बालअपराधको मनोविज्ञानले थपिएको चिन्ता

बालअपराधको मनोविज्ञानले थपिएको चिन्ता
सुन्नुहोस्

बाराकी तीन वर्षीया बालिकामाथि भएको अपराधसँगै दुई पाटा उजागर भएका छन्। पहिलो त सानी नानीमाथि यहाँ उल्लेख पनि गर्न लायक नहुने निष्क्रिट अपराध। दोस्रो, ‘अपराध’मा नाबालकको संलग्नता। नानीहरूको सुरक्षाको विषय र नानीबाबुहरूको ‘अपराध’ उन्मुख मनोविज्ञानले नेपाली समाजलाई नै ठूलो चुनौती दिएको छ। साना बालबालिकाले अपराध गर्दैनन्, गल्ती कमजोरी हुनसक्छ भन्ने एउटा दार्शनिक मान्यता छ। किन पनि भने बालबालिकाहरूमा के गर्दा के हुन्छ भन्ने परिपक्वता विकास भइसकेको हुँदैन। सोही मान्यताअनुसारै १० वर्षमुनिका बालबालिकाले कसुरजन्य कार्य गर्दा सजाय दिइन्न।  

१८ वर्षमुनिकालाई हुने सजायभन्दा सुधारको बाटो अपनाइन्छ। त्यसका लागि बालबालिका ऐन २०७५ ले नै व्यवस्था गरेको छ। यहाँ मूलभूत प्रश्न चाहिँ बालबालिकामा ‘अपराध’ को मनोविज्ञान किन हुन्छ र हुन थाल्यो भन्ने हो। हालै बारामा भएको मधेस प्रदेशलाई मात्रै आधार मान्ने हो भने सन् २०२५ मा मधेसमा १०१ बालिका बलात्कारमा परेका छन्। थुप्रैमा १८ वर्षभन्दा कम उमेरकाहरूको संलग्नता पनि देखिएको छ।

बालबालिका स्वभावैले ‘अपराधी’ हुँदैनन्। उनीहरूलाई ‘अपराधी’ बनाइन्छ। संगतले, पारिवारिक पृष्ठभूमिले र कुलतले बिगार्छ। अर्थात समाजले नै कसैलाई कानुनी विवादमा पार्छ, धकेल्छ। यसबारे नेपालीमै चर्चित नाटक छ विजय मल्लको ‘कोही किन बर्बाद होस्’। एउटा बालक पारिवारिक पृष्ठभूमिका कारण असामान्य गतिविधि गर्छ, तर माया र ममताले ऊ सामान्य बन्छ। मधेसका कतिपय घटनामा संलग्नहरूमध्येको पारिवारिक पृष्ठभूमि त्यस्तै देखिएको अध्ययनले बताउँछ। परिवारमा कल, झगडा देखेका वा आफैंले हिंसा भोगेका एवं पारिवारिक संरक्षण नपाएकाहरू कानुनी विवादमा पर्ने गरेका छन्। मधेसकै हकमा भारतसँगको खुला सीमाबाट भित्रिने लागुऔषधको कुलत पनि अर्को कारण देखिन्छ। अचेल त झन् हातहातमा मोबाइल हुने र त्यहाँबाट खराब कुरा सिक्ने खतरा पनि छ। यस्तै भएर त थुप्रै देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन बनाइसके। हाम्रोमा भने कुनै सुरसार छैन। बढ्दो आपराधिक बालमनोविज्ञानका खातिर र अरु थुप्रै कारण पनि सामाजिक सञ्जालमा बालबालिकाको पहुँच त नेपालमा पनि नरोकी भएको छैन। 

यसमा जति ढिलाइ गर्‍यो, उति हानि हुँदै जान्छ। बालबालिकाहरूको उचित हेरचाह र संरक्षण नै उनीहरूलाई सुयोग्य नागरिकका रूपमा हुर्काउने काइदा हो। त्यसका लागि अभिभावक, इष्टमित्र र सिंगो समाजले वातावरण बनाउनुपर्छ। अभिभावकविहीन बालबालिकालाई राज्य वा गैरसरकारी तवरबाट उस्तै वात्सल्य दिन जरुरी छ। विकसित देशहरूमा अभिभावकबाटै उचित वातावरण नभए राज्यले बालिबालिका आफ्नो संरक्षणमा लैजान्छ। कतिपय नेपालीहरू स्वयं विदेशमा त्यस्ता घटनाक्रमका भुक्तभोगी छन्। हामीकहाँ ठूलाठूला पूर्वाधार र समृद्धिका नारा प्राथमिकतामा हुन्छन् तर देशको भविष्य अर्थात् बालबालिकाका संवेदनशील मुद्दा र सबाल सम्बोधनमा कत्ति ध्यान छैन। मात्र बालसुधार गृह बनाइएको छ, तर त्यहीं अपराध मौलाएको छ। 

बालबालिकालाई घरमै, परिवारमै हुर्काउने, उचित शिक्षादीक्षाको प्रबन्ध गर्ने पहिलो प्राथमिकता हुनुपर्छ। बेघरलाई राज्य अभिभावक बन्नुपर्छ। अनि कथम् कानुनी विवादमा परे भने अहिलेको जस्तै कथित बालसुधारगृहबाट हुँदैन। पूरै सकारात्मक ऊर्जा दिने, प्रतिभा निखार्ने अनि असल, कुशल नागरिक बन्ने वातावरण सुनिश्चित गरिनुपर्छ। सबाल मधेसका प्रतिनिधि घटनाहरूको मात्रै होइन, देशभरकै बालबालिकालाई घरपरिवारदेखि विद्यालय हुँदै समाजसम्म उचित वातावरण दिन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.