एनआरएनएद्वारा नुवाकोटमा ५० लाख बराबरको राहत वितरण
साउदी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले करिब ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। बाढीका कारण विस्थापित तथा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, त्रिपाल, सोलार लाइट, लत्ताकपडा, ब्ल्याङ्केट, म्याट, खानेपानी र औषधिलगायत सामग्री संघले प्रभावित क्षेत्रमा पुर्याएको हो।
भदौ ११ र १२ गते एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरूको टोली नुवाकोट पुगेर राहत वितरणमा सक्रिय भएको थियो। अध्यक्ष हेमराज शर्मासहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना, स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरेर राहत वितरण गरेको एनआरएनएले जनाएको छ।
राहतअन्तर्गत ५ सय थान त्रिपाल, ५ सय थान सोलार लाइट तथा ५ सय परिवारका लागि खाद्यान्नसहित दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्री वितरण गरिएको छ। बाढीपछि आश्रयस्थलमा पुगेका प्रभावित परिवारलाई प्राथमिकतामा राखेर राहत उपलब्ध गराइएको संघको भनाइ छ।
एनआरएनए टोलीले नुवाकोट वैकल्पिक आयुर्वेदिक औषधालय तथा विदुर–५ स्थित आश्रयस्थलमा रहेका प्रभावित नागरिक, विशेषगरी वृद्धवृद्धालाई प्रत्यक्ष राहत वितरण गरेको थियो। त्यस्तै, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित परिवारलाई समेत राहत सामग्री उपलब्ध गराइएको छ।
‘राहत मात्रै होइन, पुनर्निर्माणसम्म साथ दिन्छौँ ।अहिले प्रभावित नागरिकलाई तत्काल राहत आवश्यक छ। हामी राहत वितरण गरेर मात्रै रोकिने छैनौँ। प्रभावित परिवारको पुनःस्थापना र पुनर्निर्माणसम्म आवश्यकताअनुसार सहयोग गर्न एनआरएनए तयार छ,’ एनआरएनए अध्यक्ष हेमराज शर्माले भने।
विपद्को समयमा प्रभावित नागरिकलाई राहत पुर्याउनु एनआरएनएको पहिलो जिम्मेवारी भएको बताएका छन्।
उनले भने।
अध्यक्ष शर्माले राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारी संयन्त्रसँग समन्वय गरेर अघि बढिरहेको बताए। वास्तविक आवश्यकता भएका परिवारसम्म सहायता पुर्याउने र एउटै क्षेत्रमा दोहोरो राहत नपर्ने गरी काम भइरहेको उनको भनाइ छ। साथै राहत सामग्री वितरणसँगै एनआरएनएले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेको छ। संघको पहलमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालित भई स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, औषधि वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरिरहेको छ। थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइने संघले जनाएको छ।
एनआरएनएले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि कम्तीमा ५ करोड रुपैयाँ परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।संघका विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले पनि आ–आफ्नो स्तरबाट सहयोग संकलन अभियान सुरु गरिसकेका छन्। विश्वभर रहेका नेपाली समुदायलाई आफ्नो क्षमता र परिस्थितिअनुसार विपद् प्रभावित नागरिकको सहयोगमा जुट्न एनआरएनएले अपिल गरेको छ। एनआरएनएले विभिन्न माध्यमबाट संकलन हुने सहयोग रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रूपमा जम्मा गर्ने जनाएको छ। एनसीसीमार्फत संकलित रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ।
एनआरएनएले तत्कालीन राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने जनाएको छ। विपद्को समयमा प्रवासी नेपालीको सहयोगलाई प्रभावित नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउन संघले सरकारी तथा स्थानीय संयन्त्रसँग समन्वयलाई निरन्तरता दिने बताएको छ।
प्रतिक्रिया दिनुहोस !