एसियाली खेलकुद : छनोटदेखि सहभागितासम्म विवादै विवाद

लक्ष्य पदकको, तगारो प्रशासनिक विवादको

लक्ष्य पदकको, तगारो प्रशासनिक विवादको
सुन्नुहोस्

काठमाडौं :

  • ई–स्पोट्र्स टोली क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट भए पनि एसियाली खेल्नबाट बञ्चित
  •  पौडी खेलाडीले गुहारे सर्वोच्च अदालत
  • टेनिसमा सदस्यसचिवको ‘स्पेसल कोटा’
  • विमानस्थलबाटै फर्किए तेक्वान्दो खेलाडी
  • दुई संघको किचलोले उसुमा सर्वाधिक खेलाडी

माथिका यी केही उदाहरण २०औं एसियाली खेलकुद (एसियाड) को मिति नजिकिँदै गर्दा भएका केही विवादका शृंखला मात्रै हुन्। जापानको आइची–नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २०औं एसियाली खेलकुदको मिति नजिकिँदै गर्दा एकपछि अर्को विवाद सिर्जना भइरहेको छ। एसियाडमा नेपालले यसपटक विगतको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। ‘मिसन २०२६’ अन्तर्गत लामो समयदेखि प्रशिक्षणमा रहेका खेलाडी, अन्तर्राष्ट्रिय प्रशिक्षण र पदकको महत्त्वकांक्षाले नेपाली खेलकुदमा आशा जगाएको छ।

सरकारले ‘मिसन २०२६ घोषणा गर्दा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने महत्वकांक्षी योजना घोषणा गरेको छ। तर, खेलाडीले मैदानमा पदकका लागि संघर्ष गरिरहँदा नेपाली खेलकुदको प्रशासनिक मैदान भने अझै विवादमुक्त हुन सकेको छैन। खेलकुदका दुई प्रमुख निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको टकराव, राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक सर्नु तथा अनिश्चित बन्नु एवं ई–स्पोट्र्सका खेलाडी सहभागी हुनबाट बञ्चित हुने अवस्थाले नेपाली खेलकुद व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।

एसियाली खेलकुदको तयारी अन्तिम चरणमा पुग्दा खेलाडीलाई चाहिएको नियमित प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर र स्पष्ट योजना। तर, पटक–पटकको प्रशासनिक विवादले खेलाडीको ध्यान मैदानबाट बाहिर तान्ने जोखिम बढाएको छ। एसियाली खेलकुदमा नेपालले यसपटक २२ खेलमा १ सय ३७ खेलाडी सहभागी हुने भएका छन्। राखेपले ‘मिसन २०२६’ मार्फत कम्तीमा एक स्वर्ण र पहिलोपटक दोहोरो अंकमा पदक जित्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। यसका लागि विदेशमा प्रशिक्षण, निरन्तर बन्द प्रशिक्षण र खेलाडी छनोटलाई प्राथमिकता दिइएको छ। तर, लक्ष्य जति महत्वकांक्षी छ, नेपाली खेलकुदको व्यवस्थापनमा त्यति नै चुनौती देखिएको छ।

छनोट भएका खेलाडीले पनि खेल्न नपाउने 
एसियाली खेलकुदको पूर्वसन्ध्यामा देखिएको अर्को गम्भीर घटना ई–स्पोट्र्ससँग सम्बन्धित छ। नेपाली ई–स्पोट्र्स टोलीले क्षेत्रीय छनोट प्रतियोगिताबाट एसियाली खेलकुदमा स्थान बनाएको थियो। तर, दुई प्रतिस्पर्धी संघबीचको विवाद र प्रशासनिक असमझदारीका कारण छनोट भएका खेलाडी नै एसियाली खेलकुदबाट बाहिरिने अवस्थामा पुगेका छन्। यो नेपाली खेलकुदका लागि केवल एउटा खेलको समस्या मात्र होइन, खेलाडीले आफ्नो क्षमता र मेहनतका आधारमा हासिल गरेको अवसरलाई प्रशासनिक विवादले कसरी खोस्न सक्छ भन्ने उदाहरण पनि हो।

