अमेरिकी सैनिक मारे वा समाते ३० हजार अमेरिकी डलर पुरस्कार दिने इरानको घोषणा

अमेरिकी सैनिक मारे वा समाते ३० हजार अमेरिकी डलर पुरस्कार दिने इरानको घोषणा

तेहरान : इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर (करिब ४५ लाख नेपाली रुपैँया) पुरस्कार दिने घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा पुरस्कार रकम दोब्बर अर्थात् ६० हजार डलर पुर्‍याइने इरानी सेनाले जनाएको छ। साथै, आक्रमणमा प्रयोग गरिएको हतियार खरिद गरी संग्रहालयमा राखिनेछ।

तेहरानमा आयोजित एक कार्यक्रममा इरानी सेनाका कमाण्डर-इन-चिफ अमिर हातमीले वित्तीय जिहादमार्फत देशको युद्ध प्रयासमा आर्थिक सहयोग गर्न चाहने नागरिकहरूको मागबमोजिम यो योजना ल्याइएको बताए।

हातमीले यस योजनाले अमेरिकाको सैन्य प्रभुत्वलाई कमजोर बनाएको र धेरै देशहरूलाई आफ्नो सुरक्षाका लागि अन्य विकल्प खोज्न बाध्य पारेको दाबी गरे।

इरानलाई पराजित गरेपछि होर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै हातमीले इरानले अमेरिकी सेनालाई प्रभावकारी रूपमा पछि हट्न बाध्य पारेको बताए। उनले अब अमेरिकी सेनालाई फारसको खाडी, ओमान सागर वा होर्मुज स्ट्रेटमा प्रवेशको अनुमति नभएको दाबी समेत गरे।

यसैबीच, इरानले गत मार्च २ तारिखदेखि कतारले आफ्ना तीन जना पाइलटलाई नियन्त्रणमा राखेको आरोप लगाएको छ। अमेरिका र इजरायलसँगको युद्धका प्रारम्भिक दिनहरूमा इरानको ‘Su-24’ विमान कतारको एयर डिफेन्सको चपेटामा परेको र प्यारासुटमार्फत सुरक्षित ओर्लिएका पाइलटहरूलाई कतारी अधिकारीहरूले नियन्त्रणमा लिएको इरानको भनाइ छ।

इरानी सेनाको बेपत्ता खोजी समितिका प्रमुख जनरल सैयद मोहम्मद बागेरजादेहले रेडक्रसलाई पत्र लेख्दै नियन्त्रणमा रहेका पाइलटहरू जवाद सालेही, अब्दोलमजिद दश्तियान र ओमरान बेहरावेशियनको अवस्था सार्वजनिक गर्न र परिवारसँग सम्पर्क गराउन माग गरेका छन्। चौथो पाइलट माजिद काजेमीको भने मृत्यु भएको जनाइएको छ।

कतारद्वारा आरोपको खण्डन

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले इरानको आरोपलाई पूर्ण रूपमा खण्डन गरेका छन्। कतारले कुनै पनि इरानी पाइलटलाई नियन्त्रणमा नराखेको उनले स्पष्ट पारे।

इरानी विमानले कतारी आकाशमा प्रवेश गरेपछि सम्पर्कको प्रयास गरिए पनि जवाफ नआएपछि अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सीमा रक्षाका लागि कारबाही गरिएको कतारको भनाइ छ। मार्चको सुरुमा दुईवटा इरानी Su-24 विमान खसालेपछि गरिएको खोजीका क्रममा एक पाइलटको शव फेला परेको र सो शव हस्तान्तरणका लागि इरानसँग सम्पर्क गरिएको कतारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.