पूर्वमा सुस्त, पश्चिममा भारी वर्षा
काठमाडौं : गत शुक्रबार रोल्पाको थवाङ–५ सुलीचौरमा पहिरो जाँदा १० जनाको ज्यान गयो। ३ जना बेपत्ता छन्। २ जना घाइते छन्। उक्त पहिरोबाट १५ जना प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। शनिबार पनि जाजरकोटको भेरी–२ मा पहिरोमा परेकाको खोज तथा उद्धार कार्य भइरहेको प्राधिकरणले जनाएको छ। बझाङमा पनि पहिरोले क्षति पुर्याएको प्राधिकरणले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यतिबेला देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा नेपालतिरनजिक रहेको छ। न्यूनचापीय रेखा नेपालको नजिक भएको खण्डमा वर्षा धेरै हुने मौसमविद्हरूले बताउँदै आएका छन्। त्यसैले हाल नेपालको पूर्वी भूभागमा भन्दा पश्चिम नेपालमा धेरै वर्षा र विपद्का घटना भइरहेका छन्।
विभागले विशेषगरी पश्चिमी क्षेत्रहरूमा ग्रेगान बहाब, बाढी–पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेकाले सचेत रहन सुझाएको छ। विभागका अनुसार आउँदो मंगलबारसम्म नै भारी वर्षाको संभावना छ। आइतबार नेपालका पूर्वदेखि पश्चिमसम्मका भूभागमा वर्षा भइरहेको छ। सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा समेत भारी वर्षा हुने विभागले जनाएको छ। त्यस्तै, मंगलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने जनाएको छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले मनसुन विस्तारै पूर्वमा सुस्त देखिए पनि पश्चिम नेपालमा सक्रिय रहेको बताए। ‘सात दिनमा पर्ने पानी एकै दिनमा परेको छ,’ पोखरेलले भने, ‘तर पहिला जस्तो लगातार ६–७ घण्टा पानी पर्दैन। छोटो समयमा भारी वर्षाको संभावना भने यथावत् छ।’
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्, डेभिड ढकालले पनि आगामी केही दिन पश्चिममा अलि बढी वर्षा हुने बताए। पूर्वका केही स्थानमा वर्षा हुने देखिएको उनले बताए।
यस वर्ष विभागले सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको थियो। तर, कुनै पनि समय जुनसुकै स्थानमा अत्यधिक वर्षाले विपद् ल्याउने पनि जनाएको थियो। विभागको तथ्यांकअनुसार अगस्ट १४ सम्म ७८८.२० मिमि वर्षा भएको छ। उक्त वर्षा ५३.३ प्रतिशत हुन आउँछ। उक्त नम्बर सरदरभन्दा कम नै रहेको ढकालले बताए। उनले भने, ‘पानी त परिरहेको छ। तर, जसरी पर्नुपर्ने हो त्यसरी परेको छैन।’
काठमाडौंमा पनि अन्य ठाउँमा जस्तै वर्षा भइरहेको छ। आइतबार बेलुका ५ बजेसम्मको तथ्यांकअनुसार काठमाडौंमा सबैभन्दा धेरै वर्षा बूढानीलकण्ठमा ४६.६ मिमि भएको थियो। त्यसैगरी गोदावरीमा २८.४ मिमि, चाँगुनारायणमा २५ मिमि र बबरमहलमा २०.६ मिमि वर्षा भएको विभागको तथ्यांकले बताउँछ।
प्रतिक्रिया दिनुहोस !