामाजिक, सांस्कृतिक वा पारिवारिक जमघटमा सामान्य रूपमा देखिने मदिरा कुवेतमा भने कानुनी रूपमा निषेधित वस्तु हो। रक्सी खानु त परको कुरा, उत्पादन गर्न, बेच्न, किनेर राख्न वा ओसारपसार गर्न समेत पाइँदैन।

कुवेतमा करिब १ लाख ८६ हजार नेपाली बसोबास गरिरहेका छन्। तीमध्ये झन्डै ६८ हजार ९ सय घरेलु कामदारका रूपमा कार्यरत छन्। कुवेतमा आदिवासी जनजातिहरूको संख्या उल्लेख्य छ। त्यसमा पनि तामाङहरूको उल्लेख्य उपस्थितिले तामाङ जातिकै कलाकार नबोलाई कार्यक्रम सफल नहुने देश हो। जन्म र मृत्युका संस्कृतिसँग जोडिएको ठूलो नेपाली समुदाय भएको देशमा रक्सी प्रतिबन्धले नेपालीहरूको जीवनशैली, सामाजिक व्यवहार र सुरक्षामा पनि प्रभाव पारेको छ।

अन्य धेरै विविधता छन्, समस्याहरू छन् तर तीमध्ये एउटा सानो र आम मानिसहरूलाई कम महत्त्व लागे पनि मेरो नजरमा यो सानोतिनो विषय चाहिँ होइन। प्रायः भेट हुने दक्ष र उच्च दक्ष नेपाली श्रमिकहरूलाई मैले सोध्ने जिज्ञासा पनि यही हुन्थ्यो।

गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष विकाससिंह ठकुरीले श्रमिकहरूमा जनचेतना जगाए पनि धेरै नेपालीहरूले अवैध मदिरा सेवन गर्ने गरेको बताए। ‘कानुन कडा छ, तर पनि नेपालीहरूले विषादीयुक्त लोकल रक्सी पिउने गरेको पाइन्छ’, ठकुरीले भने। नेपाल पत्रकार महासंघ, कुवेतका अध्यक्ष राज मल्ल ठकुरीले आफू कार्यरत देशको कानुन पालना गर्नु सबैको कर्तव्य रहेको बताए। ‘त्यही भएर हामी आम श्रमिक दाजुभाइहरूलाई अवैध ढंगले रक्सी उत्पादन, बिक्रीवितरण र सेवन नगर्न भनिरहेका हुन्छौं,’ उनले भने।

कुवेत खाडी क्षेत्रको सानो तर धनी मुलुक हो। इराक र साउदी अरेबियाको बीचमा अवस्थित यो देश विश्वका प्रमुख तेल उत्पादकमध्ये एक हो। हाल कुवेतको जनसंख्या करिब ५३ लाख पुगेको छ। त्यसमध्ये ३७ लाखभन्दा बढी विदेशी नागरिक छन्। अर्थात् कुवेतको अर्थतन्त्रको ठूलो हिस्सा आप्रवासी श्रमिकको श्रममा निर्भर छ।

विदेशी समुदायमा भारतीय, इजिप्टियन, बंगलादेशी र नेपालीहरूको उल्लेख्य उपस्थिति छ। नेपाली श्रमिकहरू निर्माण, सुरक्षा, सेवा, ड्राइभिङ, होटल तथा घरेलु श्रम क्षेत्रमा कार्यरत छन्। कतिपयले दशकौंदेखि कुवेतलाई आफ्नो दोस्रो घर बनाएका छन्।तर कुवेत पुगेपछि धेरै नेपालीले महसुस गर्ने पहिलो सांस्कृतिक झट्का भनेको रक्सी प्रतिबन्ध हो। कुवेत इस्लामिक मूल्य र परम्परामा आधारित देश हो। इस्लाम धर्मले मदिरा सेवनलाई निषेध गरेको छ। त्यसैले कुवेत सरकारले रक्सी उत्पादन, आयात, बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। कतार वा यूएईमा सीमित रूपमा रक्सी उपलब्ध भए पनि कुवेतमा कुनै लाइसेन्सप्राप्त बार, क्लब वा मदिरा पसल सञ्चालनमा छैनन्।

कुवेती सरकारका अनुसार यो प्रतिबन्ध धार्मिक विश्वास मात्र होइन, सामाजिक स्थायित्व र सार्वजनिक सुरक्षासँग पनि सम्बन्धित छ। मदिराले अपराध, पारिवारिक हिंसा, सार्वजनिक अव्यवस्था तथा सडक दुर्घटना बढाउन सक्ने विश्वासका आधारमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ।
नेपाली समाजमा भने मदिराप्रतिको दृष्टिकोण भिन्न रहेछ। नेपालका धेरै समुदायमा मदिरा सामाजिक र सांस्कृतिक जीवनको अंग मानिन्छ।

चाडपर्व, पारिवारिक भोज, विवाह र साथीभाइबीचको भेटघाटमा मदिरा प्रयोग सामान्य मानिन्छ। यही पृष्ठभूमिबाट कुवेत पुगेका केही नेपालीहरूलाई रक्सीविहीन जीवनशैलीमा अभ्यस्त हुन समय लाग्ने गरेको छ।तर प्रतिबन्धले चाहना समाप्त गर्दैन। यही कारण कुवेतमा अवैध मदिराको एउटा भूमिगत बजार विकसित भएको छ। केही व्यक्तिहरूले गोप्य रूपमा घरेलु मदिरा उत्पादन गर्ने, वितरण गर्ने र बिक्री गर्ने गरेको सुरक्षा निकायको अनुसन्धानले देखाएको छ।

विशेष गरी कम आय भएका केही आप्रवासी श्रमिकहरू सस्तो मूल्यका कारण यस्ता अवैध पेय पदार्थतर्फ आकर्षित हुने गरेका छन्। कानुनी रूपमा उपलब्ध नहुने भएकाले यस्ता मदिरा पूर्ण रूपमा ब्ल्याक मार्केटमार्फत कारोबार हुने गर्छन्। तर यो आकर्षणले कहिलेकाहीँ ज्यानै लिन सक्छ।
अवैध मदिराको सबैभन्दा ठूलो जोखिम यसको गुणस्तर हो। कानुनी परीक्षण र निगरानीबिनै उत्पादन हुने भएकाले त्यसमा मिथानोलजस्ता विषाक्त पदार्थ मिसिन सक्छन्। मिथानोल मानव शरीरका लागि अत्यन्त खतरनाक रसायन हो। यसको सेवनले दृष्टि गुम्न सक्छ, कलेजो र मिर्गौलामा क्षति पुर्या‍उन सक्छ तथा मृत्यु समेत निम्त्याउन सक्छ।

  • कुवेतमा रक्सी प्रतिबन्ध धार्मिक मान्यतासँगै सामाजिक स्थायित्व र सार्वजनिक सुरक्षासँग जोडिएको सरकारी नीति हो।
  • नेपाली समाजमा सामान्य मानिने मदिरा संस्कृतिका कारण केही नेपालीलाई कुवेतको रक्सीविहीन जीवनशैलीमा अभ्यस्त हुन कठिन हुने गरेको छ।
  • प्रतिबन्धका बाबजुद केही नेपालीसहित आप्रवासी श्रमिकले अवैध रूपमा घरेलु मदिरा सेवन गर्ने गरेका छन्।

