देउवा–गगन संवादको प्रयास
काठमाडौं : पार्टी सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा कांग्रेसको आन्तरिक विवाद संवादबाटै समाधान खोज्न सकारात्मक देखिएका छन्। सभापति थापाले निवर्तमान सभापति देउवालाई १५औं महाधिवेशनमा पूर्वसभापतिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरेर कुरा सुन्न चाहेको बताएका छन्। देउवाले पनि पार्टी एकताका लागि थापासँग छलफल गर्न आफू तयार रहेको संकेत दिएका छन्।
सभापति थापाले केन्द्रीय समिति बैठक समापनका क्रममा देउवाप्रति लामो गुनासो राख्दै विगतमा उनलाई नजिकका नेताहरूले गलत सूचना दिएर पटक–पटक अल्मल्याएको दाबी गरे। देउवाले सम्पर्क कार्यालयमा ‘सभापति’ लेखिएको नेमप्लेट राखेको प्रसंगसमेत उठाउँदै थापाले आफूलाई नरमाइलो लागेको बताए। ‘जसले यसो नगर्नु दाइ भनेर भन्यो, ती सबै तपाईंलाई पराई लागे,’ थापाले भने, ‘जसले वरिपरि बसेर धुप बाले, ती आफ्ना लागे। आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्।’
थापाले आफू र उपसभापति विश्वप्रकाश शर्माले संकटका विभिन्न चरणमा देउवासँग संवाद गरेको स्मरण गर्दै पार्टीभित्रका केही नेताले देउवालाई पटक–पटक भ्रममा पारेको आरोप लगाए। देउवालाई आफ्नो कमजोरी वा अप्ठ्यारो लुकाउने ढाल बन्न नदिन पनि उनले आग्रह गरे।
आगामी असोज १६ गतेदेखि हुने भनिएको १५औं महाधिवेशनमा देउवालाई निवर्तमान सभापतिको हैसियतमा अतिथिका रूपमा आमन्त्रण गर्न आफूहरू इच्छुक रहेको थापाले बताए। ‘तपाईंका कुरा सुन्न चाहन्छौं, तपाईंको शुभेच्छा लिन चाहन्छौं, तपाईंको मार्गदर्शन लिन चाहन्छौं,’ थापाले भने।
संवादका लागि देउवा पनि सकारात्मक
पार्टी एकताको प्रयासमा सक्रिय कांग्रेसका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले आइतबार देउवासँग भेट गरी थापा र देउवाबीच संवाद आवश्यक रहेको बताए। त्यसअघि उनले सभापति थापासँग भेटेर पार्टी एकताका लागि तीन विकल्प अघि सारेका थिए।
महरका अनुसार पहिलो विकल्प– थापा र देउवामध्ये एक जनाले १५औं महाधिवेशनको नेतृत्व गर्ने विषयमा सहमति खोज्ने, दोस्रो विकल्प हो– दुवै नेताले नेतृत्वको दाबी छाडेर तेस्रो व्यक्तिको नेतृत्वमा निष्पक्ष महाधिवेशन गर्ने र तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकतासम्बन्धी आउने अन्तिम फैसला दुवै पक्षले स्वीकार गर्ने।
महरले भेटमा दुवै नेताबीच सहमति नजुटे पार्टी विभाजनको जोखिम बढ्ने भन्दै संवादलाई प्राथमिकता दिन आग्रह गरेका थिए। देउवाले भने अदालतको निर्णय आएपछि थप प्रक्रिया अघि बढाउने धारणा राखेका छन्। महरसँगको भेटमा उनले आफू संवादको विपक्षमा नरहेको र पार्टीभित्र मिलाउने प्रयास गरिरहेको बताएका थिए। देउवाले र नेता कर्ण मल्लसँगको भेटमा पनि पार्टी एकताका लागि गगनसँग संवाद गर्ने बताएका थिए। आइतबार बिहान देउवा निवासमा भएको भेटमा डँडेलधुराका कांग्रेसका पूर्वसभापति मल्लले देउवालाई पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
मल्लका अनुसार देउवा त्यसप्रति सकारात्मक देखिएका छन्। ‘सबैलाई मिलाएर पार्टीको १५औं महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवारी निर्वाह गर्न मैले आग्रह गरें,’ मल्लले भने,‘ शेरबहादुर दाईले गगनसँग म पार्टी एकताका विषयमा छलफल गर्छु भन्नु भएको छ।’ उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे बुझ्न आफू निवास पुगेको मल्लले बताए। ‘उहाँसँग मेरो राजनीतिक सम्बन्धविच्छेद भएको थियो। स्वास्थ्य अवस्था बुझ्नका लागि भेट्न गएको थिएँ,’ मल्लले भने, ‘स्वास्थ्य ठीक भएको पाएँ। दाइ पहिला बीचको समयभन्दा स्वस्थ देखिनुभएको छ।’
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले यसअघि भएको फैसलामाथि पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्ष अन्तिम निर्णयको पर्खाइमा छ।
यसबीच देउवा पक्षले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने तयारीसमेत गरिरहेको छ। त्यसैले सर्वोच्चको फैसला र महाधिवेशन रोक्न माग गरिएको रिटमा आउने आदेशले कांग्रेसभित्रको आगामी राजनीतिक समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ।
विश्वप्रकाशको जोड : अदालतभन्दा पार्टी कार्यालयमा संवाद गरौं
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने पार्टीभित्रको विवाद अदालतबाट भन्दा पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गरेका छन्। उनले भने, ‘राजनीतिक दलभित्रका असहमति र विवाद पार्टीभित्रै छलफल गरेर टुंग्याउनुपर्छ। त्यसको लागि पार्टी कार्यालय छ।’ इतर पक्ष सर्वोच्च अदालत गएको विषयलाई भने सर्वोच्च जाने अधिकार भने कसैले निरुत्साहित गर्न नहुने उनको भनाइ थियो।
शर्माले कांग्रेसको विधानअनुसार महाधिवेशनको समयसीमाबारे पनि प्रश्न उठाउँदै निर्धारित समयमा महाधिवेशन प्रक्रिया अघि बढ्न नसके पार्टीको वैधानिकतामाथि गम्भीर प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन्। यी सबैबीच कांग्रेसभित्र अहिलेको विवादको केन्द्रमा १५औं महाधिवेशन छ। सभापति थापा पक्षले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन अघि बढाउन खोजिरहेको छ भने देउवा पक्ष अदालतको निर्णय र पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगिएपछि मात्र अघि बढ्नुपर्ने पक्षमा देखिएको छ।
यसअघि विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए। उक्त विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र दुई धारबीचको विवाद झन् गहिरिएको थियो।
तर पछिल्लो समय थापा स्वयंले देउवासँग संवादको आवश्यकता स्वीकार गर्नु, महरले दुवै पक्षबीच सहमतिको पहल गर्नु र देउवा पनि संवादका लागि सकारात्मक देखिनुले कांग्रेसभित्र सहमतिको सम्भावना पुनः चर्चामा आएको छ। अब कांग्रेसको संकट समाधानमा गगन–देउवा प्रत्यक्ष संवाद, सर्वोच्च अदालतको फैसला र १५औं महाधिवेशनको प्रक्रिया तीनवटै पक्ष निर्णायक बन्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस !