उच्च तापक्रम र ‘आइस एभिलेन्स’ हुन सक्छ कारक

टिप्पणी

उच्च तापक्रम र ‘आइस एभिलेन्स’ हुन सक्छ कारक

उत्तरी सीमावर्ती क्षेत्र रसुवामा हालै आएको विनाशकारी बाढीले फेरि एकपटक सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। यस बाढीले धेरै नागरिकका खुसी र सपनाहरू एकैछिनमा खोसेको छ। हिमाल तथा हिमनदीहरूको अध्ययनमा संलग्न एक विज्ञको नाताले यस घटनाको गहिराइ, यसका पछाडिका सम्भावित प्राविधिक कारणहरू र हाम्रा चुनौतीहरूबारे स्पष्ट दृष्टिकोण राख्नु म आफ्नो दायित्व ठान्दछु। 

रसुवागढी क्षेत्रमा आएको यो ठूलो बाढीको वास्तविक र अन्तिम कारण अहिलेसम्म ठोकुवा गरेर भन्न सक्ने अवस्था छैन। यद्यपि बाढीको प्रकृति र प्रारम्भिक विवरणहरूलाई विश्लेषण गर्दा तीनवटा मुख्य कारणहरू अगाडि आउँछन्। पहिलो कारणका रूपमा बरफको ढिक्का खसेर नदी थुनिनुलाई लिन सकिन्छ। प्राप्त विवरणअनुसार नेपालतर्फ रहेको भिरालो हिमनदीबाट ‘आइस एभिलेन्स’ अर्थात् ठूलो बरफको ढिक्का खसेर लेन्दे नदी थुनियो। त्यहाँ केही समय ठूलो अस्थायी ताल बन्यो र पछि त्यो फुटेर अचानक तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आयो। बाढीको समग्र प्रकृति हेर्दा नदी थुनिएर पछि विस्फोट भएको हुनसक्ने सम्भावना बढी देखिन्छ। दोस्रो मुख्य कारण जलवायु परिवर्तन र तापक्रम वृद्धि हो। अहिले पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। तापमान वृद्धिकै कारण हिमनदीहरूका ठूला–ठूला बरफका ढिक्काहरू वा सिंगो हिमनदी नै टुक्रिएर तल खस्ने जोखिम बढेको छ। 

यदि यो हिमपहिरोका कारण बाढी आएको हो भने यो पूर्णरूपमा जलवायु परिवर्तनको असरसँग जोडिन्छ। तेस्रो कारणका रूपमा तिब्बत क्षेत्रको भूकम्पलाई हेर्न सकिन्छ। त्यही समयमा तिब्बतपट्टिको जलाधार क्षेत्रमा भूकम्प गएको विवरण आएको छ। भूकम्पको धक्काले हिमनदीलाई टुक्र्याएर हिमपहिरो निम्त्याएको हो कि भन्ने विषयमा पनि गहन अनुसन्धान आवश्यक छ।

यहाँ स्मरण के गराउनुपर्छ भने, सन् २०२५ को जुलाई ८ मा पनि यही पुरेपु हिमनदीभित्रका हिमपोखरीहरू फुटेर बाढी आएको थियो। तर, यसपटकको बाढी त्योभन्दा कैयौं गुणा ठूलो भएकाले यसको प्रकृति र स्रोत विगतको भन्दा फरक छ।

अनुसन्धान र प्राविधिक सीमाहरू

धेरैलाई लाग्न सक्छ—प्रविधिको युगमा कारण तुरुन्तै किन पत्ता लाग्दैन ?   स्याटेलाइट (भू–उपग्रह) तस्बिरबाट हेर्न सकिन्छ। तर, वास्तविकता के हो भने उपग्रह तस्बिर प्राप्त हुन कम्तीमा २४ घण्टा लाग्छ। त्यसमा पनि मनसुनको समयमा हिमाली क्षेत्रमा बाक्लो बादल लाग्ने भएकाले तस्बिरहरू प्रष्ट देखिँदैनन्। बाढी आउनुअघि र बाढी आएपछिका तस्बिरहरू आपसमा दाँजेर अध्ययन गरेपछि मात्र हिमपहिरो वा हिमताल फुटेको आधिकारिक पुष्टि गर्न सकिन्छ।