सन् २०२५ मा कुवेतमा यस्तै मिथानोलयुक्त अवैध मदिराका कारण कम्तीमा २३ जनाको मृत्यु भएको थियो। १६० भन्दा बढी व्यक्ति बिरामी परेका थिए। त्यसपछि कुवेती प्रहरीले ठूलो स्तरको कारबाही सञ्चालन गर्दै अवैध मदिरा उत्पादन गर्ने कारखाना फेला पार्यो र दर्जनौं व्यक्तिलाई पक्राउ ग¥यो। पक्राउ परेकामध्ये केही दक्षिण एसियाली आप्रवासीहरू पनि थिए। कैयौंलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने अधिकांशको मिर्गौलाको डायलासिस गर्नु परेको थियो।

यो घटना केवल स्वास्थ्य संकट मात्र थिएन। यसले कुवेतमा रहेका विदेशी समुदाय, विशेष गरी श्रमिक वर्गले भोग्ने अर्को यथार्थ पनि उजागर ग¥यो। धेरै श्रमिकहरू परिवारबाट टाढा, सीमित मनोरञ्जन र उच्च कार्यदबाबबीच जीवन बिताइरहेका हुन्छन्। केही व्यक्तिहरू मानसिक तनाव, सामाजिक एक्लोपन वा पुरानो बानीका कारण अवैध मदिरातर्फ आकर्षित हुने गरेका छन्। तर कुवेतमा यसको मूल्य महँगो छ। यदि कुनै विदेशी नागरिक रक्सी उत्पादन, बिक्री, खरिद वा सेवन गरेको अवस्थामा पक्राउ परेमा उसले जेल सजाय, जरिवाना र देश निकाला (डिपोर्टेसन) समेत भोग्न सक्छ। रोजगार गुम्ने जोखिम अलगै हुन्छ।

यस्तो अवस्थामा नेपाली दूतावासको भूमिका महत्त्वपूर्ण बन्छ। कुवेतस्थित नेपाली दूतावासले राहदानी नवीकरण मात्र गर्ने होइन, समस्यामा परेका नेपालीलाई कानुनी सहजीकरण, उद्धार, परामर्श तथा सम्बन्धित निकायसँग समन्वय गर्ने कार्य पनि गर्छ। विशेष गरी जोखिममा परेका घरेलु कामदार तथा अन्य श्रमिकका लागि दूतावास महत्त्वपूर्ण सम्पर्क केन्द्र हो।

दूतावास तथा नेपाली संघसंस्थाले सामुदायिक अभियानमार्फत स्थानीय कानुनबारे चेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ। कुवेतमा नेपाली समुदाय ठूलो भए पनि देशको कानुन सबैका लागि समान रूपमा लागू हुन्छ। स्थानीय नियम नजानेर गरिएको गल्तीले पनि गम्भीर परिणाम निम्त्याउन सक्छ।
विश्व बैंकका अनुसार नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान करिब २६ प्रतिशत पुगेको छ। विदेशमा पसिना बगाउने नेपाली श्रमिकहरू यही अर्थतन्त्रका मेरुदण्ड हुन्।

त्यसैले कुवेतमा रहेका नेपालीहरूले केवल रोजगारी मात्र होइन, स्थानीय संस्कृति र कानुनलाई पनि बुझेर अघि बढ्न आवश्यक छ। रक्सीमाथिको प्रतिबन्ध कसैलाई असहज लाग्न सक्छ, तर त्यसलाई उल्लंघन गर्ने प्रयासले स्वास्थ्य, रोजगारी र भविष्य तीनै वटा गुमाउन सक्ने जोखिम हुन्छ।

कुवेतमा रक्सी नपाइनु एउटा कानुनी यथार्थ हो। तर, अवैध मदिराको बाटो रोज्नु केवल कानुनको उल्लंघन मात्र होइन, आफ्नै जीवनलाई जोखिममा पार्ने निर्णय पनि हुन सक्छ। हजारौं नेपालीले यही यथार्थलाई स्वीकार्दै, श्रम र अनुशासनकै भरमा आफ्नो परिवारको सपना पूरा गरिरहेका छन्। यही नै कुवेतमा रहेका अधिकांश नेपालीहरूको वास्तविक कथा हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.