नेपालतर्फ हिमपहिरो गएपछि चिनियाँ राष्ट्रपति भन्छन्: राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू
काठमाडौं : नेपाल र चीनको सीमावर्ती क्षेत्रको नेपालतर्फ हिमपहिरो गएपछि आएको विनाशकारी बाढीले दुवै देशमा ठूलो जनधनको क्षति भएकाे छ ।
दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ सीमा नाकाको नेपालतर्फ हिमपहिरोपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले राज्यका सम्पूर्ण संयन्त्रलाई पूर्ण क्षमतामा उद्धार र राहत कार्यमा खटिन कडा निर्देशन दिएका छन्। हिमपहिरोको कारण तिब्बत क्षेत्रमा क्षति पुगेको छ।
उनले बेपत्ताहरूको तीव्र खोजी, घाइतेहरूको तत्काल उपचार र थप क्षति हुन नदिन पूर्वसावधानीका उपायहरू अपनाउन जोड दिएका छन्। राष्ट्रपति सीको निर्देशनसँगै चिनियाँ उद्धार टोली र सुरक्षा निकायहरू प्राविधिक उपकरणसहित प्रभावित क्षेत्रमा खटिएका छन्।
उता तिब्बतबाट हिमपहिरोसहित सुरु भएको बाढी रसुवास्थित भोटेकोशी नदी हुँदै तलतिर बग्दा नेपालतर्फसमेत व्यापक भौतिक तथा मानवीय क्षति भएको छ। बुधबार बिहान करिब ९ बजे अचानक आएको बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्रमा रहेका सवारी साधन, सरकारी भवन, जलविद्युत् आयोजना र स्थानीयवासीका घरहरू बगाएको छ।
बाढीका कारण नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासका क्षेत्र प्रभावित भएका छन्। हालसम्म प्राप्त विवरण अनुसार ९ जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिएका छन्।
नेपाल प्रहरीका अनुसार धादिङको बैरेनीमा एक,गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेका हुन्। त्यसैगरी नुवाकोटमा चार र रसुवामा एक पुरुषको शव फेला परेको छ ।
नुवाकोटमा फेला परेका शवमध्ये एक महिला र तीन पुरुषको पहिचान भएको छ। धादिङमा एक महिला, दुई पुरुष र पहिचान नखुलेकाे एक जनाको शव फेला परेको छ। बाढीमा फसेका १५ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !