स्वशासन सन्तप्न सुशासन
अरूलाई गाली र उपदेश पस्कनुभन्दा आफू जिम्मेवार हुँदै आफैंबाट सन्तुष्टि र अरूबाट सम्मान पाउने कर्म गर्न सिकौं।
हरेक आन्दोलन र परिवर्तनको विशेष मुद्दा भनेकै सुशासन हुने गरेको छ। पछिल्लो नवयुवा क्रान्तिमा यहाँलगायत अन्य देशमा समेत यो विषय जोडतोडसाथ उठेको थियो। सुशासन आजको विश्व राजनीतिमा सर्वाधिक चर्चित मध्येको एक शब्दावलीसमेत हो। शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै सुशासन भएको अभिव्यक्ति दिन्छन्।
निर्वाचनको समय प्रत्येक प्रत्यासीबाट देशमा सुशासन कायम गर्दै राष्ट्रनिर्माणमा सघाउने अभिलाषालाई एउटै लक्ष्यका रूपमा प्रस्ट्याइन्छ। राष्ट्र निर्माणमा निरन्तर कलम चलाउने लेखक जे. डोविन्सलगायत अन्य शोधमाथि अध्ययन गर्दा यस्तो निष्कर्ष आउँछ कि सुशासन सफल राष्ट्रनिर्माणका मुख्य चार सूचांकमध्ये पहिलो हो। कुनै बेला विश्वकै दोस्रो विद्वान् भनेर सूचीकृत गरिएका अफगानस्थानका पूर्वराष्ट्रपति असरफ घानीको पुस्तक ‘फिक्सिङ फेल्ड स्टेटस्’को समेत तर्क समान छ।
नागरिकको तहमा समेत परिवर्तनका अनेकन आशामध्ये सुशासन मुख्य अपेक्षा हो। सुशासनको प्रत्याभूति हुन नसकेर नै आम नागरिकलाई विकास र समृद्घिको अनुभूत भएको छैन। बिदेसिने अधिकांशले देशमा सुशासन नभएको अनि व्याप्त भ्रष्टाचार, कुशासन, अराजकता र दण्डहिनताले विरक्त भएको भन्छन्। संयुक्त राष्ट्रसंघअन्तर्गतको एक एजेन्सी यूएनडीपीले सुशासनको अवधारणालाई ८ विशेषतामा परिभाषित र परीक्षण गर्दछ। अधिक देशले त्यसैको सेरोफेरोमा यसको मूल्यांकन गर्ने गरेका छन्।
सहभागिता, कानुनी शासन, पारदर्शिता, जवाफदेहिता, स्वीकार्यता, समानता, प्रभावकारिता, उत्तरदायित्व जस्ता पक्ष यसका प्रमुख आधार हुन्। यद्यपि देशको राजनीति र सरकारहरू यसलाई व्यवहारमा स्पस्ट उतार्न र नागरिकलाई देशमा सुशासन कायम छ भन्ने विश्वासमा लिन अनवरत चुकेका छन्। हामीकहाँ त स्वशासन (सबैले आफूलाई मन परेको र जायज लागेको हिसाबले मात्र काम गर्ने) अभ्यास मौलाउँदै छ।
खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा सामरिक सुशासन कायमचाहिँ कमजोर भयो। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकांश देश नेपालभन्दा साना छन्। क्षेत्रफलको आधारमा हामी संसारको ९४औं ठूलो राष्ट्र हौं तर विद्यालयमा हामी धेरै साना छौं हाम्रो मुटु सानो छ भन्ने जस्ता कविता पढाइन्छ र गलत मानसिकता निर्माण गरिन्छ। अनि नागरिकचाहिँ नेता गलत भएको भन्दै नेतृत्वको सत्तोसरापमा व्यस्त छौं। प्राचीन राजनीतिशास्त्री अरस्तुकृत पुस्तक ‘पोलिटिक्स’ले भन्छ– खराब नागरिकले खराब नेता जन्माउँछन् र उसैले देश सखाप पार्छ।
