सैन्य कूटनीतिको उचाइ
भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ साउन ३१ गते ४ दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ भने उच्चस्तरीय भेटवार्ता तथा सैनिक सहकार्यका विविध आयाममा छलफल हुनेछन्। दुई देशबीचको ऐतिहासिक सैनिक सम्बन्ध, आपसी विश्वास तथा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले हुन लागेको यस भ्रमणलाई नेपाल–भारत सैन्य कूटनीतिको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक, आर्थिक तथा सांस्कृतिक निकटतामा मात्र सीमित छैन।
दशकौंदेखि विकसित सैनिक विश्वास, साझा सुरक्षा चासो तथा ऐतिहासिक परम्पराले दुवै देशका सेनाबिचको सम्बन्धलाई विशिष्ट बनाएको छ। यही कारण भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणलाई पारस्परिक सहकार्य र सैन्य कूटनीतिक दृष्टिले विशेष मानिएको छ। भारतीय स्थल सेनाध्यक्षमा नियुक्त भएपछि पहिलोपटक नेपाल भ्रमणमा आउन लाग्नुभएका जनरल धीरज सेठलाई नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई ‘मानार्थ महारथी’को दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा छ। दुवै देशका सेना प्रमुखले नियुक्तिपछि एकअर्काको देशबाट मानार्थ महारथीको सम्मान ग्रहण गर्ने यो विशिष्ट परम्परा विश्वमै सैनिक सम्बन्धको उत्कृष्ट उदाहरण मानिन्छ। यसले दुई सेनाबीचको विश्वास, सम्मान र सौहार्द्रपूर्ण सहकार्यलाई थप प्रगाढ बनाउँदै आएको छ।
द्विपक्षीय सैनिक सहकार्य नेपाल–भारत सम्बन्धको अविच्छिन्न आयाम हो। दुई सेनाबीच सञ्चालन हुने संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ द्विपक्षीय सैनिक सहकार्यको सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित भएको छ। २०६८ सालदेखि सुरु भएको यस अभ्यासमा हालसम्म नेपाली सेनाका करिब ४ हजार ५ सय र भारतीय सेनाका करिब ५ हजार सकलदर्जा सहभागी भइसकेका छन्। नेपाल र भारतमा पालैपालो आयोजना हुने यस अभ्यासमा जंगल युद्धकला, संयुक्त अपरेसन, मानवीय सहायता, विपद् उद्धार तथा संयुक्त कमान्ड सञ्चालन जस्ता विषय समेटिन्छन्। यसले दुवै सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र अन्तर–सञ्चालन योग्यतालाई मजबुत बनाएको छ।
यसैगरी, २०८३ जेठ १४ देखि १७ गतेसम्म भारतीय सेनाको आयोजनामा सम्पन्न बहुराष्ट्रिय अभ्यास ‘प्रगति’मा नेपाली सेनाले पहिलोपटक सहभागिता जनाउँदै सैनिक सहकार्यमा अर्को महत्वपूर्ण आयाम थपेको छ। ११ मित्रराष्ट्रको सहभागिता रहेको उक्त अभ्यासले संयुक्त कार्यसम्पादन क्षमता तथा क्षेत्रीय सैन्य सहकार्यलाई थप सुदृढ बनाएको छ। नेपाल–भारत सैनिक सम्बन्धको अर्को महत्वपूर्ण पक्ष सैनिक शिक्षा तथा तालिमको आदानप्रदान हो। हालसम्म नेपाली सेनाका करिब ५ हजार सैनिकले भारतका विभिन्न सैनिक शिक्षण संस्थाबाट तालिम पूरा गरिसकेका छन् भने हाल करिब २०० सैनिक भारतमा तालिमरत छन्। त्यसैगरी, भारतका करिब १०० सैनिकले नेपाली सेनाका विभिन्न तालिम शिक्षालयबाट तालिम सम्पन्न गरिसकेका छन्। दुवै देशका सैनिक शिक्षण संस्थाबिचको यस्तो आदानप्रदानले व्यावसायिक सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै आएको छ।
नेपाल र भारतबीचको सैनिक सहकार्य अभ्यास वा तालिममा मात्र सीमित छैन। भूकम्प, बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा दुवै देशका सेनाले उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहकार्य गर्दै नागरिकको जीवन रक्षा गरेका अनेकौं उदाहरण छन्।
विपद्का समयमा देखिने यो समन्वय सैनिक साझेदारीसँगै मानवीय उत्तरदायित्वको उत्कृष्ट नमुना बनेको छ। २०७२ सालको विनाशकारी भूकम्पपश्चात् भारत र भारतीय सेनाले खोज, उद्धार तथा राहत वितरणमा पु¥याएको तदारुकतापूर्ण सहयोग अतुलनीय थियो। त्यस्तै, कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा खोप सहयोग उपलब्ध गराउनमा पनि भारतीय सेना अग्रस्थानमा थियो। दुई देशका सेनाबीच रहेको साझा बुझाइ र उच्च विश्वासकै कारण यी सहकार्य सार्थक बनेका हुन्। राष्ट्रिय सेवा दलमार्फत सञ्चालन हुने युवा आदानप्रदान कार्यक्रमले पनि दुवै देशका युवाबीच आपसी समझदारी र मित्रता अभिवृद्धि गर्न ठुलो योगदान पुर्याएको छ। उत्कृष्ट क्याडेट छात्रछात्रा छनोट गरी नेपालमा २०५६ सालदेखि यो कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
कार्यक्रमको सुरुआत भने २०२६ सालमा भारतमा आयोजित युवा आदानप्रदान कार्यक्रममा नेपालको सहभागिताबाट भएको थियो। यसका अतिरिक्त सेनापतिबीच नियमित उच्चस्तरीय भ्रमण, भेटवार्ता, ‘चीफ्स कन्क्लेभ’ एवं साझा सरोकारका विषयमा द्विपक्षीय छलफल हुँदै आएका छन्। दुई देशका पूर्वसेनापति तथा मानार्थ महारथीहरू सहभागी हुने ‘चीफ्स कन्क्लेभ’को दशौं संस्करण यस वर्ष भारतमा सम्पन्न भयो भने गत वर्ष नेपाली सेनाको सेना दिवसका अवसरमा नेपालमै आयोजना गरिएको थियो। कन्क्लेभमा द्विपक्षीय हित, आपसी सम्बन्ध तथा बदलिँदो सुरक्षा परिवेशबारे गहन विचार–विमर्श हुने गर्छ। जसले आपसी विश्वास र समन्वय अभिवृद्धिमा ठोस सहयोग पुर्याएको छ। यस्ता उच्चस्तरीय भेटघाट र सम्वादले बेलाबखत दुई देशबीच देखिने असहज परिस्थितिलाई समेत कूटनीतिक माध्यम र ‘सफ्ट पावर’को प्रयोग गरी समाधान गर्न मद्दत पुर्याएका दृष्टान्त छन्।
त्यस्तै, सगरमाथा र कञ्चनजंघा हिमालको संयुक्त पर्वतारोहण तथा विभिन्न खेलकुद प्रतियोगिता जस्ता गतिविधिले पनि सैनिक सम्बन्धलाई निरन्तर नवीकरण र सुदृढ बनाउँदै लगेका छन्। यस्ता कार्यक्रमले व्यावसायिक उत्कृष्टता, आपसी विश्वास र भ्रातृत्वलाई अझ सशक्त बनाएका छन्। नेपाली सेना र भारतीय सेनाबीच हुने यस्ता सम्पूर्ण सहकार्य दुवै देशका सरकारबीच स्थापित द्विपक्षीय संयन्त्रहरूमार्फत नै सञ्चालन हुने गरेका छन्। यसले सैन्य सेतुमार्फत दुई देशबीचको समग्र कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मद्दत गरेको छ। मानार्थ महारथीको ऐतिहासिक परम्परादेखि संयुक्त सैन्य अभ्यास, सैनिक शिक्षा, विपद् व्यवस्थापन, रक्षा सहयोग र सैन्य कूटनीतिको विस्तारसम्म नेपाल–भारत सैनिक सम्बन्ध अत्यन्त गहिरो छ।
भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको यो नेपाल भ्रमणले यस ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै भविष्यमा द्विपक्षीय सैनिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।विद्यावारिधि शोधकर्ता थापा राष्ट्रिय सुरक्षाको क्षेत्रमा दख्खल राख्छन्।
प्रतिक्रिया दिनुहोस !