बाढी प्रभावितका लागि प्रवासी नेपाली सम्पर्क विभाग साउदीद्वारा १० लाख सहयोग
साउदी : भोटेकाशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरुका लागि प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले १० लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा , नुवाकोट, धादिङ, गोरखा जिल्ला तथा आसपासमा क्षेत्रमा भएको जनधनको क्षति तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सम्पर्क विभागले सहयोग प्रदान गरेको हो। संगठनमा आबद्ध पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको संगठनका सभापति भुपाल भण्डारीले जानकारी दिए।
सभापति भण्डारीका अनुसार विपद्को कठिन समयमा पीडित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले संगठनका पदाधिकारी तथा सदस्यहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन्। उनले सहयोग अभियानमा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सहयोगीहरूको नामावली र रकमको विवरण चाँडै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताए।
विपद्का बेला प्रवासमा रहेका नेपालीहरूबाट मातृभूमिका लागि जुटाइएको यस सहयोगले मानवीय एकता, सामाजिक उत्तरदायित्व र प्रवासी नेपालीको मातृभूमिप्रतिको सम्बन्धलाई थप बलियो बनाएको छ । भने प्रवासी नेपालीहरूका लागि आर्थिक सहयोग पठाउने विषय सामान्य भए पनि विपद्का बेला त्यसलाई व्यवस्थित, पारदर्शी र संस्थागत रूपमा परिचालन गर्नु अझ महत्वपूर्ण मानिन्छ। यस अभियानले प्रवासमा रहेका नेपालीहरूबीच रहेको आपसी सद्भाव र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ।
साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक तथा विभिन्न सामाजिक, राजनीतिक र पेशागत संघसंस्थाहरू सक्रिय छन्। नेपालमा आइपर्ने प्राकृतिक विपद्, महामारी तथा अन्य मानवीय संकटका समयमा साउदीमा रहेका नेपाली समुदायले विगतदेखि नै उद्धार तथा राहतका लागि आर्थिक तथा मानवीय सहयोग गर्दै आएका छन्।यस अभियानमा साउदीमा रहेका एनआरएन , भातृसंगठन लगायत बिभिन्न सस्थाले समेत आर्थिक संकलन जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस !