प्रहरीले नै भिडियो लिक गरेपछि...

प्रहरीले नै भिडियो लिक गरेपछि...

सिमरा : तीन वर्षीया बालिका हत्या प्रकरणमा पक्राउ परेका एक १६ वर्षीय बालकको सनसनीपूर्ण भिडियो सामाजिक सञ्जालमा आइतबार रातिदेखि आगोझैं फैलियो। तीन वर्षीया अबोध बालिकामाथि भएको जघन्य अपराधको घटनाले देशभर तातेको सडक सेलाउन नपाउँदै बाहिरिएको उक्त भिडियोले सामाजिक सञ्जाल नतात्ने कुरै भएन।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भिडियोले सनसनी मच्चायो। उक्त भिडियो प्रादेशिक अस्पताल कलैयाको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कक्षको थियो। लैंगिक हिंसासम्बन्धी घटनामा प्रहरीले पीडित र पीडकसँग स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि ओसीएमसी गर्ने गरेको छ। ओसीएमसीपछि चिकित्सकले दिएको रिपोर्टलाई समेत आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाउँछ।

अत्यन्तै गम्भीर र संवेदनशील मुद्दा, नाबालकको गोपनीयताजस्ता विषय एकैपटक आकर्षित भएपछि बारा प्रहरीले निकै तनाव झेल्नुप¥यो। भिडियो देशभर फैलिएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न मात्रै उठेन, अनुसन्धानमाथि नै शंका गरेर टीकाटिप्पणी हुन थाल्यो। ८ मिनेट २५ सेकेन्डको उक्त भिडियोमा एक बालक, प्रहरी र अस्पतालका कर्मचारी देखिएका छन्। 

हातमा हतकडी लगाएका बालक निर्धक्कका साथ बालिकामाथि गरेको अपराधलाई स्वीकार गरिरहेका छन् भने नजिकै बसेका प्रहरी र अस्पतालका कर्मचारीले भिडियो खिचिरहेका छन्। भिडियोमा बालकले घटनामा आफूमात्र नभई अर्का एक साथी पनि संलग्न रहेको खुलासा गरिरहेको देखिन्छ।

अति नै गोप्य र महत्वपूर्ण विषय भिडियोको माध्यमबाट छताछुल्ल भइरहँदा प्रहरी नेतृत्वलाई तनाव नहुने कुरै भएन। प्रहरी प्रधान कार्यालयले समेत भिडियो सार्वजनिक भएको विषयलाई निकै चासो र गम्भीरताका साथ लियो। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले सोमबार बिहानैदेखि भिडियो सार्वजनिक भएको विषयमा छानबिन थाले। केहीबेरमै भिडियो अन्यबाट नभई संगठनभित्रकै एक प्रहरी कर्मचारीबाट बाहिरिएको पुष्टि भयो।

ती कर्मचारी थिए जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हबल्दार कुमार विक। विकले भदौ २ गते मंगलबार राति खिचिएको उक्त भिडियो आइतबार साँझ करिब ५ बजे आफ्नो साथीलाई पठाएका थिए। उनले पठाएको केहीबेरमै उक्त भिडियो सामाजिक सञ्जालमा आयो र रातभरमै देशभर फैलियो। बारा प्रहरीले भिडियो ‘लिक’ गर्ने प्रहरी हबल्दारलाई नियन्त्रणमा लिई कारबाही थालेको छ। 

नहुनुपर्ने घटना भयो, हामीले भिडियो लिक गर्ने ती प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर फौजदारी कसुरमा कारबाही थालेका छौं। भिडियोमा देखिएका अन्य प्रहरीको मोबाइल जफत गरी जाँच भइरहेको छ; भिडियो बाहिर पठाएको पुष्टि भए फौजदारी र नभए विभागीय कारबाही हुन्छ।
नरेन्द्र कुँवर, प्रहरी उपरीक्षक, जिप्रका बारा

उनीमाथि फौजदारी कसुरमा कारबाही हुने प्रहरी उपरीक्षक कुँवरले जानकारी दिएका छन्। ‘नहुनुपर्ने घटना भयो, हामीले ती प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर कारबाही थालेका छौं,’ कुँवरले भने।

भिडियोमा देखिएका अन्य प्रहरी कर्मचारीलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ। बालकलाई लिएर स्वास्थ्य परीक्षणमा गएका प्रहरी कमान्डरसहित अन्य प्रहरीको मोबाइल जफत गरी भिडियो बाहिरिएको छ वा छैन भन्ने विषयमा जाँच गर्ने र भिडियो बाहिरिएको पुष्टि भएमा फौजदारी कसुरमै कारबाही गरिने कुँवरको भनाइ छ। भिडियो बाहिरिएको पुष्टि नभए पनि ती प्रहरी कर्मचारीलाई विभागीय कारबाही भने गरिने प्रहरी उपरीक्षक 
कुँवरले बताए।

कुँवरले उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने सबैलाई अनुसन्धानको दायरामा ल्याइने बताए। ‘उक्त भिडियोलाई सामग्री बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने जोकोही पनि अनुसन्धानको दायरामा आउनुहुनेछ,’ कुँवरले भने, ‘प्रहरीले सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्छ।’

भिडियो सामाजिक सञ्जालबाट ‘टेकडाउन’ गर्नका लागि साइबर ब्युरोसँग समन्वय भइरहेको बताए। कुँवरले त्यस्ता सामग्री यथाशीघ्र हटाउन अनुरोधसमेत गरेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले उक्त भिडियोहरू हटाउनका लागि काम सुरु गरिसकेको छ। साउन ३१ गते जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया गरिमाको बलात्कारपछि हत्या गरिएको अवस्थामा मंगलबार शव फेला परेको थियो। प्रहरीले सोही घटनाको अनुसन्धानमा जितपुरसिमरा–१ का प्रोग्रेस चौधरी र १६ वर्षीय ती बालकलाई पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीद्वारा पक्राउ परेलगत्तै बालकले गरिमालाई आफूले बलात्कार गरी हत्या गरेको बयान दिएका थिए।

तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले अर्का साथी पनि संलग्न रहेको दाबी गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान गर्न हालसम्म ९ जनालाई नियन्त्रणमा लिइसकेको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.