नाइमा एक्स्पो १ लाख ८० हजारले गरे अवलोकन, उत्साहजनक सवारी बुकिङ
काठमाडौं : नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२६ मा १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ।
साउन २६ गते उद्घाटन भएको एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। नाइमाका अनुसार उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरे। आयोजकले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेकोमा त्यसलाई समेत उछिन्दै १ लाख ८० हजारभन्दा बढी पुगेका हुन्।
कार्यकारी निर्देशक राजकुमार दुलालले सवारी बुक गर्ने, घुम्ने जानकारी लिनको संख्या अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको जानकारी दिए। नाइमा आयोजनाको खर्च र बिकेको टिकट संख्याको पूरा हिसाब भने आइनसकेको निर्देशक दुलालले बताए।
साना सवारीप्रति दर्शकको भिड लागेको आयोजकले जनाएको छ। समापन समारोहमा नाइमा अध्यक्ष रीतुसिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, ५३ नयाँ उत्पादनको सार्वजनिक र ठूलो संख्यामा अवलोकनकर्ताको उपस्थितिलाई एक्स्पोको प्रमुख उपलब्धि बताइन्।
उनले एक्स्पो कुनै एक संस्था वा व्यक्तिको मात्र सफलता नभई नेपालको समग्र मोबिलिटी उद्योगको सामूहिक उपलब्धि भएको बताइन्। उनका अनुसार एक्स्पोलाई नयाँ सवारीसाधन तथा प्रविधि प्रदर्शन गर्ने थलोमा सीमित नराखी ज्ञान, सीप र प्रविधिबारे छलफल गर्ने प्लेटफर्मका रूपमा विकास गर्ने प्रयास गरिएको थियो। ‘यो अन्त्य होइन, सुरुवात हो,’ उनले भनिन्, ‘आगामी दिनमा अझ ठूलो, राम्रो र बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ।’
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा अवलोकनकर्ताको सहभागिता अटोमोबाइल उद्योगका लागि सकारात्मक संकेत भएको बताए। अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा धेरै अवलोकनकर्ता आएको र इन्क्वायरी तथा बुकिङसमेत उत्साहजनक रहेको बताए।
त्यस्तै, नाइमाको स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको टिप्पणी गरे। कार्यकारी निर्देशक दुलालले प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा जोड दिइएको बताए। उनका अनुसार अवलोकनकर्ताको सन्तुष्टि नै एक्स्पो सफलताको मुख्य मापक हो।
एक्स्पोको अन्तिम दिन ‘इम्पोर्टिङ ट्यालेन्ट, एक्स्पोर्टिङ वर्कर्स : ब्रिजिङ नेपालको एजुकेसन, स्किल्स एन्ड इन्टरप्रेन्योरसिप ग्याप’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो। संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य तथा पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाईं र थापाथली इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक लोचनकेन्द्र देवकोटा सहभागी थिए।
एक्स्पो अवधिभर मोबिलिटी उद्योगसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अन्तक्र्रिया पनि गरियो। ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’, ‘ब्याट्री रिसाइकल एन्ड इथानोल ब्लेन्डिङ इन फ्युल’, ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’, ‘
मोबिलिटी : हिजो, आज र भोलि’ तथा ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट : मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ’लगायत विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल भएको थियो।नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको नाइमाले जनाएको छ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताका ५५ भन्दा बढी ब्रान्ड सहभागी थिए भने ५३ नयाँ उत्पादन सार्वजनिक गरिएको थियो। नाइमाले ठूलो सहभागिताले नेपालको मोबिलिटी बजारप्रति उपभोक्ता, व्यवसायी र लगानीकर्ताको चासो बढिरहेको देखाएको जनाएको छ।
नाइमाको उद्देश्य
नाइमाको मेला व्यापारिक प्रदर्शनीसँगै सवारीसाधनमा नयाँ प्रविधि देखाउने, उपभोक्तालाई सचेत बनाउने, उद्योग–सरकार–सरोकारवालाबीच संवाद बढाउने र नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने साझा मञ्च बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ। यसका साथै आफ्ना ग्राहकलाई विद्युतीय, हाइब्रिडलगायत नयाँ तथा वातावरणमैत्री सवारी प्रविधि र समाधानबारे जानकारी तथा पहुँच बढाउनु पनि रहेको छ।
नयाँ सवारीसाधन, प्रविधि र नवप्रवर्तनलाई एउटै प्लेटफर्ममा प्रदर्शन गर्ने, नयाँ उत्पादन÷मोडल सार्वजनिक गर्ने, निर्माता, आयातकर्ता, डिलर, उपभोक्ता, वित्तीय संस्था, प्रविधि कम्पनी र अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र सहकार्य बढाउने पनि उद्देश्य रहेको निर्देशक दुलालले जानकारी दिए। नेपालको अटोमोटिभ उद्योगको भविष्यलाई गति दिने र उद्योगभित्र तथा सरोकारवालाबीच सहकार्यको वातावरण बनाउने, सडक सुरक्षा, सीप विकास, रोजगारी, पूर्वाधार, नयाँ प्रविधि र मोबिलिटीको भविष्यबारे विशेषज्ञसहितका छलफल तथा लर्निङ सेसन सञ्चालन गर्ने पनि यसको उद्देश्य हो।
त्यसैगरी, अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका समस्या र सम्भावनालाई सरकार तथा सम्बन्धित निकायसम्म पु¥याउँदै नीतिगत सहकार्य र वकालत गर्ने, मोबिलिटीलाई आधुनिक, सुरक्षित, दिगो र सबैका लागि पहुँचयोग्य बनाउने साझा प्लेटफर्मका रूपमा एक्स्पोलाई विकास गर्नुलगायत रहेको छ।
प्रतिक्रिया दिनुहोस !