प्रहरी घेरामा खुम्चिएको दुर्गाको दैनिकी
काठमाडौं : सखारै घरबाट निस्कने दुर्गाप्रसाद प्रसाईंको दैनिकी फेरिएको छ। कहिले चाँगुनारायण, कहिले डोलेश्वर त कहिले सूर्यविनायक आसपासमा पैदल हिँडिरहेका भेटिने उनी अचेल नजरबन्दमा छन्। यसको कारण हो– ‘सुरक्षा’।
दिउँसो मिटिङ भन्दै व्यक्तिगत सुरक्षाकर्मीसाथ बाहिर निस्कने प्रसाईं आफ्नै घरको घेराभित्र छन्। घरको गेटमा नेपाल प्रहरी तैनाथ छन्। घरवरिपरि पनि प्रहरीको चौबिसैघण्टा निगरानी रहेको उनको सचिवालयको दाबी छ। ‘भदौ १ गतेदेखि घरको गेटमा प्रहरी तैनाथ छन्,’ प्रसाईंको सचिवालयमा कार्यरत सन्दीप धिमाल भन्छन्, ‘घरवरिपरि चौबिसैघण्टा प्रहरी घुमेको घुम्यै हुन्छन्। यस्तो परिस्थितिमा दुर्गा सर कसरी बाहिर निस्कनु ?’
प्रसाईं मेडिकल व्यवसायी हुन्। उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक पनि हुन्। जिब्रोको क्यान्सरसँग जुधिरहेका उनी नियमित औषधि सेवन गर्छन्। नजिकबाट चिन्नेहरू उनलाई हठी स्वभावका व्यक्ति भएको बताउँछन्। उनी स्वयं पनि आफूलाई दबाब र प्रतिकूल परिस्थितिमा पछि नहट्ने व्यक्तिका रूपमा प्रस्तुत गर्छन्।
खानतलासी र पक्राउ भएको भयै
प्रसाईंका लागि प्रहरी निगरानी, घर खानतलासी र पटक–पटकको हिरासतको अनुभव नयाँ होइन। २०६२ मा भक्तपुरमा घर बनाएयता प्रसाईंको निवासमा पटक–पटक खानतलासी भएको छ। उनी पक्राउ पर्ने शृंखला पनि चलिरहेको छ। बिहीबार दिउँसो करिब ३ बजेदेखि साँझ ८ बजेसम्म उनको घरमा प्रहरीले खानतलासी गरेको सचिवालयका धिमाल बताउँछन्। ‘पाँच–छ घण्टा जति के पो गर्ने हुन् भन्ने भयो। आतंकित भइयो’, उनी भन्छन्।
धिमालका अनुसार प्रहरी घर खानतलासी गर्न आउँदा प्रसाईं स्वयं वा सचिवालयका सदस्यले भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकृतसँग घटनाबारे सोधपुछ गर्ने गरेका छन्। तर, उनीहरूले प्रायः एउटै जवाफ पाउने गरेका छन्, ‘दुर्गाजी, घरबाट बाहिर ननिस्कनुस्। पछि आफैं बुझिहाल्नुहुन्छ।’
त्यसपछि प्रसाईं र उनका सचिवालयका सदस्य झन् अन्योलमा पर्छन्। ‘के बुझ्ने हो ? कहिले बुझ्ने हो ? कसरी बुझ्ने हो ? ’ धिमाल हाँस्दै भन्छन्, ‘सीडीओ र प्रहरी अधिकृतको कुरा, भाषा र बोली नै बेग्लै हुन्छ। हामी सबै अलमलमा पर्ने गर्छौैं।’ घरमा प्रहरी तैनाथ गरिएको विषयमा भक्तपुर र काठमाडौंका विभिन्न प्रहरी निकायमा सम्पर्क गर्दा प्रहरी परिचालन नै नगरिएको जवाफ आउने गरेको पनि धिमालको दाबी छ। तर, प्रहरीका हबल्दार र जवान घरअघिको गेटमा उभिएर निगरानी गर्न नछोडेको उनी बताउँछन्।
बिहीबारको खानतलासीमा प्रहरी घरका कोठाचोटामा पुगे। प्रसाईं, उनका बडीगार्ड दीपक खड्का र रक्षा पौडेलका मोबाइल तथा ल्यापटप प्रहरीले लिएर गएको सचिवालयको दाबी छ। सीसीटीभी क्यामराको स्टोरेजसमेत प्रहरीले लगेको उनीहरू बताउँछन्। ‘प्रहरीले करिब पाँच घण्टा खानतलासी गर्दा दराज, बेड सबै भताभुंग नै पा¥यो,’ धिमाल भन्छन्, ‘घरको गेटबाहिर प्रहरी बसिरहँदा ठूलै अपराध गरेर भित्र बसिएको पो छ कि भन्ने महसुस हुँदो रहेछ।’
प्रहरी लजाउँछ, प्रसाईं हाँस्छन्
प्रसाईं र प्रहरीबीचको सम्बन्ध लामो समयदेखि टकरावपूर्ण रहँदै आएको छ। २०५७ सालमा माओवादी सशस्त्र गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनको खोजतलास गरेको थियो। सशस्त्र द्वन्द्वका क्रममा पनि उनले प्रहरीबाट यातना पाएको बताउँदै आएका छन्।
माओवादी शान्ति प्रक्रियामा आएर खुला राजनीतिमा प्रवेश गरेको केही वर्षपछि प्रसाईं नेकपा एमालेमा प्रवेश गरे। उनी एमालेको केन्द्रीय सदस्यसमेत भए। तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भक्तपुरस्थित आफ्नै निवासमा जुम्लाको मार्सी चामलको भात खुवाएपछि उनी राष्ट्रिय राजनीतिमा एकाएक चर्चाको केन्द्रमा आए। त्यसपछि उनको राजनीतिक यात्रा र अभिव्यक्तिहरू झन् विवाद र चर्चाको विषय बन्दै गए। मेडिकल कजेज सम्बन्धनको विषयलाई लिएर उनको र डा.गोविन्द केसीबीच चलेको सार्वजनिक वाकयुद्ध पनि लामो समय चर्चामा रह्यो।
प्रसाईं जे बोल्छन् वा जसरी प्रस्तुत हुन्छन्, त्यसले प्रायः सार्वजनिक बहस जन्माउँछ। चर्चा होस् वा दुर्नाम तर गुमनाम हुन नचाहने उनको स्वभावले उनलाई बारम्बार विवादित बनाइरहेको छ।
प्रहरीले पक्राउ गरेपछि उनका पक्षमा कानुन व्यवसायीहरू अदालत पुग्छन्। जिल्ला अदालतदेखि उच्च हुँदै सर्वोच्च अदालतसम्म उनको पक्षबाट मुद्दामा बहस–पैरवी हुँदै आएको छ। ‘उत्पीडनमा परेका सर्वहारा, भुइँमान्छेहरूको आवाज बोल्दा जहिल्यै पीडा खप्नुपर्ने त होइन होला नि ? ’ प्रसाईं भन्छन्, ‘कहिले घर खानतलासी त कहिले प्रहरी हिरासतमा पुग्नु परिरहेको छ।’पक्राउ गर्न आउने प्रहरीको व्यवहारलाई पनि उनी आफ्नै शैलीमा व्याख्या गर्छन्। ‘पक्राउ गर्न आउने प्रहरीहरू समेत हाँस्छन्। मलाई लाज लाग्छ। कहिले म हाँस्छु, प्रहरी नै लजाउँछन्,’ उनी भन्छन्।
क्यान्सरमाथि हिरासतको दुःख
प्रसाईंको राजनीतिक र व्यावसायिक जीवनसँगै उनको स्वास्थ्यको कथा पनि जोडिएको छ। उनी जिब्रोको क्यान्सरसँग लडिसकेका छन्। २०७२ सालमै क्यान्सरको आशंका देखिएको थियो। २०७३ सालमा परीक्षणपछि जिब्रोको क्यान्सर पुष्टि भयो। त्यही वर्ष भारतको मेदान्त अस्पतालमा उनको जिब्रोको शल्यक्रिया भयो।
क्यान्सरसँगको लडाइँपछि भने उनको मनमा एउटा अर्को योजना पलायो– नेपालमै क्यान्सरको उपचार गर्न सकिने अस्पताल बनाउने। त्यसको परिणामका रूपमा झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना भयो। अहिले पनि उनी नियमित औषधि सेवन गरिरहेका छन्। क्यान्सरबाट क्रमशः निको हुँदै गएको जिब्रो चलाउँदै उनी राजनीतिक अभिव्यक्ति र गतिविधिमा सक्रिय रहँदै आएका छन्। तर, पछिल्लो समय ती गतिविधि प्रहरी निगरानी र पक्राउको सिलसिलासँग गाँसिएको उनी स्वीकार्छन्।
- ८ कक्षा मात्र पढेको छु। क्यान्सरको बिरामी हुँ। औषधि सेवन गरिरहनुपर्छ। एमबीबीएस, एमडी, एमएस गरेका डाक्टरदेखि सर्वसाधारणसम्म गरी पाँच हजार जनालाई जागिर दिएको छु। मैले नपढेर के भयो र ? मेरा छोराछोरी र बुहारी डाक्टर छन्। क्यान्सर अस्पताल चलाएका छन्।
- प्रहरीहरू बिहीबार पक्राउ पुर्जीका लागि भक्तपुर जिल्ला अदालतमा गएका रहेछन्। पक्राउ पुर्जी नदिएपछि दुःख दिन घर आए। खानतलासी गरे। मेरो र स्टाफको समेत गरेर पाँचवटा मोबाइल, सीसी क्यामराको रेकर्डर र पढ्ने विद्यार्थीको कम्प्युटर लिए।
झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका संस्थापक सञ्चालक प्रसाईं अहिले अर्को व्यावसायिक परियोजनाका रूपमा फाइभ स्टार होटलसमेत निर्माण गरिरहेका छन्। आफ्ना व्यावसायिक जिम्मेवारी भने उनले छोरा, छोरी र बुहारीको जिम्मामा सुम्पिएको उनी बताउँछन्। ‘८ कक्षामात्र पढेको छु। क्यान्सरको बिरामी हुँ। औषधि सेवन गरिरहनुपर्छ,’ प्रसाईं भन्छन्, ‘एमबीबीएस, एमडी, एमएस गरेका डाक्टरदेखि सर्वसाधारणसम्म गरी पाँच हजार जनालाई जागिर दिएको छु। मैले नपढेर के भयो र ? मेरा छोराछोरी र बुहारी डाक्टर छन्। क्यान्सर अस्पताल चलाएका छन्।’
घरमा हुने खानतलासी र आफू पक्राउ पर्ने घटनाले परिवारलाई पनि दुःखी बनाउने गरेको उनी बताउँछन्। ‘घर खानतलासी गरिरहने र मलाई पक्राउ गरिरहेको देखेर छोराछोरी दुःख मान्छन्,’ प्रसाईं भन्छन्।
एकातिर क्यान्सरविरुद्धको लडाइँ, अर्कोतिर प्रहरीको निगरानी र पक्राउको सिलसिला। सार्वजनिक जीवनमा सधैं विवादको केन्द्रमा रहने प्रसाईंका लागि पछिल्लो समय राजनीतिक गतिविधिभन्दा आफ्नै घरको गेटबाहिर उभिएको प्रहरी बढी निर्णायक बनेको छ। बाहिर निस्कन खोज्दा सुरक्षा, घरमै बस्दा निगरानी र प्रहरी आएपछि खानतलासी। प्रसाईंको पछिल्लो दैनिकी यिनै तीन शब्दवरिपरि घुमिरहेको छ। चर्चा र विवादबाट कहिल्यै टाढा नरहेका उनी अहिले भने आफ्नै घरभित्र सीमित छन्।
‘प्रहरीहरू बिहीबार पक्राउ पुर्जीका लागि भक्तपुर जिल्ला अदालतमा गएका रहेछन्। पक्राउ पुर्जी नदिएपछि दुःख दिन घर आए। खानतलासी गरे। मेरो र स्टाफको समेत गरेर पाँचवटा मोबाइल, सीसी क्यामराको रेकर्डर र पढ्ने विद्यार्थीको कम्प्युटर लिए,’ प्रसाईंले अन्नपूर्णसँग भने, ‘असार २९ गतेदेखि लगातार प्रहरीले घरमा धर्ना दिइरहेको छ। यो त अत्ति भयो। मेरी श्रीमतीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छन्।’
‘ममाथि अनुसन्धान होइन, प्रतिशोध भइरहेको छ’
तपाईंले प्रहरीलाई दुःख दिइरहनुभएको हो कि प्रहरीले तपाईंलाई दुःख दिइरहेको छ ?
मैले के दुःख दिनु र ? प्रहरीले मलाई दुःख दिएको दियै छ। नजरबन्दमा राखेको छ।
अहिले पनि घरमै प्रहरीको निगरानी छ ?
छ नि। असार २९ गते बेलुकादेखि घरवरपर प्रहरीको निगरानी छ।
किन निगरानी भइरहेको छ ?
अहिले सडकको प्रतिपक्ष भनेको दुर्गा प्रसाईं हो। सरकारका विभिन्न गोप्य गतिविधि र कुराहरू बाहिर निकाल्ने म नै हुँ। त्यही भएर ममाथि निगरानी भइरहेको होला, सायद।
हिजो (बिहीबार) दिउँसो प्रहरीबाट घर खानतलासी भएको हो ?
दिउँसो ३ बजे अचानक प्रहरीहरू आए। जिल्ला प्रहरी परिसर भक्तपुरबाट आएका रहेछन्। झन्डै ३० वटा गाडीमा प्रहरी आए। सिधै आएर घर खानतलासी गरे। दिउँसो ३ बजेदेखि झन्डै ८ बजेसम्म खानतलासी गरे। राति साढे ८ बजेतिर निस्केका हुन्।
प्रहरीले के–के नियन्त्रणमा लिए ?
मेरो मोबाइल लगेका छन्। मेरा स्टाफका पाँच वटा मोबाइल लिएर गए। सीसी क्यामराको रेकर्डर र पढ्ने विद्यार्थीको कम्प्युटर पनि लिएर गए।
खानतलासी गर्नुअघि कुनै पत्र दिइएको थियो ?