खेलाडीले अन्तर्राष्ट्रिय छनोटमा सफलता हासिल गरे पनि सम्बन्धित निकायबीचको कानुनी र संस्थागत विवादका कारण राष्ट्रिय टोलीमा स्थान नपाउनु नेपाली खेलकुद व्यवस्थापनको गम्भीर कमजोरीका रूपमा देखिएको छ। खेलाडीका लागि एसियाली खेलकुद केवल एउटा प्रतियोगिता होइन। यो आफ्नो करियर बनाउने, अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने र देशका लागि इतिहास रच्ने अवसर हो। त्यस्तो अवसर प्रशासनिक विवादका कारण गुम्नु उनीहरूको मनोबलमा दीर्घकालीन असर पर्नेछ।

पौडी खेलाडी छनोटको धाँधली अदालतसम्म पुग्यो

पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर धाँधली र अनियमितता भएको भन्दै राष्ट्रिय खेलाडीहरूले आपत्ति जनाउँदै अदालतको ढोका ढकढक्याएका थिए। नेपालका नम्बर एक पौडीबाज इर्भिन   श्रेष्ठ, मेधावी केसीसहितका खेलाडीहरूले नेपाल पौडी संघले पूर्वसूचना र स्थापित नियमविपरीत रातारात छनोटको मापदण्ड बदलेर खेलाडीहरूको मनोबल गिराउने काम गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

सर्वोच्च अदालतले एसियाली खेलकुदका लागि पौडी खेलाडी छनोटविरुद्ध परेको मुद्दामा अन्तरिम आदेश जारी गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल पौडी संघ र नेपाल ओलम्पिक कमिटीलाई समन्वय गरेर छनोट प्रक्रिया तथा सहभागी खेलाडीको संख्याबारे उपयुक्त निर्णय गर्न निर्देशन दिएको थियो।

एयरपोर्टबाटै फर्किए तेक्वान्दो खेलाडी
वाइल्ड कार्डमार्फत २०औं एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गरेका तेक्वान्दो खेलाडी युवराज राना गत साउन १३ राति इन्डोनेसिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। इन्डोनेसिया तेक्वान्दो संघको सहयोगमा विशेष प्रशिक्षण गर्ने र त्यहाँ आयोजना हुने ८औं एसियन तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने योजनासहित उनी विमानस्थल पुगेका थिए।

उनी विमानस्थलमा प्रशिक्षक कविराज खड्गीको प्रतिक्षा गरिरहेका थिए। तर, केही समयपछि प्रशिक्षक खड्गीले घर फर्किन भने। इन्डोनेसियामा प्रशिक्षण र प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले समयमै स्वीकृति नदिएपछि उनी फर्किनु परेको थियो। ‘हामीले राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय टिम तयारीबाट पहिले नै स्वीकृति लिएका थियौं। तर, परिषद्ले नेपाली सेनालाई स्वीकृतिका लागि पत्र पठाउन ढिलाइ भएका कारण हामी पूर्वनिर्धारित समयमा इन्डोनेसिया जान पाएनौं’, प्रशिक्षक खड्गीले भने।null

टेनिसमा ‘स्पेसल कोटा’ विवाद
२०औं एसियाली खेलकुद अघि विवादमा परेको अर्को खेल हो, टेनिस। राष्ट्रिय खेलकुद परिषद्को निर्देशनअनुसार नेपाल टेनिस संघले खेलाडी छनोट गरेको थियो। छनोट प्रतियोगिताबाट पुरुषमा प्रदीप खड्का र निसान श्रेष्ठ तथा महिलामा सिभाली गुरुङ र स्वस्तिका विष्ट चयन भएको जानकारी मुख्य प्रशिक्षक रेनुदेवी कोन्डाले संघलाई गराएकी थिइन्।

छनोट भएका ४ खेलाडीले नै पुरुष तथा महिला सिंगल्स, डबल्स र मिक्स डबल्स खेल्ने योजना संघले बनाएको थियो। छनोट भएका खेलाडीले त्यही अनुरूप तयारी पनि थालेका थिए। तर, टेनिसमा चार खेलाडी मात्रै होइन, पाँचौं खेलाडीको पनि उदय भयो। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताको ‘स्पेसल कोटा’मा अभिषेक बास्तोलाको नाम घुसाइयो। 

अभिषेकले संघले आयोजना गरेको छनोट प्रतियोगिता खेलेनन्। उनी सोझै ‘स्पेसल कोटा’मा एसियाली खेलकुदमा स्थान सुरक्षित गर्न सफल भए। अभिषेकको ‘इन्ट्री’पछि पुरुष सिंगल्स प्रदीप र अभिषेकले खेल्ने र पुरुष डबल्स र मिक्स डबल्स प्रदीप र निसानले खेल्ने भन्दै मुख्य प्रशिक्षक कोन्डाले संघमा प्रतिवेदन बुझाएकी छन्। 

दुई संघको किचलोले उसुमा सर्वाधिक खेलाडी
राष्ट्रिय खेलकुद परिषद्मा उसुको दुईवटा महासंघ आवद्ध छन्। एउटा राष्ट्रिय र अर्को अन्तर्राष्ट्रिय मान्यता भएका। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा एउटा खेलको एउटा मात्रै संघ वा महासंघ हुने स्पष्ट लेखिएको छ। अझ ऐनमा जोसँग अन्तर्राष्ट्रिय मान्यता हुन्छ, त्यही आधिकारिक हुने उल्लेख छ। तर, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई लत्याउँदै राष्ट्रिय खेलकुद परिषद्ले उसुको दुई वटा महासंघ बनाएको छ। वीरबहादुर लामा अध्यक्ष रहेको उसु महासंघलाई नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय महसंघको मान्यता छ। यस्तै जनक बर्तौला नेतृत्वमा रहेको महासंघलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ। यही विवादका कारण उसुका ११ जनाले २०औं एसियाली खेलकुद खेल्दै छन्। 

राष्ट्रिय मान्यता प्राप्त महासंघले छनोट गरेका खेलाडीको संख्यामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त महासंघले पनि थप्ने भएपछि उसुमा खेलाडी बढी भएको हो। राष्ट्रिय खेलकुद परिषद्ले पदकको समभावना रहेका अन्य खेलमा ८ जना खेलाडी सहभागी हुँदा उसुका भने ११ खेलाडीले २०औं एसियाली खेलकुद खेल्न लागेका छन्। 

राष्ट्रिय खेलकुदको ढिलाइले प्रतिभा उत्पादनमा असर
नेपाली खेलकुदको अर्को पुरानो समस्या राष्ट्रिय खेलकुदको नियमितता हुन नसक्नु हो। एसियाली खेलकुदका लागि नयाँ प्रतिभा पहिचान गर्ने महत्त्वपूर्ण आधार मानिने राष्ट्रिय खेलकुद प्रतियोगिता नै समयमै आयोजना हुन नसक्दा खेलाडी उत्पादनको प्रणाली कमजोर बन्न पुगेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालमा प्रतिभा खोज्ने सबैभन्दा ठूलो घरेलु मञ्च हो। यही प्रतियोगिताबाट प्रतिभाशाली खेलाडी पहिचान हुँदै दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकसम्म पुग्ने बाटो खुल्छ। तर, १०औं राष्ट्रिय खेलकुदको मिति अझै अनिश्चित हुनुले खेलाडी विकासको आधारभूत संरचनामाथि प्रश्न उठाएको छ।

