पपुलिज्मको भ्रममा कांग्रेसको भविष्य

पपुलिज्मको भ्रममा कांग्रेसको भविष्य
सुन्नुहोस्

नेपाली कांग्रेस स्थापनाकालदेखि नै विचार, निष्ठा, सिद्धान्त र असीम बलिदानीको विशाल ऐतिहासिक जगमा उभिएको क्रान्तिकारी लोकतान्त्रिक दल हो। जननायक विश्वेश्वरप्रसाद कोइराला, जननेता सुवर्णशमशेर राणा, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र समाजवादी चिन्तक प्रदीप गिरीको अगाध वैचारिक निष्ठा, सादा जीवन र निस्वार्थताको जगमा निर्माण भएको यो पार्टीले देशका प्रत्येक राजनीतिक मोडमा ऐतिहासिक नेतृत्व प्रदान गर्दै आएको छ।

२०१२ सालमा सम्पन्न ऐतिहासिक वीरगन्ज महाधिवेशनले ‘प्रजातान्त्रिक समाजवाद’लाई नेपाली कांग्रेसको निर्विकल्प वैचारिक बाटोका रूपमा पारित गरेको थियो। कांग्रेसको विधान र लोकतान्त्रिक मर्यादाअनुसार महाधिवेशनले पारित गरेको यो मूलभूत वैचारिक दिशालाई परिवर्तन गर्न पुनः महाधिवेशनकै सार्वभौम जनादेश अनिवार्य हुन्छ। २००७ को क्रान्ति, २०३६ को सत्याग्रह, २०४६ र २०६२/६३ को जनआन्दोलन मार्फत देशलाई निरंकुशताबाट मुक्त गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणको नेतृत्व कांग्रेसको यही वैचारिक मार्गदर्शनबाट सम्भव भएको हो।

तर, इतिहासकै यति ठूलो गौरवशाली विरासत बोकेको कांग्रेस स्थापनाकालपछिकै सबैभन्दा गम्भीर र संवेदनशील दोबाटोमा उभिएको छ। पार्टी आफ्ना मूलभूत विधान, ऐतिहासिक मूल्य–मान्यता र बीपीको वैचारिक जगमा उभिएर समयानुकूल रूपान्तरणको स्पष्ट नीतिगत बाटोमा अगाडि बढ्ने कि तदर्थवाद, गैरवैधानिकता, वैचारिक विचलन र व्यक्ति–केन्द्रित सस्तो लोकरिझ्याइँ (पपुलिज्म)को भ्रामक भासमा भासिने ? यो यक्ष प्रश्न आज प्रत्येक निष्ठावान् कांग्रेसजनका अगाडि पहाड बनेर उभिएको छ।

सैद्धान्तिक विचलन : विवादित विशेष महाधिवेशनबाट सभापति भएका गगनकुमार थापा र उनको समूहले पार्टीको वैचारिक र संस्थागत आधारशिलामाथि नै गम्भीर प्रहार गरिरहेको देखिन्छ। गगनको मुख्य ध्येय जननायक बीपी कोइरालाको विचारलाई मात्र होइन, बरु स्वयं बीपीलाई नै विनिर्माण गरी कांग्रेसको वैचारिक आदर्शबाट विस्थापित गर्नु र पार्टीको इतिहासलाई तोडमोड गरी छुट्टै सस्तो लोकप्रिय पात्रका रूपमा स्थापित गर्नु हो। उनका गतिविधि र विचारलाई नियाल्दा उनी कांग्रेसका मौलिक सिद्धान्तप्रति कति अविश्वसनीय, अवसरवादी र अस्थिर छन् भन्ने प्रस्ट हुन्छ।

महामन्त्रीजस्तो जिम्मेवार पदमा रहँदा महाधिवेशनको आधिकारिक निर्णयबिनै उनले सामाजिक लोकतन्त्रको अवैधानिक वकालत गरिरहेका थिए। २०८० फागुन ७–१० सम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत महामन्त्रीको प्रतिवेदनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई हुबहु नक्कल गर्दै पार्टीले पारित गर्दै नगरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’लाई कांग्रेसको ध्येयका रूपमा प्रस्तुत गरेका थिए।

अझ रोचक र विरोधाभासपूर्ण कुरा के देखिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको मुख्य विचार ‘सामाजिक लोकतन्त्र’ हुनेछ भनी पहिले नै घोषणा गरिसकेका थिए। पछि गगनले रविकै त्यही एजेन्डालाई कांग्रेसमा हुबहु नक्कल गर्न खोजेको जस्तो देखिन्छ। गोदावरी महासमितिमा सामाजिक लोकतन्त्रको कुरा उठाउने, पछि आफैंले बोलाएको विवादित विशेष महाधिवेशनमा युरोपेली सामाजिक लोकतन्त्र नै अबको बाटो हो भनी प्रस्ताव पेस गर्ने र अर्कोतिर पार्टीको आधिकारिक वेबसाइटको ‘हाम्रो दृष्टिकोण’मा ‘समावेशी लोकतन्त्र र सुशासन’ उल्लेख गर्ने कार्यले उनको वैचारिक अन्योल र दोहोरो चरित्रलाई छर्लंग पारेको छ। युरोपमा कल्याणकारी राज्यका नाममा कर–केन्द्रित र केवल वितरणमुखी बनेर असफल भइसकेको नीतिलाई बीपीको मौलिक प्रजातान्त्रिक समाजवादको विकल्पका रूपमा प्रस्तुत गर्नु कांग्रेस र बीपीको वैचारिक आत्मामाथिको घात हो।

अन्तर्वार्तामा जननायक बीपी कोइरालाले स्पष्ट शब्दमा भन्नुभएथ्यो, ‘हामी पपुलिज्मको सामु आत्मसमर्पण गर्न वा त्यसलाई स्वीकार्न सक्दैनौं।’ तर, आज गगन थापाले बीपीको यही स्पष्ट चेतावनीलाई लत्याउँदै पपुलिज्मको अन्ध अनुकरण गरिरहेका छन्। गगनको रातारात बदलिएको भेषभूषाको आडम्बर, ‘ग्रिन रन’ र ‘ग्रिन टेबल’जस्ता मिडिया स्टन्टहरू पार्टीको वैचारिक पुनर्जागरणका लागि होइनन्; बरु नयाँ पुस्तालाई भ्रममा पारेर व्यक्तिगत ब्रान्डिङ गर्ने प्रयासजस्तो देखिन्छ। बीपी कोइरालाले १९६० मे ७ को नेपाल पुकारमा ‘पार्टीका सदस्यहरूले आफ्नो आचरण र नैतिकताको बलले मात्र जनताको माझमा आफूलाई नेता प्रमाणित गर्नुपर्छ’ भन्नुभएको थियो। बीपीले अँगालेका अनुशासन, इमान्दारी, सादा जीवन र निःस्वार्थताजस्ता चार गुणलाई तिलाञ्जली दिँदै गगन समूहले बीपीले त्याग्न भन्नुभएका गुटबन्दी र व्यक्तिगत संकीर्णतालाई आफ्नो मुख्य राजनीतिक हतियार बनाएको छ।

राजनीतिक दिशानिर्देश : यस प्रकारका वैचारिक अन्योल, नक्कलमुखी प्रवृत्ति र भ्रामकताका विरुद्ध नेपाली कांग्रेसले अब स्पष्ट राजनीतिक दिशा लिनु आवश्यक छ। बीपी कोइरालाका चर्चित साहित्यिक कृतिहरू ‘सुम्निमा’, ‘तीन घुम्ती’ र ‘नरेन्द्रदाइ’ मा प्रस्तुत सामाजिक, सांस्कृतिक र लैंगिक समावेशिताको चेतना तथा समाजवादी चिन्तक प्रदीप गिरिले अघि सार्नुभएको ‘कदमजम’ (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) सिद्धान्तको जगमा उभिएर नेपाली कांग्रेसको मूल सिद्धान्त ’प्रजातान्त्रिक समाजवाद’ लाई अझ समृद्ध बनाउनुपर्छ। बीपी र प्रदीप गिरीका तिनै विचार, साहित्य र आन्दोलनको योगदानलाई उच्च सम्मान गर्दै ‘प्रजातान्त्रिक समाजवाद’मा समावेशिताको मर्म थपेर ‘समावेशी प्रजातान्त्रिक समाजवाद’लाई अब नेपाली कांग्रेसको मुख्य र निर्विकल्प सिद्धान्त बनाइनुपर्छ।

विशेषगरी, गत भदौको जेन–जी आन्दोलनले राज्य र राजनीतिक दलहरूसँग सुशासन, पारदर्शी प्रणाली, भ्रष्टाचारप्रति शून्य सहनशीलता र युवा पुस्ताको वास्तविक प्रतिनिधित्वको गम्भीर माग गरेको थियो। जेन–जी आन्दोलनको त्यस सन्देशलाई आत्मसात् गर्दै अब कांग्रेसले उनीहरूका सुशासन, शून्य–भ्रष्टाचार र रोजगारीका एजेन्डालाई आफ्नो मुख्य राजनीतिक कार्यदिशा बनाउनु अनिवार्य छ। बीपी र प्रदीप गिरीको सामाजिक न्याय तथा जेन–जी पुस्ताको सुशासनको चाहनालाई जोड्दै ‘समावेशी प्रजातान्त्रिक समाजवाद’ले पुँजीवादको कठोर शोषण र साम्यवादको निरंकुश नियन्त्रण दुवैलाई अस्वीकार गर्छ। यसले श्रमिक, किसान, दलित, महिला, मधेसी, जनजाति, कर्णाली र जेन–जी युवाहरूलाई उत्पादन, नाफा, निर्णय प्रक्रिया र सुशासनमा साझेदार बनाएर राज्य र पार्टीका हरेक संरचनामा अपनत्व प्रदान गर्नेछ।

सांगठनिक पुनर्जागरण : पार्टीबाट व्यापारी, ठेकेदार, लाउके र भुइँफुट्टा वर्गको कब्जा अन्त्य गर्दै कांग्रेसलाई पुनर्जागृत बनाउन नयाँ सांगठनिक मोडेल अपनाउनु अनिवार्य भइसकेको छ। जेन–जी विप्लवले देखाएको बाटोअनुसार नयाँ पुस्ताको नेतृत्व विकास र सुशासनलाई स्थापित गर्न पार्टीले ठोस सांगठनिक कदम चाल्नुपर्छ। छिमेकी भारतको भारतीय जनता पार्टी र आरएसएसको अनुशासित वैचारिक स्कुलिङ, तल्लो तहको बुथ व्यवस्थापन र सामाजिक पुनर्संरचनाबाट सिक्दै कांग्रेसका भ्रातृ संस्थाहरूलाई वैचारिक एकाडेमीमा रूपान्तरण गरिनुपर्छ। समाजका विशेषज्ञ, प्रविधि पेसाकर्मी, जेन–जी युवा र प्राज्ञिकलाई नीति निर्माणमा ल्याउन ‘पाश्र्व प्रवेश’को वैधानिक प्रबन्ध गर्दै टोल समितिदेखि केन्द्रीय कार्यसमितिसम्म कम्तीमा ३५ देखि ४० प्रतिशत युवा र महिलाको बाध्यकारी प्रतिनिधित्व विधानमै गरिनुपर्छ।

यसका साथै टोल र वडा तहदेखि केन्द्रसम्मका प्रत्येक कमिटीमा अनिवार्य रूपमा सूचना प्रविधिको छुट्टै सांगठनिक संरचना तयार पारी प्राविधिक ज्ञान भएका युवालाई पदाधिकारी तहमा जिम्मेवारी दिइनुपर्छ। संसद् र पार्टी दुवै तहमा छायाँ सरकार, उम्मेदवार छनोटमा खुला प्राथमिक निर्वाचन र नेताहरूको वार्षिक कार्यसम्पादन मूल्यांकनजस्ता आधुनिक अभ्यासहरू लागू गरिनुपर्छ। पैसा वा गुटको कृपाका आधारमा पद बिक्री गर्ने कुप्रथा अन्त्य गरी वर्षौंदेखि पसिना बगाएका निष्ठावान् कार्यकर्ताहरू र जेन–जी पुस्ताका योग्य युवाहरूलाई अवसर दिनु नै सांगठनिक पुनर्जागरणको मुख्य बाटो हुनेछ।

