काठमाडौंका अस्पतालमा घाइते र आफन्त खोज्नेको भीड

काठमाडौंका अस्पतालमा घाइते र आफन्त खोज्नेको भीड
सुन्नुहोस्

काठमाडौं : भोटेकोशीको बाढी र पहिरोमा परेका घाइतेहरू उपचारका लागि राजधानी आउने क्रमसँगै काठमाडौंका प्रमुख अस्पतालहरूमा घाइते र आफ्ना आफन्त खोज्ने सर्वसाधारणको ठूलो भीड लागेको छ।

उद्धारमा ढिलाइ र राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै घाइतेहरू आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरेर काठमाडौं आइपुगेका छन् भने सम्पर्कविहीन भएकाहरूबारे जानकारी लिन आफन्तहरू बिहीबार बिहानैदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताल धाउन बाध्य भएका छन्।

‘डाँडामा रातभर भोकै, चाउचाउको भरमा बिताएँ। म आफ्नै निजी खर्चमा हेलिकप्टर बुक गरेर काठमाडौं उपचारमा आउनुपर्ने अवस्था आयो,’ रसुवाका ५३ वर्षीय तुल्सीबहादुर भण्डारीले गुनासो गरे। भण्डारीले घाइतेहरूको हेलिकप्टरसहित सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्नुपर्ने र बाढी पहिरोमा पुरिएका, अस्पतालमा रहेका वा बेपत्ता भएका नागरिकहरूको तत्काल खोज तथा उद्धार गर्नुपर्ने माग सरकारसँग गरेका छन्।

रसुवाका ५३ वर्षीय भण्डारी हाल वीर अस्पतालको आकस्मिक कक्षको बेड नम्बर २१ मा उपचाररत छन्। दैनिक काममा जाने क्रममा चीनतर्फबाट आएको विनाशकारी बाढी रसुवास्थित टिमुरेमा पुग्दा उनी घाइते भएका थिए। उनको कानमा चोट लागेको छ भने हाल उनको अवस्था सामान्य रहेको छ।

रसुवाको टिमुरे बसेर नजिकैको कागबेनीमा आफ्नो दैनिक व्यापार व्यवसाय सञ्चालन गर्दै आएका उनी सदा जस्तै बुधबार पनि करिब ८ बजे कामतर्फ जाने तरखरमै थिए। ‘घरबाट निस्कनै लाग्दा एकाएक पहाडबाट ठूला चट्टानहरूसहित धुवाँको कालो मुस्लो उडेको देखेँ। सुरुमा भूकम्प आएको जस्तो महसुस भयो, त्यसको केहीबेरमै लेदोसहित आएको ठूला छालहरूले गाडीसमेत बगाएर ल्यायो,’ उनले भने, ‘आफू भाग्ने क्रममा बाढीको छालले धकेलेर फाल्यो, भाग्यले आफू बाँच्न सफल भएँ। म जसोतसो बाँचेर माथि डाँडामा पुगेर हेर्दा आफ्नै आँखाअगाडि ४–५ वटा शवहरू देखेँ। त्यो हेरेपछि मलाई लाग्छ लेदोसहित आएको बाढीले हजारौं मानिस पुरिएर हराएका छन्।’

उनले देशमा विपत्ति पर्दा राज्यबाट आवश्यक उद्धार कार्य आफूले नपाएको गुनासो गरे। सरकारले घटना घटेलगत्तै नेपाली सेना परिचालन गरे पनि रात परिसकेका कारण आफ्नो समयमै उद्धार हुन नसकेको र उद्धारमा तीव्रता नदेखाएको उनले बताए।

रसुवाका रामकुमार राना मगरकी २२ वर्षीया छोरी सुरक्षा रानामगर रसुवाको केरुङ घुम्न गएका बेला लेदोसहित आएको बाढीमा परेकी थिइन्। बाढीबाट भाग्दाभाग्दै छालले हानेपछि बालुवाले उनलाई पुरेको अवस्थामा नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको उनका बाबुले बताए। बाढीका कारण उनको एउटा हात भाँचिएको, कान चुँडिएको र शरीरका अन्य अंगहरूमा पनि चोट लागेकाले हाल त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि राखिएको छ।

छोरी सुरक्षा अहिले एकदमै आत्तिएको बताउँदै बाबु रामकुमारले भने, ‘सुरक्षाले मेरो कान छैन कि क्या हो, म बाँच्छु बाँच्दिनँ भनिरहेकी थिइन्। तर, डाक्टरको सान्त्वनापछि उनमा आफू जीवित रहने आशा पलाएको छ।’ उनीसँगै घुम्न गएका अन्य एक जनाको उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भइसकेको छ भने बाँकी साथीहरू अझै बेपत्ता रहेको रामकुमारले जानकारी दिए।
नुवाकोटकी ११ वर्षीया रिया लामिछाने पनि बाढीबाट भाग्ने क्रममा घाइते भएकी छन्। हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

‘विद्यालय समयमा बाढीको सूचना पाएपछि विद्यालयले बिदा दिएको रहेछ। सोही क्रममा बाढीबाट बाँच्न विद्यार्थीहरू भाग्दा छोरीको हात भाँचियो, तर मैले भने अस्पताल भर्ना भएपछि मात्र थाहा पाएँ,’ उनका बाबु रमेश लामिछानेले बताए।

अस्पताल प्रशासनका अनुसार धेरैजसो बिरामी बाढीको प्रत्यक्ष प्रभावभन्दा पनि त्यसबाट जोगिन भाग्ने क्रममा घाइते भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीका कारण घाइते भनेर ल्याइएका धेरैको अवस्था सामान्य नै रहेको छ। ‘हालसम्म भर्ना गरिएका ६ जनामध्ये ३ जना सामान्य उपचारपछि परिवारको साथ घर फर्किएका छन्। एक बिरामीलाई आँखामा चोट लागेका कारण थप उपचारका लागि तिलगंगा आँखा अस्पताल लगिएको छ, ‘डा. नेपालले भने।

राष्ट्रिय ट्रमा सेन्टरका आकस्मिक सेवाका इन्चार्ज सरोज गैरेले सामान्य घाइतेलाई उपचार गराइ परिवारको साथ लगाएको र यहाँ उपचार हुन नसक्ने बिरामीलाई अन्य अस्पतालमा पठाइएको बताए। ‘बिरामीको उपचारका लागि सहज होस् भनेर अहिले कसैलाई पनि भित्र जान दिएका छैनौं। बिरामीको अवस्था हेरेर उनीहरूलाई कस्तो उपचार दिँदा छिटो निको हुन्छ, त्यसलाई ध्यान दिएर काम गरिरहेका छौं,’ उनले भने।

आफन्त खोज्नेको भीड
बाढीका कारण आफन्तहरू सम्पर्कविहीन भएपछि राजधानीका अधिकांश अस्पतालहरूमा आफन्तको खोजी गर्ने सर्वसाधारणको चाप ह्वात्तै बढेको छ। बिहीबार बिहानैदेखि राजधानीका धेरैजसो अस्पतालहरूमा आफ्ना मानिसहरूको खोजी गर्नेको भीड लाग्न थालेको हो।

दोलखाका पेमा तामाङ आफ्ना काकाको खोजीमा राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। बुधबार बिहान करिब ८ बजेपछि काकासँग सम्पर्क हुन नसकेको उनले बताए। ‘सबैतिर खोजिसकेंँ, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन। धेरै हस्पिटलमा पनि पुगेँ, उहाँ कार्यरत कम्पनीमा पनि सम्पर्क गरेँ तर केही खबर आएन,’ पेमाले दुःखेसो पोखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.