एसियाडमा पदक जित्ने लक्ष्य राख्ने तर घरेलु प्रतियोगिताको नियमितता सुनिश्चित गर्न नसक्ने प्रवृत्तिले दीर्घकालीन रूपमा नेपाली खेलकुदलाई कमजोर बनाउँछ। एकैपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गरेर पदक जित्नेभन्दा नियमित घरेलु प्रतियोगिता, प्रतिभा पहिचान, वैज्ञानिक प्रशिक्षण र खेलाडीको करियर व्यवस्थापन आवश्यक हुन्छ। तर, घरेलु प्रतियोगिता पटक पटक अनिश्चित बन्दा खेलाडी निरास बन्न परिरहेको छ। 
‘नेपाली खेलकुद यी विवादबाट अगाडि बढिसक्यो’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले नेपाली खेलकुद यी विवादबाट अगाडि बढिसकेको र अहिले कुनै पनि विवाद नरहेको बताए। ‘हामी यी विवादबाट धेरै अगाडि बढिसकेका छौं। अब पनि यी विषयमा विवाद गरिरहनु उचित छैन’, सदस्यसचिव मेहताले भने, ‘हामी यी सबै विवादलाई चिरेर राष्ट्रिय लक्ष्यको अभियानमा अगाडि बढिसकेका छौं।’ उनले अदालतसम्म पुगेका विषयमा भने अहिले बोल्न नमिल्ने बताए।

स्वर्णसहित दोहोरो अंकको लक्ष्य

राष्ट्रिय खेलकुद परिषद्ले २०औं एसियाली खेलकुदका लागि नयाँ लक्ष्य निर्धारण गरेको छ, स्वर्णसहित दोहोरो अंकमा पदक। अर्थात् कम्तीमा एक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने। यही लक्ष्य बोकेर राष्ट्रिय खेलकुद परिषद्ले विगत तीन वर्षदेखि ‘मिसन २०२६’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जहाँ पदकको बढी आशा भएका कराते, कबड्डी, उसु, तेक्वान्दो, महिला भलिबल, एथलेटिक्स, बक्सिङलगायत ११ खेललाई समावेश गरेर प्रशिक्षण सञ्चालन गर्दै आएको छ। 

‘२०औं एसियाली खेलकुदको तयारीका लागि राष्ट्रिय टिम तयारी विगत तीन वर्षदेखि खटिरहेको छ। २०औं एसियाली खेलकुद सुरु हुन केही साता मात्रै बाँकी भएकाले परिषद् विशेष तयारीमा जुटेको छ। १ सय ३७ जना खेलाडी स्वदेशलगायत विभिन्न राष्ट्रमा विशेष प्रशिक्षणमा छन्। नेपालमा रहेका खेलाडीलाई दुईवटा होटलमा राखेर प्रशिक्षण गराइरहेका छौं’, सदस्यचिव मेहताले भने, ‘यो लक्ष्य राष्ट्रिय खेलकुद परिषद्को मात्रै रहेन। यो राष्ट्रिय लक्ष्य बनिसकेको छ। यो लक्ष्यलाई पूरा गर्न हामी लागिपरेका छौं।’

खेलाडीमाथि विवादको मनोवैज्ञानिक असर

खेलाडीको प्रदर्शन केवल शारीरिक तयारीमा निर्भर हुँदैन। मानसिक स्थिरता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। तर, नेपाली खेलाडीले बारम्बार प्रशासनिक विवाद, प्रतियोगिता हुने–नहुने अन्योल, छनोट प्रक्रियामाथिको प्रश्न र खेल संघबीचको टकराव सामना गर्नुपरेको छ। खेलाडीलाई आफूले खेल्ने प्रतियोगिताभन्दा बाहिरको विषयमा चिन्ता गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैंमा गम्भीर समस्या हो। प्रशिक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने खेलाडीले आफ्नो प्रतियोगिता सुनिश्चित छ कि छैन, संघको विवादले आफ्नो करियरमा असर गर्छ कि गर्दैन, छनोटमा राजनीतिक वा प्रशासनिक हस्तक्षेप हुन्छ कि हुँदैन भन्नेजस्ता प्रश्नसँग जुध्नुपर्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदर्शनमा पर्न सक्छ।