सार्वजनिक शान्तिविरुद्धको कसुर, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पु¥याउने कसुर तथा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरको अनुसन्धानका क्रममा सम्बन्धित कुनै वस्तु वा सामग्री घर, कोठा वा शरीरमा लुकाइएको हुन सक्ने भन्दै खानतलासी गर्ने पत्र दिइएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम घर, कोठा तथा शरीर खानतलासी गर्न अनुमति मागिएको उल्लेख छ। उक्त पत्रमा भक्तपुर प्रहरी परिसरका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक स्वरूप शर्माको नाम छ।
तपाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध सदस्यहरूले सरकारी टोलीसँग सिंहदरबारमा वार्ता पनि गरेका थिए। वार्ता के भइरहेको छ ?
हिजो सिंहदरबारमा वार्ता भएको हो। सरकारले गठन गरेको चारजना सहसचिवसहितको टोलीसँग वार्ता भएको हो। हाम्रो वार्ता टोलीले दुर्गा प्रसाईंलाई पहिला प्रहरीको नजरबन्दबाट बाहिर राख्न माग ग¥यो। त्यसपछि वार्ता अघि बढ्न सकेन। अनि, दुःख दिनका लागि प्रहरी आएर मेरो घरमा खानतलासी गर्यो । खानतलासी गर्नुअघि पक्राउ पुर्जीका लागि भक्तपुर जिल्ला अदालतमा प्रहरी पुगेको समेत थाहा पाएको छु।
तपाईंमाथि अनुसन्धान भइरहेको रहेछ। खासमा कुरा के हो ?
ममाथि अनुसन्धान गर्नुपर्ने विषय केही पनि छैन। हिजो त मलाई खानतलासीका क्रममा प्रहरीले लागुऔषध वा हतियार राखेर फसाउने हो कि भन्ने डर लागेको थियो। स्टाफ लगाएर प्रहरीमाथि नै सर्च गर्न लगाएर खानतलासी गर्न दिएँ।
अनुसन्धान किन भइरहेको छ त ?
ममाथि अनुसन्धान होइन प्रतिशोध भइरहेको छ। ठूला दलहरूको बोली बिकेन। प्रतिपक्षीजस्तो म देखिएँ।
कसले प्रतिशोध लिइरहेको छ त ?
राष्ट्रका लागि बोलिरहेकाले प्रतिशोध लिइएको हो। गृहमन्त्री (सुधन गुरुङ)लाई मेरो अनुरोध छ,— मेरो घरमा सर्च गर्ने वा मलाई थुन्ने र दुःख दिनेभन्दा मैले लगाएका आरोपहरू गलत हुन् भनेर प्रमाणित गरेर देखाइदिनुहोस्।
प्रहरीले तपाईंलाई किन पटक–पटक पक्राउ गर्छ, अदालतले फेरि रिहा गर्छ। यस्तो किन भइरहेको छ ?
सर्वहारा भुइँमान्छे र उत्पीडित वर्गको विषयमा कुरा उठाउँदा खानतलासी र पक्राउको पीडा भोगिरहनुपर्ने हो त ?
पक्राउ पनि हुने र रिहा पनि भइरहने जस्ता घटनाक्रमले कस्तो महसुस भइरहेको छ ?
माथिको आदेश भन्दै प्रहरी पक्राउ गर्न आइरहन्छन्। कहिले बिहान, कहिले दिउँसो त कहिले राति आउँछन्। प्रहरीहरू लजाउँदै पक्राउ गर्न आउँछन्। प्रहरीलाई देख्दा कहिले म हाँस्छु, प्रहरी लजाउँछन्। कहिले प्रहरी हाँस्छन्, म लजाउँछु। मुद्दा अघि बढ्छ। अदालतले मलाई छाड्छ। नेपालको इतिहासमा धेरै पटक बन्दीप्रत्यक्षीकरण रिटबाट छुट्ने व्यक्ति म नै हुँला, सायद।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?
क्यान्सरको बिरामी हुँ। जिब्रो र घाँटीको क्यान्सर भएको छ। औषधि नियमित खाइरहनुपर्छ। साउन २५ गतेदेखि त ज्वरो पनि आइरहेको छ। अलि–अलि खोकी पनि लागिरहेको छ।
आफूमाथिको निगरानीविरुद्ध कतै परामर्श गर्नुभएको छ ?
कानुन व्यवसायीसँग परामर्श गरेको छु। मलाई घरबाट बाहिर निस्कन मिलेको छैन। श्रीमतीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छिन्। राष्ट्रिय मानव अधिकार आयोगमा पनि पत्र पठाउने तयारी गरेका छौं।
प्रतिक्रिया दिनुहोस !