यसका लागि हामीले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरू तथा चीनका छेङ्दुमा रहेका प्राध्यापक र अनुसन्धानकर्ताहरूसँग सहकार्य गरेर तस्बिरहरू र तथ्यांक विश्लेषण गरिरहेका छौं।

हाम्रा जोखिम र चुनौतीहरू

नेपालका पूर्वदेखि पश्चिमसम्मका हिमाली क्षेत्रहरू, विशेष गरी तिब्बतबाट बगेर आउने नदीहरू जस्तै दूधकोशी, तामाकोशी, र भोटेकोशी जलाधार क्षेत्रहरू अति नै उच्च जोखिममा छन्। तातोपानी तथा कोदारी माथिको न्यालम क्षेत्रमा पनि ठूला हिमताल र हिमपोखरीहरू छन्, जहाँ यस्ता घटना जुनसुकै बेला दोहोरिन सक्छन्। हामी हिमताल विस्फोटको मात्र नभई हिमपहिरो गएर नदी थुनिने र विस्फोट हुने जस्ता अनेकौं अनपेक्षित प्राकृतिक जोखिमको घेरामा छौं। यस्ता ठूला हिमबाढी आउँदा मानिसको ज्यान बचाउन सकिए पनि भौतिक पूर्वाधार, पुलपुलेसा र जलविद्युत् आयोजनाहरूलाई पूर्णरूपमा जोगाउन भने अत्यन्तै गाह्रो हुन्छ।

हामी प्राकृतिक प्रकोपलाई पूर्णरूपमा रोक्न सक्दैनौं, तर सही पूर्वतयारी र प्रविधिको प्रयोगबाट क्षति भने पक्कै घटाउन सक्छौं। यसका लागि सरकारले तीनवटा मुख्य कामलाई प्राथमिकतामा राखेर तत्काल अगाडि बढाउनुपर्छ।

पहिलो प्राथमिकता चौबीसै घण्टा चल्ने पूर्वसूचना प्रणालीको स्थापना हुनुपर्छ। तिब्बतबाट बगेर आउने सबै मुख्य नदीहरूमा जलसतह मापन केन्द्र र चौबीसै घण्टा प्रत्यक्ष दृश्य दिने क्यामेराहरू जडान गर्नुपर्छ। माथिल्लो तटीय क्षेत्रमा नदीको बहाव रोकिने बित्तिकै वा बाढी आउनेबित्तिकै तल्लो तटीय क्षेत्रका बस्ती र निकायहरूमा तत्काल खबर पुग्ने व्यवस्थित संयन्त्र बनाइनुपर्छ।

दोस्रो प्राथमिकता सुरक्षित पूर्वाधार र आयोजना निर्माणमा दिइनुपर्छ। जलविद्युत् आयोजना र अन्य ठूला संरचनाहरू नदी किनारमै बनाउँदा जोखिम उच्च हुन्छ। नदीको जोखिम आकलन गरेर संरचनाहरू अलि टाढा, भूमिगत वा नदीको बहावभन्दा विपरीत दिशामा बनाउने जस्ता प्राविधिक सतर्कता अपनाउनुपर्छ। तेस्रो प्राथमिकता जोखिमयुक्त हिमतालको जलसतह घटाउने कार्यमा हुनुपर्छ। हामीले यसअघि चोरोल्पा र इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिसकेका छौं। हरित जलवायु कोषको सहयोगमा थप चारवटा हिमतालको पानी घटाउने आयोजना स्वीकृत भइसकेकाले सरकारले ती आयोजनाहरूलाई ढिलाइ नगरी तुरुन्तै कार्यान्वयनमा लैजानुपर्छ।

हिमाली क्षेत्रमा गर्मी र मनसुनको समय अति जोखिमयुक्त हुन्छ। त्यसैले सरकार, स्थानीय समुदाय र जलविद्युत् प्रवद्र्धकहरूले नदी किनारमा जथाभावी बस्ती र पूर्वाधार नबनाई पूर्वसूचना र सतर्कतालाई नै मुख्य हतियार बनाउनुपर्छ।
(काठमाडौं विश्वविद्यालयका प्राध्यापकसमेत रहेका कायस्थ हिमताल तथा हिमनदी विज्ञ हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.