एभरेष्ट भलिबल लिग असोज १५ देखि
काठमाडौं : एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले तेस्रो संस्करणको औपचारिक मिति घोषणा गर्दै प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो। यो मितिलाई नेपाल भलिबल संघलेसमेत आधिकारिक रुपमा स्वीकृति प्रदान गरिसकेको आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ।
नेपाल भलिबल संघबाट स्वीकृति पाएसँगै लिगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक रूपमा अघि बढाएको जनाइएको छ। अघिल्ला दुई संस्करणको सफलता र बढ्दो लोकप्रियतापछि तेस्रो संस्करणलाई अझ भव्य, प्रतिस्पर्धात्मक र व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। लिगले महिला भलिबल खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको मञ्च प्रदान गर्दै नेपालमा महिला भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
तेस्रो संस्करणमा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज, पोखरा निन्जा र सुदूरपश्चिम रोयल वारियरले प्रतिस्पर्धा गर्ने छन्। आयोजक इन्फिनिटी ड्रिम्सले गत बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस !