फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सम्पन्न, बिरामीलाई सम्पूर्ण उपचार निःशुल्क
काठमाडौं : फ्रन्टलाइन हस्पिटलले अत्याधुनिक मुटु उपचार सेवातर्फ ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो पहिलो ओपन हर्ट सर्जरी-मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ। यस शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्टअर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो।
यो ऐतिहासिक शल्यक्रिया झापा निवासी २२ वर्षीय ब्रम्हदेव ज्वाला सिंहमा सफलतापूर्वक सम्पन्न गरिएको हो। विशेष रूपमा, बिरामीको आर्थिक अवस्था कमजोर रहेको मूल्यांकनपछि फ्रन्टलाइन हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयु सेवा, प्रयोगशाला परीक्षण तथा सम्पूर्ण उपचार सेवा १०० प्रतिशत निःशुल्क उपलब्ध गराएको छ।
फ्रन्टलाइन हस्पिटलको विश्वास छ कि आर्थिक अभावका कारण कुनै पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुनु हुँदैन। यही सोचलाई व्यवहारमा उतार्दै अस्पतालले विपन्न तथा उपचार खर्च वहन गर्न नसक्ने बिरामीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
उक्त शल्यक्रिया वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराई एमडी, एमएस, आईएमसीएस, पिएचडी (इटाली) मिनिमली इन्भेसिभ कार्डियाक सर्जनको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो। वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराईका अनुसार "मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी आधुनिक कार्डियाक सर्जरीको प्रभावकारी प्रविधि हो, जसले बिरामीलाई कम पीडा, कम रक्तस्राव, न्यून संक्रमण जोखिम तथा छिटो स्वास्थ्य लाभ प्राप्त गर्न सहयोग पुर्याउँछ। फ्रन्टलाइन हस्पिटलमा यस्तो अत्याधुनिक सेवा सफलतापूर्वक सुरु हुनु ।बिरामीहरूका लागि महत्वपूर्ण उपलब्धि हो। अब धेरै बिरामीहरूले उच्चस्तरीय कार्डियाक उपचार फ्रन्टलाइन अस्पतालमै प्राप्त गर्न सक्ने विश्वास लिएको छु।"
फ्रन्टलाइन हस्पिटलका अध्यक्ष श्री नवराज पाण्डेले यस उपलब्धिले अस्पतालको सामाजिक उत्तरदायित्व र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए। उनले भने, "हामी केवल उपचार गर्ने संस्था मात्र होइन, समाजप्रति उत्तरदायी स्वास्थ्य संस्था पनि हौं। आर्थिक अभावका कारण कसैले पनि जीवनरक्षक उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने हाम्रो विश्वास हो। यसै उद्देश्यअनुसार योग्य तथा विपन्न बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छौं। आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति र मानवीय सेवामार्फत गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।"
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अशोक वर्धनका अनुसार "यो उपलब्धि केवल एउटा सफल शल्यक्रिया मात्र नभई फ्रन्टलाइन हस्पिटलको चिकित्सा क्षमता, आधुनिक पूर्वाधार, दक्ष विशेषज्ञ टोली तथा बिरामीप्रतिको उत्तरदायित्वको प्रतीक हो। विश्वस्तरीय स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउँदै बिरामीलाई विदेश जानुपर्ने बाध्यता कम गर्नु हाम्रो दीर्घकालीन लक्ष्य हो।
उनले आगामी दिनमा अझ धेरै जटिल मुटु तथा अन्य विशिष्टीकृत शल्यक्रियाहरू सफलतापूर्वक सञ्चालन गर्दै जाने जानकारी गराए।
यस ऐतिहासिक उपलब्धिलाई सफल बनाउन योगदान पुर्याउनुहुने सम्पूर्ण कार्डियाक सर्जरी टोली प्रा. डा. अनिल भट्टराई, डा. प्रभात खकुराल, डा. समिर कुमार यादव, लक्ष्मी श्रेष्ठ भट्टराई साथै एनेस्थेसियामा डा. विभुस श्रेष्ठ र टोली, अपरेशन थिएटर नर्सिङ टोली, आईसीयु टोली, चिकित्सक, नर्स तथा सम्पूर्ण कर्मचारीहरू प्रति फ्रन्टलाइन हस्पिटल हार्दिक आभार तथा बधाई व्यक्त गर्दछ।
फ्रन्टलाइन हस्पिटल आगामी दिनहरूमा पनि अत्याधुनिक प्रविधि, दक्ष विशेषज्ञ चिकित्सक, सुरक्षित उपचार प्रणाली तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गराउँछ।
प्रतिक्रिया दिनुहोस !