खेल प्रशासनको कुस्ती
खेलकुदको नारामा अनुशासन कहिल्यै छुट्दैन। अनुशासन भनेको थिति र मर्यादाको पालना हो। नेपालको खेलकुद क्षेत्रमा भने बेथितिमात्रै व्याप्त देखिन्छ। हाम्रा खेलाडी प्रतिभावान् छन्, तर प्रशासन र व्यवस्थापनको पाटो लथालिंग र भताभुंगमात्र छैन, चरम राजनीतीकरण र व्यक्तिगत टकरावको कुस्तीले खेल क्षेत्र थिलोथिलो बनेको छ।
पदाधिकारीका स्वार्थले खेलाडीहरू शोषित र पीडित छन्। न्याय माग्न खेलाडीले अदालतकै दैलो ढकढक्याउन पुग्नुपर्ने अवस्थाले हाम्रो खेल क्षेत्रको दुर्लभ दुर्दशालाई उजागर गरेको छ, जुन सायदै अन्त कतै होला। ‘खेलकुद विकास ऐन, २०७७’ ले ‘एक खेल, एक संघ’को परिकल्पना गरेको छ। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने आफैं दुईवटा उसु महासंघ खडा गरिरहेको छ। कानुनी मर्मअनुसार अन्तर्राष्ट्रिय महासंघको मान्यतालाई देशले स्वीकार्नुपर्ने हो। तर, यहाँ जुँगाको लडाइँका कारण समानान्तर संघहरू जन्माइएका छन्। शान्ति र एकताको प्रतीक मानिने खेलकुदको प्रशासन आफैं भने युद्धको मैदानजस्तो बन्न पुगेको छ।
राखेपले एसियाली खेलकुद (एसियाड) मा स्वर्णसहित दोहोरो अंकको पदक जित्ने लक्ष्य राखेको छ। यसका लागि खेलाडीले निकै मेहनत गरेका छन्, पसिना बगाएका छन्। असोज ३ देखि १८ गतेसम्म जापानमा हुने एसियाडका लागि २२ खेलका १ सय ३७ खेलाडी तम्तयार छन्। तर, प्रशासनिक नेतृत्व भने खेलाडीको मनोबल उच्च पार्नुको सट्टा उनीहरूलाई कमजोर बनाउने खेलमा लागिरहेको छ। पौडीका अब्बल खेलाडी इर्भिन श्रेष्ठ र मेधावी केसी धाँधलीपूर्ण छनोट भएको भन्दै सर्वोच्च अदालत पुग्न बाध्य भए। तेक्वान्दोका युवराज राना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाटै फर्काइए। टेनिसमा राखेपका सदस्यसचिव रामचरित्र मेहताले आफ्नो भाग खोजेर मान्छे घुसाएका छन्। यस्तोमा खेलाडी आफ्नो प्रतिभा निखार्न लागून् कि प्रशासनिक अन्यायविरुद्ध लडून् ?
खेलकुदको पहिलो सर्त नै स्वच्छ प्रतिस्पर्धा हो। तर, हाम्रो खेल प्रशासन भने खेलाडी छनोटमै जालझेल रच्छ। नागरिकहरू राजनीति पनि स्वच्छ र प्रतिस्पर्धात्मक होस् भन्ने चाहन्छन्, तर हाम्रोमा त खेलकुद क्षेत्र नै राजनीतिका नाममा तिकडमबाजीको मैदान बनेको छ। प्रशासकहरू खेलाडीको भन्दा आफ्नो निजी हित हेरिरहेका छन्, जहाँबाट खेलकुदमा बेथितिको सुरुआत हुन्छ र फैलिन्छ। अमेरिकामा खेलकुदको छुट्टै मन्त्रालय छैन र त त्यहाँ खेलाडी छनोटमा विवाद र अस्वच्छता भएको खबर सुनिन्न।
बेलायतमा पनि खेलाडी छनोटमा पूर्ण निष्पक्षता राखिन्छ। दक्षिण कोरिया, जापान र चीनजस्ता एसियाली ‘पावरहाउस’हरूले खेलकुदलाई राष्ट्रिय स्वाभिमान र वैज्ञानिक व्यवस्थापनको शिखरमा पु¥याएका छन्। नेपालमा भने खेलाडीका लागि न पर्याप्त पोषणको व्यवस्था छ, न त अन्य सुविधा नै। खेलाडीहरू नक्कली र गुणस्तरहीन उपकरणका भरमा प्रशिक्षण लिन बाध्य छन्। अब सरकारले नै हस्तक्षेप गरी खेलकुद क्षेत्रको बेथिति अन्त्य गर्दै प्रणाली बसाल्न जरुरी छ। खेलाडीहरू भकाभक विदेश पलायन हुनुमा पनि यिनै बेथिति प्रमुख कारक हुन्।
प्रतिक्रिया दिनुहोस !