बल्झिरहने बञ्चरेडाँडा : ललितपुरका मेयर महर्जनले भने– हु द हेल, यस्तो पनि हुन्छ ?
काठमाडौं : सञ्चारमन्त्री विक्रम तिमिल्सेनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे शुक्रबार मन्त्रालयमा बैठक बोलाएका थिए। उपत्यकाका स्थानीय तहका मेयरहरूसहित सत्तासीन रास्वपा सांसद आशिका तामाङ बैठकमा उपस्थित थिइन्। बञ्चरेडाँडा क्षेत्र तामाङको निर्वाचन क्षेत्र धादिङ– १ अन्तर्गत पर्छ। बैठकको प्रारम्भमै निकै आक्रोशित मुद्रामा प्रस्तुत भएकी तामाङ र मेयरहरूबीच चर्काचर्की पर्यो । उपत्यकाका सबै स्थानीय तहका मेयर बैठकमा उपस्थित नभएको भन्दै उनी एक्कासि आक्रोशित रूपमा प्रस्तुत भइन्।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सम्झाउन खोज्दा उल्टै सांसद तामाङ थप आक्रोशित बनिन्। बैठक छोडेर हिँडिन्। सांसद तामाङ कराउन थालेपछि मेयर महर्जनले भने, ‘त्यत्तिकै बेस्सरी कराएर हुन्छ ? मेयर साबलाई कराएर हुन्छ ?’ सांसद तामाङ थप आक्रोशित बनिन्– ‘आउनुपर्यो नि।’ मेयर महर्जनले जवाफ दिए– ‘आउँदै हुनुहुन्छ।’ सांसद तामाङ रिसले झन् आगो भइन्। ‘बञ्चरेडाँडाका मान्छे होइनन् ?’ ठूल्ठूलो स्वरमा चिच्याउँदै सांसद तामाङले भनिन्– ‘भोलिदेखि बञ्चरेडाँडामा फोहोर फाल्न दिन्नँ।’
झोला बोकेर फत्फताउँदै सांसद तामाङ बैठकबाट बाहिरिइन्। उनको हर्कतका कारण बैठकको माहोल नै बिग्रियो। उपत्यकाको फोहोर व्यवस्थापनबारेको बैठकको वातावरण तनावपूर्ण बन्यो। सांसद तामाङलाई शान्त भएर बैठकमा बस्न सञ्चारमन्त्री तिमिल्सेनालगायतका सहभागीहरूले आग्रह गरे पनि उनी कसैको कुरा सुन्न तयार भइनन्। झोला बोकेर बाहिरिइन्। संसद् बैठकमा समेत आक्रोशित मुद्रामा देखिने गरेकी सांसद तामाङको व्यवहारप्रति सर्वत्र आलोचना भइरहेको छ।
सांसद तामाङ रन्थनिँदै बैठक छोडेकोमा मेयरहरूले सञ्चारमन्त्री तिमिल्सेनासँग चित्त दुखाएका थिए। ‘म ललितपुरको मेयर र उपत्यका मेयर फोरमको अध्यक्ष भएका नाताले र हाम्रो पनि ठूलो टाउको दुखाइ फोहोर व्यवस्थापन भएकाले यसको समाधानका लागि चारवटा मिटिङ क्यान्सिल गरेर आउँदै छु,’ मेयर महर्जनले भने, ‘अनि, उहाँ माननीयले हामीलाई गाली गर्न पाइन्छ ? हु द हेल, यस्तो पनि हुन्छ ? यस्तो हुँदैन।’ राज्यसत्तामा आफ्नो लामो अनुभव भएको उल्लेख गर्दै मेयर महर्जनले भने, ‘तपाईंहरूको पाँच वर्षको अनुभव, मेरो १० वर्षको अनुभव। उहाँ (सांसद तामाङ) ले जे बोल्नुभयो, त्यसलाई माफी।
तर एउटा कुरा मैले मन्त्रीज्यूलाई भन्न चाहेँ, यो बैठक तपाईंको सभापतित्वमा हुँदैछ। के हाम्रो मानमर्दन गरिपाऊँ भनेर आएका हौं ? प्लिज स्टप इट।’ यस्तो बैठक मर्यादित र संयमित हुनुपर्ने उनले बताए। ‘यस्तो बैठकमा सभापतित्व गर्नेले कन्ट्रोल गर्ने हिम्मत गर्नुपर्छ,’ उनले भने, ‘अर्को पटक बैठक हुँदा बैठक चाहिँ कन्ट्रोल गर्नुहोस् मन्त्रीज्यू।’ सांसद तामाङको व्यवहार र कार्यशैलीप्रति काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले पनि असन्तुष्टि जनाइन्। ‘बैठकमा आफ्नो भनाइ राख्ने र अर्को वक्ताले आफूले जस्तो बोलेन भने चित्त बुझेन भनेर ‘डिसरेस्पेक्ट’ गर्न पाइँदैन,’ डंगोलले भनिन्, ‘समस्याको समाधान खोज्नेतिर लाग्नुपर्छ। रिसाउने, चर्केर जाने, जथाभाबी बोल्ने गर्न पाइँदैन।’
बैठकमा ललितपुरका मेयर महर्जनले ‘माफी’ दिएको भनेर भाषण गरेको भन्दै सांसद तामाङले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन्। ‘मेयर चिरीबाबुज्यूले मलाई ‘माफ’ दिए रे ! मैले तपाईंसँग माफी मागेकै छैन,’ तामाङले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘आफ्नो ठाउँ सफा चिटिक्क पार्ने, फोहोर जति धादिङमा लगेर खन्याउने ! अनि तपाईंसँग माफी मैले लिनुपर्ने ? लाज, सरम भन्ने शब्द पनि होला नि ! बरु तपाईंहरूले यत्रो वर्षसम्म त्यहाँका जनतामाथि गर्नुभएको स्वच्छ सास फेर्ने अधिकार हनन् गर्नुभएकोमा ‘माफी’ माग्नुहोस् !’
बञ्चरेडाँडा भरिँदा समस्या
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बनाइएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट निर्माण भएको चार वर्ष नबित्दै भरिन थालेको छ। वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको स्थलमा हाल कुहिने, नकुहिने र पुन प्रयोग गर्न मिल्ने फोहोर नछुट्ट्याएर एकै ठाउँमा खन्याइँदा बञ्चरेडाँडा पनि सिसडोलकै बाटोमा पुग्न थालेको हो।
ल्यान्डफिल साइटमा फोहोरको मात्रा तीव्र रूपमा बढ्दै गएको छ। बञ्चरेडाँडा जाने २१ पालिकामध्ये काठमाडौं महानगरपालिकाको हिस्सामात्रै ४८ दशमलव ८ प्रतिशत छ। ललितपुर महानगरपालिकाको १० प्रतिशत र बूढानीलकण्ठ नगरपालिकाको ५ प्रतिशत हिस्सा रहेको विवरणमा उल्लेख छ। बाँकी फोहोर अन्य स्थानीय तहबाट बञ्चरेडाँडा पुग्ने गर्छ।
अर्थात् समस्या काठमाडौं महानगरको मात्रै होइन। उपत्यकाका अधिकांश स्थानीय तहले उत्पादन गरेको फोहोर अन्ततः एउटै ठाउँमा थुपारिँदा बञ्चरेडाँडामाथि चाप बढ्दै गएको छ। संविधान र कानुनले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिए पनि व्यवहारमा भने धेरै स्थानीय तह अझै साझा ल्यान्डफिल साइटमै निर्भर छन्।
सरकारले अब प्रत्येक पालिकाले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने दिशामा जानुपर्नेमा एकथरी विज्ञहरूले जोड दिएका छन्। सञ्चारमन्त्री तिमिल्सेनाले पनि फोहोर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहकै भएकाले स्थानीय तहले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने गरी अघि बढ्नुपर्ने बैठकमा बताए। संघीय सरकारले त्यसका लागि आवश्यक सहजीकरणमात्र गर्ने उनको भनाइ छ।
तर स्थानीय तहहरू आफैं भने जग्गा, प्रविधि, पुराना सम्झौता र कानुनी विवादलाई समस्या देखाइरहेका छन्। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले ‘फोहोर व्यवस्थापनको समस्या समाधान गर्न यसको जरामै पुग्नुपर्ने र स्रोतमै फोहोर व्यवस्थापन गर्नुपर्ने’ बताइन्। महानगरले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना आवश्यक रहेको स्वीकार गरेको छ।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले भने पुरानो नेपवेस्ट सम्झौता अझै कायम रहेकाले महानगरले आफ्नै ढंगले फोहोर व्यवस्थापन गर्न नसकेको बताएका छन्। उक्त सम्झौता टुंग्याउन सके स्थानीय तहलाई काम गर्न सहज हुने उनको धारणा छ। यहीँबाट बञ्चरेडाँडाको विवादको अर्को पाटो फोहोर व्यवस्थापनको जिम्मेवारी कसले लिने भन्नेमा सरकारी तहहरूबीच स्पष्टता भए पनि त्यसलाई कार्यान्वयनमा लैजाने पूर्वाधार र संयन्त्र अझै कमजोर छन्।
प्रतिक्रिया दिनुहोस !