नाग, प्रकृति र संस्कृति
आज भदौ १, नागपञ्चमी अर्थात् घरघरमा नागको विशेष पूजाआजा गरिने पवित्र दिन। आजका दिन नागको पूजा गर्नाले वर्षभरि नागदोष, सर्पभय र भूकम्पादि प्राकृतिक प्रकोपबाट बचिन्छ भन्ने शास्त्रीय मान्यता छ। सर्प हाम्रा वातावरणीय मित्र हुन् भने नाग हाम्रा पूज्य देवता। वैदिक शास्त्रमा शेषनागलाई केवल धर्तीको मात्र नभई समग्र ब्रह्माण्डकै धारक मानिएको छ। त्यसैले नागको संरक्षण गर्नु भनेको मूलतः धर्ती र पर्यावरणकै रक्षा गर्नु हो।
नागको बासस्थान जलमा हुन्छ। तर विडम्बना, आज हामी जलसंकटको गम्भीर मोडमा उभिएका छौं। तराई–मधेसमा समयमा रोपाइँ हुन सकेको छैन भने पहाडतिर पनि असन्तुलित वर्षाको असर परेको छ। विगतमा धान रोप्नुपूर्व खेतका आलिमा कपासको पिउरी र दर्शनढुंगामा नागको आकृति बनाएर पूजा गर्ने परम्परा थियो। जबसम्म मानिसले प्रकृतिका यी प्रतीकहरूलाई पुज्थे, तबसम्म जल र वायुको यस्तो गम्भीर संकट थिएन; अन्नका भण्डारहरू भरिभराउ हुन्थे। तर, आज समयले कोल्टो फेरेको छ; हाम्रा जीवनशैली र संस्कृतिमा परिवर्तन आएको छ। नाग र तिनका बासस्थान संरक्षित छैनन्।
फलस्वरूप वर्षा असन्तुलित बनेको छ– कतै अतिवृष्टि, कतै खण्डवृष्टि त कतै सुक्खाको मार छ। जल, जंगल र जडीबुटीकै कारण हाम्रो देशलाई समृद्ध मानिन्थ्यो। यस अर्थमा नागपूजन भनेको धर्ती र पर्यावरणकै पूजन हो। सामान्यतः धर्ती पूजामा शंख, दीप, मन्त्र, मणि–माणिक्य, जनै, फूल, फल, पुस्तक, तुलसी, कपूर, सुवर्ण, चन्दन र शालिग्रामको जल आवश्यक पर्छ; तर नागपूजा गर्दा भने शंख नबजाउनु नै उत्तम मानिन्छ। धर्ती स्वयम् जगन्माता भएकाले बिहान ओछ्यानबाट उठेर पहिलो पाइला भुइँमा राख्नुअघि पृथ्वीको वन्दना गर्ने वैदिक परम्परा छ–
विष्णुपत्नि नमस्तुभ्यं पादस्पर्शं क्षमस्व मे।।
पौराणिक आख्यानअनुसार सर्वप्रथम भगवान् श्रीहरिले धर्तीको पूजा गर्नुभएको थियो। भक्तिपूर्वक धर्तीमाताको उपासना गर्नाले श्रीसम्पत्ति, आयु, प्रज्ञा, यश र आरोग्य प्राप्त हुन्छ। आज विश्वभरि देखिएका वातावरणीय संकटहरू धर्तीप्रतिको बेवास्ता र अचाक्ली दोहनकै दुष्परिणाम हुन्। दत्तात्रेयका २४ गुरुमध्ये पृथ्वी पनि एक हुन्, जसबाट मानिसले सहनशीलताको गुण सिक्नुपर्छ। विशालताको प्रतीक आकाश अर्को गुरु हो।
हाम्रो शरीर माटो, जल, तेज, वायु र आकाश गरी पञ्चतŒवको सूक्ष्म रूप हो र भौतिक देहको अन्त्यपछि यी तŒवहरू पुनः आफ्नै मातृस्रोतमा विलीन हुन्छन्। सनातन परम्परामा नयाँ घर निर्माण गर्दा, गृहप्रवेश गर्दा वा नयाँ अन्नबाली लगाउँदा नाग र पृथ्वीको पूजा अनिवार्य मानिन्छ।
हाम्रो पूर्वीय दर्शन अत्यन्त व्यापक छ। यसले मानवदेखि सूक्ष्म जीवात्माहरूसम्मको अस्तित्वलाई स्वीकार गर्दै प्रकृतिको संरक्षण गर्ने चिन्तन बोकेको छ। श्रावण शुक्ल पञ्चमीका दिन घर–आँगन र वरपरको वातावरण पवित्र पारेर मूल ढोकामा नागको चित्र टाँसी दधी, दूबो, दूध र लाभाले पूजा गर्ने परम्परा छ। देवदेवीका मूर्ति र चित्रहरूबाट सकारात्मक ऊर्जा प्रवाह हुन्छ। घरका ढोका र भित्ताहरूमा कलश, गणेश, सूर्य, हनुमान्, स्वस्तिक तथा ओमजस्ता प्रतीक चिह्न राख्नाले घरमा भावनात्मक र आध्यात्मिक सुरक्षा कायम रहन्छ।
वास्तुशास्त्र र तन्त्रग्रन्थहरूमा नागको दिशात्मक स्थितिबारे विशेष उल्लेख छ। नागको शिर भदौ, असोज र कात्तिकमा पूर्वतर्फ; मंसिर, पुस र माघमा दक्षिणतर्फ; फागुन, चैत र वैशाखमा पश्चिमतर्फ तथा जेठ, असार र साउनमा उत्तरतर्फ हुन्छ। नागपूजा गर्दा नागको शिर कुन दिशातर्फ छ भन्ने ज्ञान हुनु आवश्यक मानिन्छ, अन्यथा पूजाको पूर्ण फल प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ। जहाँ नाग र जलको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुने र आगलागी, चट्याङ वा विद्युतीय दुर्घटनाजस्ता विपत्तिबाट जोगिन सकिने जनविश्वास छ। कृषिप्रधान समाजमा नागलाई शक्ति र समृद्धिको प्रतीक मानिन्छ।
पाञ्चायन देवमध्ये शिवको गलामा, विष्णुको शय्यामा र गणेशको हातमा नाग विराजमान छन्। त्रेतायुगमा भगवान् श्रीरामका भाइ लक्ष्मण र द्वापरयुगमा श्रीकृष्णका दाजु बलरामलाई शेषनागकै अवतार मानिन्छ। बाल्यकालमा श्रीकृष्णले कालीयनागको दमन गरेर यमुना नदीलाई विषमुक्त गराएका थिए, जसले जीवनको सुरुवातमै प्रदूषण र विकृतिहरूलाई हटाउनुपर्छ भन्ने सन्देश दिन्छ। त्यसैगरी, सत्ययुगको समुद्र मन्थनको प्रसंगमा वासुकी नागको माध्यमबाट हलाहल विष ओकलेपछि मात्रै अमृत प्राप्त भएको कथाले संघर्ष र शोधनपछि मात्र सफलता मिल्छ भन्ने आध्यात्मिक रहस्य उजागर गर्छ।
संक्षेपमा, नागपञ्चमी केवल एउटा धार्मिक परम्परा मात्र होइन; यो त जल, जमिन, नाग र समग्र पारिस्थितिक प्रणालीको सम्मान गर्ने वैज्ञानिक एवं सांस्कृतिक पर्व हो। प्रकृतिको दोहन रोकेर यसको सन्तुलन कायम राख्नु नै आजको नागपञ्चमीको वास्तविक सन्देश र सार्थकता हो।
प्रतिक्रिया दिनुहोस !