सुशासनको प्रत्याभूति सबैको आशा हो, सरकारको प्रधान जिम्मेवारी पनि हो। नागरिकबाट समेत हरेक तह/तप्कामा आत्म–अनुशासनको बोधसँगै त्यसअनुसार काम नभएसम्म सुशासनले सार्थकर्ता पाउँदैन।
त्यसैले अब सुधार नागरिकको तहमा पनि खोजिनुपर्छ। सरकारसँग सुशासनको अपेक्षा गर्ने कुरा नाजायज त होइन तर सबै नागरिकमा आत्मानुशासन भएन भने सुशासन कायम हुँदैन। सुशासनको प्रधान आधार नै नागरिकको आत्मानुशासन हो, जुन आधारमा सघन सबलीकरणको आवश्यकता छ।
विदेशमा अधिकांश पूर्वविशिष्ठ कार्यकालपछि देशको ढुकुटी दोहनको सट्टा आफ्नै आर्थिक सामाजिक जीवनमा फर्कन्छन्। हामीकहाँ एकचोटी पदमा पुगेपछि जीवनर्पयन्त राज्यको स्रोतबाट जीवन निर्वाहको अभ्यास पहिलेदेखि नै स्थापित छ। यहाँ नेतृत्व कम परिणाममुखी भएको सबैलाई लाग्छ तर नागरिक पनि निःसन्देह बन्दै छौं। खाली अरूको कटाक्ष गरेर बस्छौं तर आफैं अलिकति सकारात्मक र रचनात्मक योगदान दिन विल्कुल सोच्दैनौं। विदेश भाग्नुमात्र समस्याको समाधान होइन। जहाँ संस्कार डामाडोल छ, त्यहाँ सुशासन गोलमाल हुन्छ। हाम्रो अवस्था यही हो। हामी नागरिक अरूलाई सल्लाह र सुझाव दिनेमा उच्च कौशलता राख्छौं तर आफ्नो ठाउँ सपार्न खोज्दैनौं।
देशको बर्खिलाप गर्नेमा रमाउँछौं। घरमात्र ठूला बनाउँछौं, बाटो बनाउँदैनौं। राम्रो शिक्षा चाहान्छौं तर शिक्षण कर्मलाई मन पराउँदैनौं, मर्यादित र सम्मानित हिसाबले हेर्दैनौं। सरकारी सेवामा छौं, नागरिकलाई विश्वसनीय सेवा दिन सक्दैनौं, आफैंले पनि विश्वास गर्दैनौं। सरकारी कर्मचारीले पनि सन्ततिको शिक्षामा सरकारी विद्यालय अनि उपचारमा सरकारी अस्पतालमाथि विश्वास राख्दैनौं। त्यो अवस्था बनाउन सकेका छैनौं। विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू देशको पुनर्निर्माणको खाका पस्कँदै हिँड्छौं तर आफैं रहेको विश्वविद्यालयमा सामान्य सुधार गर्नसमेत रुचि देखाउँदैनौं। स्वच्छ र सुन्दर समाज चाहन्छौं, फोहोरचाहिँ सडकमा फाल्छौं। सार्वजनिक पदमा हुन्छौं तर सेवाग्राहीलाई सहज, सुलभ सेवा प्रवाहा गर्दैनौं।
यतिले पुग्दैन, सरकारी सेवालाई जिम्मेवारी कम अनि कमाउने अवसरको रूपमा बढी प्रयोग गर्छौं। श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरिकन खानेलाई भाग्यमानी सम्झन्छौं। आर्थिक उपार्जनमा रोजगारी निर्माणसमेत गर्ने गरी साना लागनीका नै भए पनि व्यावसायिक अभ्यास गर्ने सोच्दैनौं। सहयोग र दाताका भरमा देश विकासको आस गर्छौं। पराधीन संस्कार र विरोधी मानसिकतामात्र राख्छौं। चिकित्सा ऐन बन्दा चिकित्सकबाट नै अन्धाधुन्ध आक्रमक अवरोध हुन्छ। सार्वजनिक यातायातलाई व्यवस्थित गर्न खोज्दा व्यपारी/व्यवसायीको प्रतिरोध आउँछ। राज्यको कर प्रणालीलाई पारदर्शी र योगदानकर्तालाई जिम्मेवार बनाउन स्थायी लेखा नम्बर लागू गर्न, मजदुर तथा श्रमिक हितका लागि सामाजिक सुरक्षाकोषमा समाहित हुन अनि बैंकमार्फत तलब भुक्तान गर्नसमेत अनिच्छा देखाइन्छ। किनभने त्यसो गर्दा पारदर्शी हुनुपर्ने बाध्यता हुन्छ।
प्रशासन सुदृढीकरणमार्फत चुस्त, किफायती अनि नागरिक सेवाप्रवाह उन्मुख बनाउन खोज्दा कर्मचारीबाट सहयोग रहँदैन। ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे/भोलि भन्ने र अधिकांश समय चिया पसलमा बिताउनेले पनि आफूलाई राष्ट्रसेवक भन्दै सरकारले चाहिँ केही नगरेको भाषणबाजी गर्दै हिँड्छौं। शिक्षालाई उत्तरदायी स्तरीय तथा आधुनिक बनाउने योजनामाथि विद्यालय सञ्चालक अनि शिक्षकहरूको जुलुस, आन्दोलन तथा धर्ना हुन्छ। बजार अनुगमन भए स्वयं बिक्रेताहरू आन्दोलनमा उठ्छन्। न्यायालय सुधारको प्रस्तावमा वकिल अनि निर्माणसम्बन्धी काममा केही सुधार गर्न खोज्दा ठेकेदारहरूको विकराल असहयोगसाथै विरोधमा विशाल शक्ति प्रदर्शनसमेत हुन्छ। झन्डै आठ खर्ब रुपैयाँ करछली भएका तथ्यांकहरू बाहिरिँदैछन्। कर प्रणालीका सुधारमा व्यापारी/व्यवसायीहरू अनि ढुवानीलाई व्यवस्थित गर्न खोज्दा ढुवानीकर्ताबाट नै अबरोध हुन्छ। हामी कोही नियम मान्न तयार छैनौं, तर व्यवस्थित र असल समाज चाहान्छौं।
प्रसिद्घ पूर्वीय शास्त्रीय दार्शनिक कन्फुसियस भन्थे– अरूलाई पढ्ने ज्ञानीमात्र हुन्छन् तर आफूलाई पढ्नेहरूचाहिँ अन्तरयामी पनि हुन्छन्। हामी खाली अरूका बारेमा बढी जानकार रहन्छौं। सबै सुध्रिएको हेर्न चाहन्छौं तर पेसाकर्मी, व्यवसायी, कर्मचारी, शिक्षक, वकिल, सामाजिक अभियान्ता, विकास सहजकर्ता, कूटनीतिज्ञ, पत्रकारलगायत सरोकारवाला आफूसमेत सुध्रनुपर्छ भन्ने मान्न र त्यसको पहल गर्न तयार छैनौं। अहिले हरेक क्षेत्र व्यपारमा परिणत हुँदैछ, सबै सरोकारवाला आफ्नो क्षेत्रबाट अकुत बान्छित तथा अबान्छित नाफा वा आम्दानी गर्ने ‘रेन्ट सिकिङ एटिच्युड’बाट ग्रसित छौं। जसरी पनि आफूलाई फाइदा हुनेमात्र कुरालाई प्राथमिकतामा राख्छौं। जिम्मेवारी बोध र वहनभन्दा छलछाम रुचाउँछौं। यस्तो सौखिन र विलासी औपचारिकताले नै देशको समग्र सुशासनको स्थिति खस्किएको हो।
सबैले आफ्नो–आफ्नो ठाउँबाट राम्रो गरौं। अरूलाई गाली र उपदेश पस्कनुभन्दा आफू जिम्मेवार हुँदै आफैंबाट सन्तुष्टि र अरूबाट सम्मान पाउने हिसाबले कठोर अनुशासनमा बसेर कर्म गर्न सिकौं। मनन गरौं, सुशासनको प्रत्याभूति सबैको आशा हो, सरकारको प्रधान जिम्मेवारी पनि हो। नागरिकबाट समेत हरेक तह/तप्कामा आत्म–अनुशासनको बोधसँगै त्यसअनुसार काम नभएसम्म सुशासनले सार्थकर्ता पाउँदैन। हामी सबैमा आत्मानुशासन भए स्वतः देशमा सुशासन कायम हुन्छ।
प्रतिक्रिया दिनुहोस !