नेपाली महिला टोली च्याम्पियन
साउदी अरेबिया : नेपाली महिला भलिबल टोलीले कतारमा आयोजित डब्लूएसआईएफ महिला भलिबल प्रतियोगिता–२०२६ को उपाधि जित्दै नेपाली खेलकुद क्षेत्रमै गौरवपूर्ण सफलता हासिल गरेको छ। कामदार सहयोग तथा बीमा कोषको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।
प्रतियोगिताको फाइनलमा नेपाली टोलीले फिलिपिन्सको ‘बी’ टोलीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो। उपाधि यात्रामा नेपाली टोलीले सेमिफाइनलमा फिलिपिन्सको ‘ए’ टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसपछि फाइनलमा पनि बलियो प्रतिस्पर्धाकाबीच फिलिपिन्सको ‘बी’ टोलीलाई पराजित गर्दै नेपाली खेलाडीहरूले उपाधि हात पारेका हुन्।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई पाँच हजार कतारी रियाल पुरस्कार प्रदान गरिएको थियो। यस्तै नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट पोसाकका लागि थप दुई हजार कतारी रियाल पुरस्कारसमेत पाएको थियो।
कामदार सहयोग तथा बीमा कोषले कतारमा कार्यरत कामदारहरूको हित, अधिकार, सुरक्षित कार्य वातावरण तथा सामाजिक कल्याणसँग सम्बन्धित गतिविधिमा काम गर्दै आएको छ। कोष कतार सरकारअन्तर्गतको निकाय हो। सन् २०१८ को कानुन नम्बर १७ अन्तर्गत स्थापना गरिएको हो।
यस प्रतियोगितामा नेपाली महिला खेलाडीहरूले देखाएको प्रदर्शनले प्रवासमा रहेका नेपाली महिलाहरूको खेलकुद प्रतिभालाईसमेत उजागर गरेको छ। सीमित स्रोत र व्यस्त दैनिकीका बीच अभ्यास तथा तयारी गर्दै प्रतियोगितामा सहभागी भएका खेलाडीहरूले उत्कृष्ट समन्वय, अनुशासन र टिम भावना प्रस्तुत गर्दै उपाधि जित्न सफल भएकोमा सबैतिरबाट बधाईपाइरहेका छन्।
नेपाली टोलीको यो सफलता केवल एउटा भलिबल प्रतियोगिताको उपाधि मात्र नभई प्रवासमा रहेका नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सामूहिक एकताको प्रतीकका रूपमासमेत हेरिएको छ।
प्रतिक्रिया दिनुहोस !