अझ अन्तर्राष्ट्रिय प्रतियोगिताको मुखैमा संस्थागत विवाद चर्किंदा खेलाडीको आत्मविश्वासमा असर पारेको छ। उनीहरूले वर्षौंको मेहनतबाट प्राप्त गरेको अवसर गुमाउने डरले मानसिक दबाब बढ्न सक्छ।

  •     स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने ‘मिसन २०२६’ को महत्वाकांक्षी योजनाका साथ खेलाडीहरू तयारीमा जुटे पनि राखेप र एनओसीको किचलो तथा प्रशासनिक अव्यवस्था नै एसियाडमा नेपालका लागि मुख्य तगारो बनेको छ।
  •     ई–स्पोट्र्सका खेलाडी सहभागिताबाट बञ्चित हुनु, पौडीको विवाद अदालत पुग्नु, तेक्वान्दो खेलाडी विमानस्थलबाटै फर्किनु र टेनिसमा ‘स्पेसल कोटा’ छिराइनुले एसियाडको संघारमा छनोट प्रक्रियाको धाँधली र गम्भीर गैरजिम्मेवारीपन उजागर गरेको छ।
  •     वर्षौंदेखि पसिना बगाएका खेलाडीले मैदानमा पदकका लागि संघर्ष गरिरहँदा प्रशासनिक टकराव, अनियमितता र मनोवैज्ञानिक सहयोगको अभावले उनीहरूको मनोबल र करियरमाथि नै दीर्घकालीन जोखिम निम्त्याएको छ।

सदस्यसचिव मेहता एसियाली खेलकुदमा सहभागी हुने सबै खेलाडीको मनोबल उच्च पारेर एसियाली खेलकुदको तयारी गरिरहेको दाबी गर्छन्। ‘खेलाडीको मनोबल उच्च पारेर राष्ट्रिय खेलकुद परिषद्को लिएको लक्ष्य पूरा गर्ने अभियानमा हामी लागेका छौं। यो अभियानमा सम्बन्धित खेल संघका पदाधिकारीले पनि सहयोग गर्दै आउनुभएको छ। हामी यो तयारीलाई अझ तीव्र रूपमा बढाउने अभियानमा छौं’, उनले भने।

भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्ट भने नेपाली खेलाडीले विशेष र मनोवैज्ञानिक रूपमा पर्याप्त प्रशिक्षण पाउन नसकेको बताउँछन्। ‘हाम्रा खेलाडीले अहिले पनि ट्यालेन्टकै भरमा खेलिरहेका छन्। अहिलेसम्म जे जति पदक वा उपलब्धि हासिल भएको छ, त्यो सबै ट्यालेन्टकै भरमा हो’, मुख्य प्रशिक्षक भट्टले भने, ‘खेलाडीले न गतिलो प्रशिक्षण पाइरहेका छन् न त उचित मनोवैज्ञानिक शिक्षा नै।’

एसियाडअघिको एकताको सन्देश
एसियाली खेलकुद नजिकिँदै गर्दा राखेप र एनओसीबीच समन्वय बढेको छ। जुलाईको सुरुवातमा दुवै निकायका नेतृत्वले एउटै मञ्चमा उपस्थित भएर एसियाली खेलकुदको तयारी अघि बढाउने प्रतिबद्धता जनाएका थिए। यसले विगतको अन्योलपछि नेपाली खेलकुद प्रशासनमा सहकार्यको वातावरण बन्न थालेको संकेत गरेको छ। अब यही एकतालाई व्यवहारमा उतार्नु सबैभन्दा महत्वपूर्ण हुनेछ। खेलाडी छनोटदेखि प्रशिक्षण, विदेश प्रशिक्षण, आर्थिक व्यवस्थापन र प्रतियोगितास्थलसम्मको सम्पूर्ण तयारीमा एउटै स्पष्ट नीति आवश्यक छ।

