पाकिस्तानको सरकारी अस्पतालमा आगलागी हुँदा १४ नवजात शिशुको मृत्यु
इस्लामाबाद : पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी अस्पताल ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ (पिम्स) को बाल वार्डमा आगलागी हुँदा १४ जना नवजात शिशुको मृत्यु भएको छ। अस्पतालका कार्यकारी निर्देशक इमरान सिकन्दरले शिशुहरूको मृत्यु भएको पुष्टि गरेका छन्।
इस्लामाबाद जिल्ला प्रशासनका अनुसार आगलागी अस्पतालको ‘एमसिएच’ वार्डको तेस्रो तल्लामा भएको हो। घटनाको जानकारी पाउनासाथ उद्धार टोली घटनास्थलमा पुगेको थियो।
सञ्चारमाध्यमहरुका अनुसार आगलागीलाई तुरुन्तै नियन्त्रणमा लिएर बालबालिकाहरूलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको प्रशासनले जनाएको छ। घटनाको अनुसन्धानका लागि अतिरिक्त डेपुटी कमिसनर जनरलको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ। उक्त समितिले आगलागीको कारणबारे अध्ययन गर्नेछ।
यसअघि अस्पतालकी प्रवक्ता डा. अनिला जलिलले कुनै पनि शिशुको मृत्युको पुष्टि भइनसकेको बताएकी थिइन्। उनका अनुसार एयर कन्डिसनर (एसी) युनिटबाट सल्किएको आगो अक्सिजन सिलिन्डररलाइनका कारण तीव्र गतिमा फैलिएको थियो। दुर्घटनाका बेला वार्डमा १५ जना शिशु भर्ना थिए।
घटनालगत्तै मुख्य आयुक्त तथा इस्लामाबाद प्रहरी प्रमुख घटनास्थल पुगेका थिए।
प्रतिक्रिया दिनुहोस !