कुहिरोबाटै पिउने पानी
ओखलढुंगा : आकाशमा मडारिने कुहिरो पिउने पानीको स्रोत बन्छभन्दा पत्यार नलाग्न सक्ला। तर, ओखलढुंगाको खिजीदेम्बा–५ स्थित मेले गुम्बा टोलका लागि भने कुहिरो पिउने पानीको मुख्य स्रोत बनेको छ। २०७२ सालको महाभूकम्पपछि पानीका मुहान सुकेर काकाकुल बनेको यो बस्तीमा हाल कुहिरोबाटै स्वच्छ पिउने पानी संकलन गरी वितरण गर्न थालिएको छ।
समुद्र सतहदेखि करिब २ हजार ३ सय ३० मिटर उचाइमा रहेको यो दुर्गम क्षेत्रमा भूउपग्रह (स्याटेलाइट) अध्ययनमार्फत निरन्तर कुहिरो लागिरहने स्थान पहिचान गरी आधुनिक प्रविधि भिœयाइएको हो। खिजीदेम्बा गाउँपालिकाको समन्वय र जर्मन संस्था (जीआईजेड आईकेआई ग्रान्ट) को १ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा स्मल अर्थ नेपालले यो प्रयोगात्मक अनुसन्धान योजना सफलतापूर्वक सम्पन्न गरेको हो।
झन्डै दुई वर्षको निरन्तर अनुसन्धानपछि सम्पन्न यो योजनामा १० वटा फग हार्भेस्टिङ युनिट जडान गरिएका छन्। मौसमी प्रतिकूलताबाट चाँडै नबिग्रिने विशेष युभिट्रिटेड जालीहरू चीनबाट आयात गरी नेपालकै ग्याल्भानाइज्ड तार र पोलमार्फत जडान गरिएको छ
। आकाशमा बहने कुहिरोका कणहरू यी जालीमा अडिएर थोपाका रूपमा फेरिन्छन् र २–२ सय लिटरका ट्यांकीहरूमा जम्मा हुन्छन्। यसरी संकलित पानीलाई पिउनयोग्य बनाउन बालुवा र गिट्टीको तह प्रयोग गरी बनाइएको बायो स्यान्ड फिल्टर (प्राकृतिक जैविक विधि) मार्फत शुद्धीकरण गरिएको छ। अनि, २ हजार लिटर क्षमताको मुख्य ट्यांकीमा संकलन गरेर धाराहरूमा पठाइएको छ।
प्लास्टिक र सिमेन्टको प्रयोग नगरी कपास तथा सालको पात प्रयोग गरेर खेर जाने पानी संकलनका लागि तीनवटा प्राकृतिक पुनःभरण पोखरीसमेत निर्माण गरिएका छन्। पानीकै चरम अभावका कारण स्थानीय साम्तेन छ्योलिङ गुम्बामा धार्मिक पूजापाठ र गतिविधिहरू पूर्णरूपमा ठप्प बनेका थिए। जल उपभोक्ता समितिका अध्यक्ष दावा छिरिङ शेर्पाका अनुसार कुहिरोबाट पानी संकलन हुन थालेपछि गुम्बामा पुनः नियमित रूपमा पूजापाठ सुरु भइसकेको छ।
यस प्रविधिबाट गुम्बाका साथै गेल्जे लामा स्मृति बौद्ध अध्ययन केन्द्र र आसपासका ९ घरधुरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराइएको छ। खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले यो प्रविधिले स्थानीयलाई पिउने पानीको प्रबन्धका साथै ससाना सिँचाइमा समेत ठूलो राहत पुर्याएको बताए।
अनुसन्धान टोलीकी सदस्य डाक्टर निरिना
खड्गीले विशेष गरी हिउँदको सुक्खा यामलाई लक्षित गरी योजना सञ्चालन गरिएको जानकारी दिइन्। हाल मनसुनका कारण पानी ओभरफ्लो भइरहेको र यसको पूर्ण प्रभावकारिता हेर्न आगामी हिउँदयाम कुर्नुपर्ने भए पनि वर्षा र कुहिरो दुवैबाट पानी संकलन हुने हुँदा यो प्रविधि निकै उपयोगी साबित भएको छ।
झन्डै ३० वर्षअघि इलामलगायत पूर्वी नेपालका केही क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा ब्युँताएर ओखलढुंगामा गरिएको यो सफल प्रयोगले नेपालका अन्य सुक्खा र दुर्गम पहाडी भेगका लागि पनि नयाँ आशाको किरण देखाएको छ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले यो प्रविधिले स्थानीयलाई पिउने पानीको प्रबन्धका साथै ससाना सिँचाइमा समेत ठूलो राहत पुर्याएको बताए।
प्रतिक्रिया दिनुहोस !