नेपालले एसियाली खेलकुदमा पदक जित्ने सपना देख्नु गलत होइन। तर, पदकको सपना केवल नाराले पूरा हुँदैन। त्यसका लागि खेलाडीलाई विवादरहित वातावरण, वैज्ञानिक प्रशिक्षण, पर्याप्त बजेट, अन्तर्राष्ट्रिय एक्सपोजर र संस्थागत स्थिरता चाहिन्छ।

विवाद होइन, खेलाडी केन्द्रमा हुनुपर्छ
एसियाली खेलकुद सुरु हुन अब केही सातामात्र बाँकी छन्। यो समय नेपाली खेलकुदका लागि विवाद गर्ने होइन, कमजोरी सुधार्ने समय हो। खेल संघ, राखेप, एनओसी र सम्बन्धित सरकारी निकायबीचको अधिकारको विवादको मूल्य खेलाडीले तिर्नुहुँदैन।

एउटा खेलाडीले पदक जित्न वर्षौं मेहनत गर्छ। उसले प्रशिक्षणमा पसिना बगाउँछ, चोट सहन्छ, परिवारबाट टाढा बस्छ र देशको झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा उत्रिने सपना देख्छ। तर, उसले आफ्नो मेहनतको प्रतिफल प्रशासनिक विवादका कारण गुमाउनुपर्ने अवस्था आउनु नेपाली खेलकुदको सबैभन्दा ठूलो विडम्बना हो। एसियाली खेलकुदमा नेपालले कति पदक जित्छ, त्यो प्रतियोगिता सकिएपछि मात्र थाहा हुनेछ। तर, नेपालले एसियाडअघि एउटा महत्त्वपूर्ण परीक्षा भने अवश्य दिनुपर्नेछ– के नेपाली खेलकुदका संस्थाहरू खेलाडीभन्दा माथि छन्, कि खेलाडी नै नेपाली खेलकुदको केन्द्र हुन ?  

अबको प्राथमिकता स्पष्ट हुनुपर्छ। विवाद समाधान, संस्थागत समन्वय, खेलाडीको अधिकार संरक्षण र तयारीमा पूर्ण ध्यान। किनभने एसियाली खेलकुदमा नेपालको वास्तविक प्रतिनिधित्व संघ वा संस्थाले होइन, मैदानमा पसिना बगाउने खेलाडीले गर्ने छन्। त्यसैले एसियाडको पूर्वसन्ध्यामा नेपाली खेलकुदलाई चाहिएको सबैभन्दा ठूलो कुरा नयाँ विवाद होइन– एकता, स्थिरता र खेलाडीप्रतिको जवाफदेहिता हो।

भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्ट राष्ट्रिय खेलकुद परिषद्ले स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यका साथ सुरु गरेको ‘मिसन २०२६’ पनि यसअघिका तयारीजस्तै फरक नरहेको बताउँछन्। ‘पहिले पनि हामीले एक डेढ वर्ष विशेष प्रशिक्षण गरेकै थियौं। यसपटक पनि प्रशिक्षण सञ्चालन भइरहेकै छ’, मुख्य प्रशिक्षक भट्ट भन्छन्, ‘यसपटक पनि पहिलेभन्दा केही फरक छैन। एसियाली खेलकुदमा सहभागिता र निरन्तरताका लागि मात्रै काम भइरहेको छ। मिसन २०२६ अनुसार परिणामुखी नतिजाका लागि प्रशिक्षण भइरहेका छैन।’ उनले विशेष प्रशिक्षणमा रहेका खेलाडीले सामान्य सेवा सुविधा पनि पाउन नसकेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.