प्रमुख कर्पोरेट घरानाबाट ४९ करोडभन्दा बढी सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रमुख कर्पोरेट तथा व्यावसायिक घरानाले ४९ करोडभन्दा धेरै आर्थिक तथा जिन्सी सामान सहयोग गरेका छन्। अर्थ मन्त्रालयको उपलब्ध विवरणअनुसार सबैभन्दा बढी सहयोग गोर्खा ब्रुअरीले गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न दाताबाट प्राप्त रकम बुझ्दै आएका छन्। बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि तत्काल ५ करोड रुपैयाँबराबरको सहयोग गर्ने निर्णय गरेको गरेसँगै विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक दाताले समेत सिधै नेपाल सरकारको राहत कोषमा रकम जम्मा गर्न सक्ने गरी नयाँ पोर्टल विकास समेत गरिएको छ। सरकारले उक्त पोर्टलमार्फत सहयोग गर्न इच्छुक सबैलाई योगदानका लागि आग्रह गरेको छ।
सहयोग रकमका आधारमा क्रमशः गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ, नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ, कुमारी बैंकले ३ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले २ करोड ५० लाख रुपैयाँ, एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ र रेडबुल उत्पादक सारस बेभरेजेजले २ करोड रुपैयाँ सहयोग गरेका छन्।
यसैगरी, एनसेलले १ करोड रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ र ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्कस’ले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५१ लाख तथा श्री शक्ति ग्रुपले पनि ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ भने रिलायन्स सुगर मिल एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ र नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।
कुमारी बैंकले आर्थिक सहयोगसँगै करिब ३९ लाख रुपैयाँ बराबरका पाँचवटा निगरानी ड्रोन, तीनवटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंकसमेत नेपाली सेनालाई उपलब्ध गराएको छ। उक्त सामग्री विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन प्रयोग गरिने बैंकले जनाएको छ।
कामना सेवा विकास बैंकले १० लाख र कर्मचारीको एक दिनको तलबबाट १५ लाख गरी कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। एनआईसी एसिया बैंकले पनि २ करोड र २१ लाख सञ्चालक तथा कर्मचारीबाट संकलन गरी कुल २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका तर्फबाट उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ।
ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेड र एनआरएनएको संयुक्त साझेदारीमा ७ लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधि हस्तान्तरण गरिएको छ। विपद् तथा स्वास्थ्य संकटबाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए। ओमेगा श्री र एनआरएनएले शीघ्र नै थप २० लाख रुपैयाँ बराबरको औषधि प्रभावित क्षेत्रमा पु¥याउने तयारी थालेका छन्।
उपलब्ध विवरणमा रहेका आर्थिक सहयोग रकम मात्र जोड्दा कम्तीमा ४३ करोड ८२ लाख रुपैयाँ पुग्छ। यसमा कुमारी बैंकले उपलब्ध गराएको करिब ३९ लाख रुपैयाँ बराबरको उद्धार सामग्री तथा (एनआरएनए)ले बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि तत्काल ५ करोड रुपैयाँबराबरको सहयोगसमेत जोड्दा निजी क्षेत्रबाट भएको कुल सहयोग करिब ४९ करोड २१ लाख रुपैयाँ बराबर पुग्ने देखिन्छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। विपद्बाट प्रभावित नागरिकको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार, अस्थायी आ श्रय तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्रबाट समेत सहयोग जुट्न थालेको हो।
सहयोग गर्ने संस्थाहरूले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन्।
सहयोग रकम
गोर्खा ब्रुअरी —१० करोड
ग्लोबल आईएमई बैंक —५ करोड
नेपाल बैंक —३ करोड १ लाख
कुमारी बैंक —३ करोड
राष्ट्रिय वाणिज्य बैंक —३ करोड
नेपाल इन्फ्रास्ट्रक्चर बैंक —२ करोड ५० लाख
एनआईसी एसिया बैंक —२ करोड २१ लाख
सारस बेभरेजेज —२ करोड
एनसेल —१ करोड
आईएमई लाइफ —१ करोड
सूर्यज्योति लाइफ —१ करोड
एक्स्ट्रिम इनर्जी ड्रिंकस —१ करोड
प्रभु महालक्ष्मी लाइफ —५१ लाख
श्री शक्ति ग्रुप —५१ लाख
कामना सेवा विकास बैंक —२५ लाख
रिलायन्स सुगर मिल —१० लाख
नाडा —१० लाख
प्रतिक्रिया दिनुहोस !