‘मधेस पर्यटन सर्किट’को अवधारणा अघि सार्न माग

‘मधेस पर्यटन सर्किट’को अवधारणा अघि सार्न माग
सुन्नुहोस्

ढल्केवर(धनुषा) : नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशले प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोड्ने गरी ‘मधेस पर्यटन सर्किट’को अवधारणा अघि सार्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै मधेसको पर्यटन विकासलाई राष्ट्रिय पर्यटन नीति तथा योजनामा प्राथमिकताका साथ समेट्न आग्रह गरेको हो। आइतबार महासंघको आयोजनामा धनुषाको लालगढमा भएको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशको पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा पर्यटन विकासका लागि संघीय सरकारले लिनुपर्ने नीति र योजनाबारे छलफल गरिएको थियो।

महासंघका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पर्याप्त प्रचारप्रसार, पूर्वाधार विकास र प्रभावकारी पर्यटन नीतिको अभावमा मधेसले आफ्नो पर्यटन सम्भावनाबाट अपेक्षित लाभ लिन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो।

महासंघले मधेसका आठवटै जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई जोडेर एकीकृत पर्यटन प्रवर्द्धनको नीति बनाउनुपर्नेमा जोड दिएको छ। त्यसका लागि ‘मधेस पर्यटन सर्किट’लाई राष्ट्रिय पर्यटन नीति तथा कार्यक्रममा समावेश गरी नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने माग अघि सारेको अध्यक्ष गौतमले बताए।

उनले मधेस पर्यटन बोर्ड गठन, पर्यटकमैत्री नीतिनियम निर्माण, पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण तथा आवश्यक पर्यटन पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। त्यसैगरी होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता प्रदान गर्न, पर्यटन क्षेत्रमा आवश्यक जनशक्तिका लागि तालिमको व्यवस्था गर्न, पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि भिडियो सामग्री निर्माण गर्न तथा पर्यटन व्यवसायको तथ्याङ्क व्यवस्थित गर्नुपर्ने माग मन्त्री पौडेलसमक्ष उठाइएको थियो।

भारतबाट आउने पर्यटकलाई लक्षित गर्दै सीमा नाकामा आवश्यक सहजीकरण तथा क्रस–बोर्डर टुरिजम प्रवर्द्धन गर्नुपर्नेमा समेत आफूहरूको जोड रहेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका महासचिव नारायण घिमिरेले बताए। निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पर्यटन महोत्सव आयोजना गर्ने वातावरण बनाउनसमेत सरकारलाई आग्रह गरिएको उनको भनाइ छ।महासंघले मधेसका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेका जानकी मन्दिर, गढीमाई मन्दिर, छिन्नमस्ता भगवती, जलेश्वरनाथ, धनुषाधाम, सिम्रौनगढ, सलहेस फूलबारी, पर्सा राष्ट्रिय निकुञ्ज, ठोरी क्षेत्र, भरत ताल तथा टुटेश्वरनाथ महादेव मन्दिर लगायतका स्थलको योजनाबद्ध विकास र प्रवर्द्धन गर्नुपर्ने जनाएको छ।

पर्यटकीय गन्तव्यसम्म सहज पहुँचका लागि सडक तथा अन्य पूर्वाधारको विकास, आवश्यक जनशक्ति व्यवस्थापन र पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलाई पनि महासंघले प्राथमिकताका विषयका रूपमा अघि सारेको छ। महासंघका अध्यक्ष गौतमले होटल तथा पर्यटन व्यवसायी सरकारसँग माग राख्ने मात्र नभई पर्यटन विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए। मधेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र र सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

महासंघले ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानलाई थप प्रभावकारी बनाउँदै मधेसको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। यता, मन्त्री पौडेलले मधेसको पर्यटन विकासका लागि महासंघले अघि सारेका प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहकार्य र समन्वयमा जोड दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.