स्थानीय तहमा ३५ हजार उम्मेदवार खोज्दै रास्वपा

स्थानीय तहमा ३५ हजार उम्मेदवार खोज्दै रास्वपा

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन दलीय रूपमै लड्ने तयारीलाई अघि बढाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट गैरदलीय स्थानीय तह बनाउने प्रस्ताव पारित गरेको रास्वपाले व्यावहारिक रूपमा सम्भव नदेखिएपछि आफ्नो अडान फेरेको हो।

यसअघि पार्टीको चुनावी वाचापत्रमा समेत गैरदलीय स्थानीय सरकार सञ्चालन गर्ने उल्लेख गरिएको थियो। तर, सोही वाचापत्रविपरीत आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रास्वपाले उम्मेदवार छनोट प्रक्रियासमेत अघि बढाइसकेको छ। यसबारेमा रास्वपाका शीर्ष नेताहरूलाई सम्पर्क गर्दा औपचारिक रूपमा बोल्न चाहेनन्। अनौपचारिक कुराकानीमा भने गैरदलीय स्थानीय सरकारको पार्टी नीति अव्यावहारिक भएको निष्कर्ष निकालिएको बताउँछन्।

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल रास्वपाको शीर्ष नेतृत्वमा राजनीतिक चिन्तनको अभाव रहेको औंल्याउँछन्। ‘रास्वपाले स्थानीय तहमा चुक्दा आफ्नो राजनीतिक अस्तित्व नै संकटमा पर्न सक्ने महसुस गरेपछि अहिले त्यसको तयारीमा गम्भीर बनेको देखिन्छ।’, प्राध्यापक बराल भन्छन्, ‘बहुदलीय व्यवस्था भएको र गाउँगाउँसम्म राजनीतिक दलको बलियो उपस्थिति रहेको अवस्थामा गैरदलीय स्थानीय तहको परिकल्पना गर्नु अव्यावहारिक थियो भन्ने यथार्थलाई रास्वपाले अहिले बल्ल महसुस गरेको छ। ’

क्यान्डिडेट क्लबमार्फत आवेदन दिँदै आकांक्षी
रास्वपाका सभापति रवि लामिछानेले घोषणा गरेको क्यान्डिडेट क्लबमार्फत स्थानीय वडातहदेखि पालिकासम्मको नेतृत्वका आकांक्षीहरूले आ–आफ्नो आवेदन दिन थालेका छन्। 

भदौ १ गते पार्टी सभापति लामिछानेले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेसँगै स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरू खोज्ने क्रमलाई अघि बढाएको छ। २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। नियमित स्थानीय तह निर्वाचन आगामी वैशाखमा हुने भएकाले रास्वपाले उम्मेदवार छनोट कार्यलाई अघि बढाएको छ। गत वैशाख ७ गते बसेको पार्टीको केन्द्रीय समितिले उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन स्थानीय निर्वाचन उम्मेदवार छनोट तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।

अहिलेसम्म सरकारले स्थानीय तह निर्वाचनको औपचारिक मिति घोषणा गरेको छैन। तर, रास्वपाले उम्मेदवार छनोट प्रणाली निर्माणको काम वैशाखदेखि नै सुरु गरेको थियो। वैशाख २० गते उम्मेदवार छनोट गर्ने विधिलाई वैशाखमै पारित गरेको थियो। रास्वपाले स्थानीय तह निर्वाचनका लागि ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाका ३५ हजार २ सय २१ पदमा उम्मेदवार खोज्ने कार्य अघि बढाएको हो। स्थानीय तहमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन्।

उम्मेदवारका आकांक्षीहरूले ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्ने व्यवस्था छ। वडाध्यक्ष र सदस्य पदका आकांक्षीहरूले वडा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। त्यस्तै पालिका क्यान्डिडेट क्लबमा पालिकाका प्रमुख÷मेयर, उपप्रमुख÷उपमेयर, अध्यक्ष र उपाध्यक्षका आकांक्षीहरूले आवेदन दिनुपर्नेछ। संविधान, स्थानीय तह निर्वाचन ऐन, पार्टी विधानबमोजिमका योग्यता भएका व्यक्तिहरूले मात्र आवेदन दिनुपर्ने व्यवस्था छ। पार्टी सदस्यता प्राप्त गरेको ४५ दिन पूरा भएको हुनु पर्नेछ। अन्य दल त्याग गरेका व्यक्तिको हकमा भने पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ९० दिन पूरा भएको हुनुपर्ने व्यवस्था छ। बागमती प्रदेश सभापति उत्सव अर्यालका अनुसार अन्य दल त्याग गरी पार्टी सदस्यता लिएर उम्मेदवारी दिन चाहनेहरू पनि ह्वात्तै बढेका छन्।

रास्वपाले विशेष परिस्थितिमा ल्याटरल इन्ट्रीसम्बन्धी व्यवस्था गरेको छ। विशेष परिस्थितिमा समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरूलाई कुलिङ पिरियडको अवधि पूरा नभए पनि ल्याटरल इन्ट्रीमार्फत क्यान्डिडेट क्लबमा आवेदन दिन अनुमति दिन सकिने रास्वपाले जनाएको छ। यसका लागि पद र तहअनुसार औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ। वडाध्यक्ष र वडासदस्य पदका लागि वडा क्यान्डिडेट क्लबमा आवेदन दिन सम्बन्धित पालिका समिति र जिल्ला समितिको औपचारिक लिखित सहमति चाहिनेछ।

गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका मेयर÷उपमेयर पदका लागि आवेदन दिन पार्टीको जिल्ला र प्रदेश समितिको लिखित सहमति अनिवार्य गरिएको छ। उपमहानगर र महानगरपालिकाको प्रमुख÷उपप्रमुख पदका लागि केन्द्रीय समितिको औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ।

रास्वपाका कोशी प्रदेश उपसभापति होमराज (राजन) दाहालका अनुसार पालिका तहमा आकांक्षीहरूले आवेदन दिन थालेका छन्। क्यान्डिडेट क्लबमा आवेदन दर्ता भएपछि प्रारम्भिक चरणमा आकांक्षीहरूको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्यांक संकलन र परीक्षण गरिने प्रदेश उपसभापति दाहालले बताए। 

उम्मेदवार बन्न चाहने व्यक्तिको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक झमेला भए÷नभएको परीक्षण गरिनेछ। ‘आवेदन लिने प्रक्रिया सुरु भइसकेको छ। पार्टीको विधि विधान र नियमभित्र बसेर उम्मेदवार छनोट गर्ने हो,’ दाहालले भने, ‘भुस निफनेर सङ्लो चामल निकालेझैं स्वच्छ छविको योग्य उम्मेदवार छनोट गर्न लागिपरेका छौं।’

कस्ता व्यक्ति हुनेछन् सुरुमै अयोग्य ? 
रास्वपाले व्यक्तिगत, सामाजिक, राजनीतिक रूपमा समेत स्पष्टता खोजेको छ। वैवाहिक अवस्थाको कानुनी स्पष्टतालाई अनिवार्य बनाएको छ। आफ्नो पारिवारिक र वैवाहिक अवस्था कानुनी रूपमा पूर्णतः स्पष्ट रहेको हुनुपर्नेछ। यससम्बन्धी कुनै पनि प्रकारको लुकाइएको वा विवादित अवस्था नरहेको स्वघोषणा गर्नुपर्नेछ।

स्थानीय तहमा चुक्दा आफ्नो राजनीतिक अस्तित्व नै संकटमा पर्न सक्ने महसुस गरेपछि अहिले गम्भीर बनेको देखिन्छ। बहुदलीय व्यवस्था र गाउँ–गाउँसम्म राजनीतिक दलको बलियो उपस्थिति रहेको अवस्थामा गैरदलीय स्थानीय तहको परिकल्पना गर्नु अव्यावहारिक थियो 
भन्ने यथार्थलाई बल्ल महसुस गरेको छ।
– लोकराज बराल - प्राध्यापक, राजनीतिशास्त्र

क्यान्डिडेट क्लबमार्फत आवेदन लिने प्रक्रिया सुरु भइसकेको छ। पार्टीको विधि, विधान र नियमभित्र बसेर उम्मेदवार छनोट गर्ने हो। भुस निफनेर सङ्लो चामल निकालेझैं स्वच्छ छविको योग्य उम्मेदवार छनोट गर्न लागिपरेका छौं।
– होमराज दाहाल (राजन) उपसभापति, कोशी प्रदेश, रास्वपा 

केही आकांक्षीहरू स्क्रिनिङ हुँदा क्यान्डिडेट क्लबबाटै पनि बाहिरिन सक्ने सम्भावना छ। अधिकांश आकांक्षीहरू लिडरसिप एकेडेमीसम्म पुग्नेछन्। त्यहाँ आफ्नो योग्यता, क्षमता प्रस्तुत गर्नुपर्ने हुन्छ।
– उत्सव अर्याल - सभापति, बागमती प्रदेश, रास्वपा 

दुव्र्यवहार तथा डिजिटल अपराधमा संलग्न रहेको पाइएमा अयोग्य मानिनेछ। कानुनी रूपमा प्रमाणित नभएको अवस्थामा पनि कुनै प्रकारको घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न रहेको पाइएमा अयोग्य घोषणा गरिनेछ। साथै, सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर बुलिङ, चरित्रहत्या, अनलाइन ठगी वा अन्य कुनै प्रकारको डिजिटल दुव्र्यवहारमा आफ्नो संलग्नता नरहेको स्पष्ट स्वघोषणा नगर्ने व्यक्ति अयोग्य मानिनेछ।

वित्तीय तथा आर्थिक शुद्धताः समाजमा मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी वा संस्थाको बचत अपचलनजस्ता कुनै पनि प्रकारका अनौपचारिक तथा अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ।

स्वार्थ बाझिने अवस्थाः आफूले उम्मेदवारी दिन चाहेको पालिका वा वडाअन्तर्गत सञ्चालित कुनै पनि विकास निर्माण, ठेक्कापट्टा, खरिद प्रक्रिया, उपभोक्ता समिति वा सार्वजनिक आपूर्तिमा आफ्नो वा एकाघरको परिवारको स्वामित्वमा रहेको व्यावसायिक फर्मको प्रत्यक्ष संलग्नता अर्थात् स्वार्थ बाझिने अवस्था विद्यमान भए वा नभएको यथार्थ विवरण खुलाएको स्वघोषणा पनि अनिवार्य गरिएको छ। विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टताः अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य कुनै पनि न्यायिक र अर्धन्यायिक निकायमा आफ्नो विरुद्ध कुनै पनि प्रकारको फौजदारी, भ्रष्टाचार, गम्भीर प्रकृतिको देवानी मुद्दा विचाराधीन अवस्थामा रहे, नरहेको स्पष्ट विवरण खुलाएको नपाइएमा अयोग्य हुनेछ।

रास्वपाले नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, पार्टीको विधान र स्थानीय उम्मेदवार छनोटका विश्वव्यापी मान्यतालाई आधार बनाई कडाइ गरेको छ।

नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको र कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारि श्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई अयोग्य भनिएको छ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगेको मितिले दुई वर्ष पूरा नभएकोलाई अयोग्य भनिएको छ। त्यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति अयोग्य हुनेछ। 

संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति पनि अयोग्य हुनेछ। जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि अयोग्य हुनेछ। प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर अयोग्य हुने उल्लेख छ।

गुटबन्दी, चरित्रहत्या गर्नेको उम्मेदवारी खारेज
गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मानिने भएको छ। उम्मेदवारीको पक्षमा माहोल बनाउन पार्टीको आधिकारिक संयन्त्रबाहिर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने, दबाब समूह निर्माण गर्ने, पार्टीका आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्ने कार्यलाई अनुशासनहीनताको संज्ञा दिइएको छ। अन्य आकांक्षी, पार्टी संरचना वा मूल्यांकन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रामक सूचना, मिथ्या आरोप, दुष्प्रचार वा चरित्र हत्या गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लंघन मानिने जनाइएको छ।

