बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम उच्च

जनस्वास्थ्यविद्हरू भन्छन्, ‘बाढी प्रभावित क्षेत्रमा पानीजन्य, कीटजन्य र खाद्यजन्य रोगको प्रकोप बढ्ने जोखिम छ’

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम उच्च
सुन्नुहोस्

काठमाडौं : रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम बढेको छ। बाढीले स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी, बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा जनधनको व्यापक क्षति पुर्‍याएको छ। बाढीमा परी बिहीबार दिउँसोसम्ममा २ सय ९८ जना शव फेला परेको छ। 

मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकोले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। ‘मानिस र मरेका पशुको शवको उचित व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। यत्रतत्र शवहरू भेटिएका छन्। खानेपानीका स्रोतदेखि नदीसम्म दूषित छन्,’ वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘सरकारले उद्धारसँगै सुरक्षित पानी, सरसफाइ, रोग निगरानी र तत्काल उपचारलाई समान प्राथमिकता दिनुपर्छ।’

दूषित छन्, पानीका स्रोत

बाढी प्रभावित बस्तीमास्वास्थ्य संकटको जोखिम बढ्न सक्ने मुख्य कारण हो, दूषित पानी। बाढीले खानेपानीका मुहान, पाइपलाइन, ट्यांकी र वितरण प्रणालीमा क्षति पु‍र्‍याएको छ। विस्थापितहरू खोलाको, धाराको वा अन्य असुरक्षित स्रोतको पानी प्रयोग गर्न बाध्य भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, हेपाटाइटिस ‘ए’ लगायत पानी तथा सरसफाइसँग सम्बन्धित रोग फैलिने जोखिम बढ्ने विज्ञहरू बताउँछन्।

डा. पुन भन्छन्, ‘शुद्ध पानी र शौच गर्ने स्थानको अभाव छ। विस्थापितहरू एकै ठाउँमा बस्दा सरुवा रोग आमसमुदायमा फैलने जोखिम बढी छ।’ बाढीका कारण विस्थापित भएकाहरूमा छाला र आँखासम्बन्धी संक्रमणका साथै घाउमा संक्रमण हुन सक्ने विज्ञहरू बताउँछन्। वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मरासिनी भन्छन्, ‘बाढीबाट विस्थापित नागरिक अझै सुरक्षित खानेपानी, खाना र स्वास्थ्य सेवाको पहुँच नपुगेमा आगामी दिनमा पानीजन्य, कीटजन्य तथा खाद्यजन्य रोगको जोखिम बढ्न सक्छ।’

बाढीपछि पानी जम्ने स्थान बढ्दा लामखुट्टेको प्रजननस्थल विस्तार हुन सक्ने भएकाले डेंगु, मलेरियालगायत कीटजन्य रोगको जोखिमसमेत निगरानीमा राखिएको छ। खाद्यसामग्रि दूषित भई खाद्यविशाक्तता र आन्द्राजन्य समस्या पनि देखिन सक्ने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाअनुसार बाढीपछि अहिलेसम्म पानीजन्य रोगको असामान्य वृद्धि देखिएको छैन। तर, दूषित पानीका कारण आगामी दिनमा जोखिम बढ्न सक्ने भएकाले निगरानी र प्रतिकार्य टोली परिचालन गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

स्वास्थ्य संस्था क्षतिग्रस्त, स्वास्थ्यकर्मी सम्पर्कविहीन

बाढीबाट स्वास्थ्य संस्था मात्र प्रभावित भएका छैनन्, केही स्वास्थ्यकर्मीसमेत सम्पर्कविहीन छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीका अनुसार, रसुवाको स्याफ्रुबेंसी स्वास्थ्यचौकी, टिमुरे स्वास्थ्यचौकी र रसुवागढीस्थित टिमुरे स्वास्थ्य डेस्क बाढीबाट प्रभावित भएका छन्। ‘दुई तीनवटा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकमीसँग सम्पर्कविहीन हुनुहन्छ,’ डा. अधिकारी भन्छन्, ‘विद्युत् र फोन सेवा नै अवरुद्ध भएकोले दुई÷तीनवटा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकमीसँग सम्पर्क हुन सकिरहेको छैन।’

टिमुरे स्वास्थ्य डेस्कमा कार्यरत ललितादेवी कुमाईसम्पर्कविहीन छिन्। उनको खोजीका लागि आफन्तहरूले आग्रह गरेका छन्। त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा, स्याफ्रुबेंसीमा कार्यरत स्वास्थ्यकर्मी खम्बु बोहरा पनि बेपत्ता छन्। उनकी पत्नी कोपिला, नाबालिग छोरीको खोजीका लागि परिवारले आग्रह गरेका छन्।

त्यस्तै, धादिङस्थित गल्छीस्थित बैरेनी अस्पतालमा आंशिक क्षति पुगेको छ। धादिङ र त्रिशूली अस्पालमा बाढीका कारण सेवा प्रवाहमा समस्या भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘यस खालको विपद् यसअघि कहिल्यै भोग्नु परेन। तै पनि नियमित र आकस्मिक उपचार सेवालाई प्रभावकारी बनाउन समन्वय र सहकार्य गरिरहेका छौं।’

कस्तो छ तयारी ?
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार, तीनै तह संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा घाइतेको उपचारलाई प्राथमिकता दिइएको छ। बाढीमा परेका घाइतेहरूको स्थानीय तहका स्वास्थ्य संस्था र काठमाडौंका अस्पतालमा उपचार भइरहेको डा. अधिकारी बताउँछन्। रसुवाको धुन्चे अस्पतालमा ११ जना उपचाररत छन्। २८ जनाको डिस्चार्ज गरिएको छ। त्रिशूली अस्पताल विदुरमा ४ जनाको उपचार भइरहेको छ। १३ जना डिस्चार्च भएका छन्। त्यस्तै आयुर्वेदिक अस्पताल पीपलटारमा १० जनाको उपचार भइरहेको छ।

स्थानीय स्वास्थ्यसंस्थाबाट रेफर गरिएकाहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा ३७ जना, राष्ट्रिय ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, नर्भिक अस्पतालमा २ जना र मनमोहन अस्पतालमा १ जनाको बिहीबार बिहानसम्म उपचार भइरहेको छ। उपचार पश्चात् अन्य १४ जना डिस्चार्ज भएका अस्पतालहरूले जनाएका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीकाअनुसार बाढी प्रभावित क्षेत्रमै उपचारका लागि आवश्यक औषधिसहित स्वास्थ्य सामग्रीसहित चिकित्सकको सातवटा स्वास्थ्य टोली परिचालन गरिएको छ। ‘चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर उपचार सुरु गरिसक्नु भएको छ,’ डा. अधिकारी भन्छन्, ‘भोलिका दिनमा आउन सक्ने सम्भावित प्रकोपलाई मध्यनजर गरेर पानीजन्य, कीटजन्य र खाद्यजन्यरोगहरू देखिन सक्छन्। त्यसका लागि सचेतना, निगरानी र उपचार व्यवस्थापनसमेत मिलाएर प्रतिकार्य टोली बनाएका छौं। अहिले नै स्वास्थ्य टोली परिचालन गरिसकेका छौं। त्यो टोली फिर्ता हुनेबित्तिकै अर्को नयाँ टोलीलाई परिचालन गर्ने तयारी मिलाएका छौं।’

विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ। आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रप्रमुख डा.हेमन्त चन्द्र ओझा, आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि डा.रोशन न्यौपाने, प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणिन्द्रप्रसाद बराल र मन्त्रालयबाट डा.समीरकुमार अधिकारी तोकिएको छ। त्यस्तै, घटनास्थलमा संघीय टोली परिचालनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी तोकिएको छ। सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा डा. अमृत पोखरेल लाई फोकल पर्सन तोकिएको छ। 

विपद्को समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वयलाई थप सहज बनाउन मन्त्रालयले ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ। प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न, स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टिम, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘स्वास्थ्य सेवालाई कसरी प्रभावकारीरुपमा अघि बढाउन सकिन्छ भन्नेमै योजना बनाएर कार्यान्वयनलाई अघि बढाएका छौं।’

आपत पर्‍यो ? १११५ र ११६६ मा फोन गर्नू

विपद्को बेला छ। आपतकालीन स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्छ। आवश्यक जानकारी र सहयोग चाहिएको छ भने निःशुल्क हटलाइन नम्बरमा फोन गर्न सक्नु हुनेछ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन हटलाइनको व्यवस्था गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, हटलाइनहरू चौबिसै घण्टा सञ्चालन हुने भएकोले बाढी प्रभावित व्यक्तिले सम्पर्क गर्न सक्ने छन्। ‘आपतकालीन स्वास्थ्य सेवाका लागि हटलाइन नम्बरको व्यवस्था गरेका छौं,’ डा. अधिकारी भन्छन्, ‘विपद्का बेला कुनै आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग र जानकारी चाहिएमा हटलाइन नम्बर १११५ मा फोन गर्न सकिन्छ। स्वास्थ्य सेवा प्रवाह चाहिएमा समन्वय र सहजिकरणका लागि ११६६ नम्बरको हटलाइन नम्बरमा जो कोही बाढी प्रभावितले फोन गर्न सक्नु हुनेछ।’

बालबालिकालाई कुनै समस्या देखिएमा परामर्शका लागि १०९८ नम्बरको हटलाइनमा फोन गर्न सकिने डा. अधिकारीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.