आर्थिक रूपान्तरण : बीपीको समाजवाद, सुवर्णशमशेरको आर्थिक लोकतन्त्र र प्रदीप गिरीको कदमजमको निरन्तरताका रूपमा ‘समावेशी प्रजातान्त्रिक समाजवाद’ले २१औं शताब्दीको नयाँ आर्थिक बाटो तय गर्नेछ। आयातमा आधारित विप्रेषण अर्थतन्त्र र क्रोनी क्यापिटालिज्मको संकटबाट देशलाई जोगाउन पुँजी र वित्तीय साधनस्रोतको व्यापक विकेन्द्रीकरण गरिनुपर्छ। आर्थिक नीतिका मुख्य प्राथमिकतामा औद्योगिक क्रान्ति ४.० भन्दा अघि बढेर कृत्रिम बौद्धिकता, डेटा साइन्स र मानव–केन्द्रित प्रविधिको संगम मानिने औद्योगिक क्रान्ति ५.० मार्फत नेपाललाई दक्षिण एसियाकै डिजिटल र प्रविधि हब बनाउने लक्ष्य राखिनुपर्छ; जसले जेन–जी पुस्ताका लागि देशभित्रै उच्चस्तरीय रोजगारी सिर्जना गर्नेछ।

यसैगरी १५ हजार मेगावाट स्वच्छ ऊर्जा उत्पादन, हरित ऊर्जा निर्यात र कार्बन ट्रेडिङमार्फत हरित समाजवाद लागू गर्ने नीति लिइनुपर्छ। कृषिमा चकलाबन्दी, एआई प्रविधिको प्रयोग, न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी र राष्ट्रिय नवप्रवर्तन कोषमार्फत युवा उद्यमिता प्रवद्र्धन गरी प्रतिभा पलायन नियन्त्रण गरिनुपर्छ। स्वास्थ्य क्षेत्रमा निरोगी जीवनशैली र निरोधात्मक स्वास्थ्यलाई मुख्य नीति बनाइनुपर्छ भने पशुपतिनाथ, लुम्बिनी र मुक्तिनाथजस्ता पवित्रधामहरूलाई जोडेर उच्च–मूल्य सनातनी आध्यात्मिक पर्यटन प्रवद्र्धन गरिनुपर्छ।

निष्कर्ष : विशेष राष्ट्रिय भेला केवल एउटा गुट वा समूहको भेलामात्र नभएर यो नेपाली कांग्रेसलाई पपुलिज्म, अनुशासनहीनता र भुइँफुट्टा पुँजीपतिको कब्जाबाट मुक्त गराउने ऐतिहासिक वैचारिक एकताको संकल्प भेला बन्नुपर्छ। बीपी कोइराला, सुवर्णशमशेर र प्रदीप गिरीको ऐतिहासिक योगदानलाई स्मरण गर्दै र जेन–जीले उठाएको सुशासन तथा युवा सहभागिताको बाटोलाई आत्मसात् गर्दै, गगन समूहले फैलाएको पपुलिस्ट, नक्कलमुखी र विचलनकारी भ्रमलाई चिर्दै पार्टीलाई समावेशी प्रजातान्त्रिक समाजवादको स्पष्ट नीतिगत बाटोमा अगाडि बढाउनु नै आजको मुख्य ऐतिहासिक दायित्व हो। अरूको एजेन्डा र शैली नक्कल गरेर चलाइने विचारहीन राजनीति क्षणिक हुन्छ, तर निष्ठा, अनुशासन, सुशासन र समावेशी समाजवादमा आधारित कांग्रेस मात्रै नेपालको अपराजित लोकतान्त्रिक शक्ति बन्न सक्छ।

कुशवाहा, कांग्रेसका महासमिति सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.