राजनीतिक प्रतिस्पर्धा स्वस्थ, मर्यादित र विचारकेन्द्रित हुनुपर्नेमा जोड दिइएको छ। व्यक्तिगत, गुटगत र विधिविरोधी अभ्यासलाई पार्टीभित्र कुनै स्थान नदिइने र यस्तो कार्यमा संलग्न आकांक्षीको उम्मेदवारी प्रक्रिया तत्काल खारेज गरी अनुशासनको कारबाही अघि बढाइने रास्वपाले जनाएको छ।

चार मापदण्ड पूरा गरेपछि बल्ल योग्य

आकांक्षीहरूको परीक्षण तथा छनोटका लागि चारवटा मापदण्ड बनाइएको छ। पहिलो लिडरसिप एकेडेमी, दोस्रो पोलिटिकल प्रोक्सिमिटी, तेस्रो समावेशिता र चौथो प्रारम्भिक निर्वाचनलाई दिइएको छ। उम्मेदवार छनोटको सबैभन्दा ठूलो अंकभार प्रारम्भिक निर्वाचनलाई दिइएको छ। छनोटका क्रममा पहुँच, प्रभाव, नातावाद, कृपावाद, गुटगत दबाब, आर्थिक हैसियत र नेतृत्व निकटतामा आधारित प्रवृत्तिलाई निरुत्साहित गर्न पार्टी सदस्यहरूले उम्मेदवार छनोट गर्ने रास्वपाले जनाएको छ। पार्टी सदस्यले मतदान गरेर आफ्नै उम्मेदवार छनोट गर्ने यो प्रक्रिया अर्थात् ‘प्राइमरी इलेक्सन’लाई ४० प्रतिशत भारांक दिइएको छ।

त्यस्तै छनोटको पहिलो आधार अर्थात् लिडरसिप एकेडेमीलाई दिइएको छ। लिडरसिप एकेडेमीले नेतृत्व परीक्षण तथा वैचारिक स्पष्टतामा परख गर्नेछ। उम्मेदवार छनोटलाई केवल प्राविधिक प्रक्रियामा मात्र सीमित नराखी वैचारिक र व्यावहारिक रूपमा सक्षम नेतृत्व निर्माणको आधार बनाउन समग्र मूल्यांकन प्रणालीमा लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत भारांक प्रदान गरिनेछ।

क्यान्डिडेट क्लबमार्फत जोडिएका आकांक्षीहरूका लागि यो पहिलो र निर्णायक परीक्षण हुनेछ। एकेडेमीको परीक्षणमा तोकिएको न्यूनतम मापदण्ड पार गरी उत्तीर्ण हुने आकांक्षीहरूले मात्र उम्मेदवार छनोटको आगामी चरण अर्थात् अन्य मापदण्डहरूमा प्रवेश पाउनेछन्। अनुत्तीर्ण हुनेहरू उम्मेदवार छनोटको बाँकी प्रक्रियाबाट स्वतः बाहिरिनेछन्।

उम्मेदवारको प्राज्ञिक क्षमता, नीतिगत स्पष्टता र वैचारिक बुझाइको विशुद्ध वस्तुगत मूल्यांकन गर्न पार्टीको केन्द्रीय लिडरसिप एकेडेमी वा उसले तोकेको स्वतन्त्र विज्ञ समूहले अंक प्रदान गर्नेछ। ‘केही आकांक्षीहरू स्क्रिनिङ हुँदा क्यान्डिडेट क्लबबाटै पनि बाहिरिन सक्ने सम्भावना छ,’ बागमती प्रदेश सभापति अर्याल भन्छन्, ‘अधिकांश आकांक्षीहरू लिडरसिप एकेडेमीसम्म पुग्नेछन्। त्यहाँ आफ्नो योग्यता, क्षमता प्रस्तुत गर्नुपर्ने हुन्छ।’ राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा र स्थानीय सुशासनका विविध आयामहरूमा आकांक्षीहरूलाई पूर्वनिर्धारित मोड्युलमार्फत अनिवार्य रूपमा प्रशिक्षित गरिनेछ।

दोस्रो आधार पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक निकटता) रहेको छ। यसको मापनका लागि उम्मेदवार मूल्यांकन समिति (क्यान्डिडेट इभ्यालुएसन कमिटी) गठन गरिनेछ। उम्मेदवार जुन तहको हो, मूल्यांकन समितिको नेतृत्व त्योभन्दा एक तह माथिको संरचनाले गर्नेछ। यसलाई २५ प्रतिशत अंक दिइएको छ। पार्टीसँगको निरन्तर र ऐतिहासिक आबद्धता, वडा एवं पालिका तहमा पार्टीको संगठन विस्तार तथा सदस्यता वृद्धिमा पु¥याएको ठोस योगदान र विगतको राजनीतिक भूमिका र निर्वाचनमा सहभागितालाई आधारका रूपमा लिइएको छ। 

पार्टीको कुनै पनि तहको समिति वा तोकिएको पदमा रहेर काम गरेको बहुआयामिक अनुभव, उक्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको प्रमाणित अभिलेख र विगतका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन खेलेको सक्रिय भूमिकालाई आधार बनाइएको छ। तोकिएको लेभीको नियमित भुक्तानी, पार्टीभित्रको आन्तरिक अनुशासन, पदीय मर्यादा, पार्टीको आचारसंहिताको पूर्ण पालना र विजयको सम्भाव्यताको वैज्ञानिक मापनको अंकसमेत जोडिनेछ।

पार्टीको परम्परागत मत अर्थात् कोर भोट सुरक्षित गर्दै स्विङ भोट र तटस्थ मतदाताको मत तान्न सक्ने उम्मेदवारको व्यक्तित्व र जनमतलाई आधार बनाइएको छ। निर्वाचन क्षेत्रको जातीय, भाषिक, सामाजिक, भौगोलिक तथा जनसांख्यिक समीकरणसँग उम्मेदवारको तादात्म्यता र प्रभावलाई समेत आधार बनाइएको छ। त्यस्तै जनसम्बन्ध, बहुआयामिक लोकप्रियता र सार्वजनिक आचरण, शैक्षिक एवं पेसागत, भुइँतहको प्रमाणित अनुभवसमेत मूल्यांकन गरिनेछ।

त्यसपछि तेस्रो आधारमा समावेशितालाई जोड दिइएको छ। उम्मेदवारले आफ्नो प्रोफाइलमा प्रविष्ट गरेको जन्ममिति, नागरिकता, लिंग र प्रमाणित समावेशी कागजातहरूका आधारमा पार्टीको डिजिटल प्रणालीले स्वचालित रूपमा नै अंक दिनेछ। समावेशितामा १० प्रतिशत भारांक रहेको छ।

चौथो अर्थात् प्रारम्भिक निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रभित्र मतदाता ठेगाना भएका पार्टीका साधारण सदस्यदेखि वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका पदाधिकारी तथा सदस्य सहभागी हुनेछन्। संघीय सांसदलाई समेत मतदानको अधिकार दिइएको छ। मतदान अनलाइन र वैकल्पिक विधिबाट हुने तथा मतदान र मतगणना सम्पन्न भएपछि कुल प्राप्तांकसहित विस्तृत स्कोरबोर्ड र अन्तिम नतिजा सार्वजनिक गरिने रास्वपाले जनाएको छ।

उम्मेदवारी दिने दिनसम्म २१ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ। चाहेको सम्बन्धित गाउँपालिका, नगरपालिका वा वडाको अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्नेछ। त्यस्तै प्रचलित कानुनबमोजिम योग्य हुनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.