तीन महिनादेखि वेपत्ता रहेकी बालिका सकुशल फेला
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ बाट विगत तीन महिनादेखि बेखबर रहेकी ११ वर्षीया एक बालिका वीरगन्जमा सुरक्षित अवस्थामा भेटिएकी छिन्। वीरगन्जस्थित एक परोपकारी संस्थाको संरक्षणमा रहेकी उनलाई मंगलबार परिवारको सम्पर्कमा ल्याइएको हो।
बालिकाकी आमा गुलाप्सा खातुनले मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय सिमरामा छोरीको खोजतलासका लागि निवेदन दिएकी थिइन्। निवेदन परेलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सरोज निरौला र ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टसहितको सुरक्षा टोली बालिकाको घरमै पुगेर वस्तुस्थिति बुझेको थियो।
सुरक्षा निकायको टोलीले खोजी अघि बढाएपछि निवेदन परेको केही घण्टामै बालिका वीरगन्जको एक संस्थाको संरक्षणमा रहेको खुलेको थियो। खबर प्राप्त हुनासाथ आमा गुलाप्सा खातुनले संस्थामा पुगेर छोरीलाई भेटेकी छिन्।
प्रहरीका अनुसार तीन महिनाअघि घरबाट निस्किएकी ती बालिका त्यसयता परिवारको सम्पर्कमा थिइनन्। बालिका यसअघि पनि पटकपटक घरबाट निस्किने गरेको र प्रहरीले खोजी गरी परिवारको जिम्मा लगाउने गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस !