नेपालको विपत्तिमा विश्व खेलकुदले दिएको सहानुभूति
काठमाडौं : भदौ १० गते बिहान अनपेक्षितरूपमा आएको बाढीले नेपाल क्षतिग्रस्त बनेको छ। यतिबेला नेपालमा आइलागेको विपत्तिप्रति विश्वको ध्यान केन्द्रित छ। राजनीति र कूटनीतिभन्दा पर रहेको खेलकुद क्षेत्रले नेपालको पीडामा ऐक्यबद्धता जनाएको छ। विश्व खेलकुदका फरक-फरक एरिनामा नेपालका लागि प्रार्थना र सहानुभूति व्यक्त गरिएको छ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक विनाश निम्त्याएको छ। सयौं मानिसको मृत्यु र ठूलो सङ्ख्यामा मानिस बेपत्ता भएको पुष्टि भइसकेको छ। यसै क्रममा विभिन्न खेलकुदकर्मी, खेलकुद संघसंस्थाहरूले पनि नेपालका लागि प्रार्थना र समर्थनका सन्देश सार्वजनिक गरिरहेका छन्।
नेपाली खेलाडीले कालो पट्टी लगाएर खेले
ला लिगामा मौनधारण
विश्व फुटबलको चर्चित लिग ला लिगाअन्तर्गत अगस्ट २७ मा स्पोटिफाइ क्याम्प नोउमा भएको बार्सिलोना र एथ्लेटिक क्लबबीचको खेलमा बार्सिलोना र एथ्लेटिक क्लबका खेलाडी, प्रशिक्षक र स्टाफले मैदानमा एकसाथ उभिएर नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको बाढीबाट प्रभावितहरूप्रति मौनधारण गरेका थिए।
उक्त खेलसँग सम्बन्धित उपलब्ध भिडियो र रिपोर्टहरूमा उनीहरूले नेपालका लागि प्रार्थना पनि गरेको उल्लेख गरिएको छ। यो विशेषगरी नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको मानवीय क्षतिप्रति केन्द्रित रहेको थियो।
ला लिगा च्याम्पियन बार्सिलोनाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत उद्धार तथा राहतका कार्यमा संलग्न सबैप्रति सम्मान व्यक्त गर्दै कठिन घडीमा नेपाली जनतासँग एकजुट रहेको भन्दै सन्देश पोस्ट गरेको थियो। त्यस्तै क्लब एट्लेटिको म्याड्रिडले पनि ‘एक्स’मार्फत समवेदना व्यक्त गर्दै नेपालका बाढीपीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो। क्लबले आफ्नो सन्देशमा ‘स्टे स्ट्रङ नेपाल’ अर्थात् नेपाल बलियो रहोस् भन्दै पोस्ट सार्वजनिक गरेको थियो।
विश्व क्रिकेटको ऐक्यबद्धता र सहानुभूति
नेपालमा बाढी आउँदा सबैभन्दा बढी र छिटो भारतका विभिन्न राजनीतिक र कूटनीतिक पक्षले प्रतिक्रिया जनाएका थिए। बीचमा राजनीतिलाई अलि पर राख्दा भारतीय क्रिकेट हस्ती तथा फ्रेन्चाइजहरूले पनि नेपालको यस परिस्थितिमा सहानुभूति सन्देशहरू जारी गरेका छन्। जसमा चेन्नई सुपर किङ्ग्सले ठूलो जनधनको क्षति भएको कुराले मर्माहत बनाएको भन्दै सन्देश जारी गरेको छ। राजस्थान रोयल्सले ‘एक्स’ र इन्स्टाग्राम दुवै माध्यमबाट सहानुभूति सन्देश जारी गरेको छ। कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादले पनि नेपाली नागरिकको सुरक्षाको कामना गर्दै सहानुभूति सन्देशहरू जारी गरेका छन्।
भारतीय क्रिकेट हस्ती सचिन तेन्दुलकरले पनि नेपालमा आएको आकस्मिक बाढीले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट राखेका छन्। उनले आफ्ना प्रियजनको खबर पर्खिरहेका परिवारको पीडाप्रति दुःख व्यक्त गर्दै पोस्ट राखेका छन्। ‘नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबै परिवारप्रति मेरो गहिरो सहानुभूति छ। विशेषगरी आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेका परिवारप्रति उहाँहरूका प्रियजन र उद्धारका लागि निरन्तर खटिरहेका उद्धार टोलीका लागि प्रार्थना गर्दछु।’
भारतीय क्रिकेटर युवराज सिंहले पनि नेपालको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीहरूको सुरक्षाको कामना गरेका छन्। उनले लेखेका छन्, ‘नेपालमा आएको बाढीले अकल्पनीय क्षति पुर्याएको छ। प्रभावित सबैप्रति मेरो सहानुभूति छ। विशेषगरी आफ्ना प्रियजनको खबर पर्खिरहेका परिवारहरूप्रति यो अत्यन्त कठिन समय पार गर्न नेपालको जनतालाई साहस र शक्ति मिलोस् भन्ने कामना गर्दछु।’
सुरेश रैनाले पनि फसेका मानिसहरू सुरक्षित रूपमा उद्धार हुन सकून् र प्रभावितहरूलाई शक्ति मिलोस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट राखेका छन्। ‘नेपालबाट आएका हृदयविदारक दृश्यले निकै दुःखी बनाएको छ। आफ्ना प्रियजन गुमाएका, उनीहरूको प्रतीक्षामा रहेका र उनीहरूका लागि प्रार्थना गरिरहेका हरेक परिवारप्रति मेरो गहिरो सहानुभूति छ। फसेका हरेक व्यक्ति सुरक्षित रूपमा उद्धार हुन सकून् र यो अकल्पनीय क्षतिको सामना गरिरहेका सबैमा शक्ति मिलोस्,’ उनले भनेका छन्।
वेस्ट इन्डिज क्रिकेटका अध्यक्ष डा. किशोर सालोले संस्थाको तर्फबाट औपचारिक वक्तव्य नै जारी गरेका छन्। उनले नेपाललाई ग्लोबल क्रिकेट परिवारको महत्वपूर्ण सदस्य रहेको भन्दै यो दुःखको समयमा नेपालसँग काँधमा काँध मिलाएर उभिएको बताएका छन्। प्रभावित परिवार, ज्यान गुमाउनेहरूका आफन्त, आफ्ना प्रियजनको खबर पर्खिरहेका परिवार र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूप्रति उनले सहानुभूति व्यक्त गर्दै नेपालको शीघ्र पुनर्स्थापनाको कामना गरेका छन्। उनले भनेका छन्, ‘क्रिकेट वेस्ट इन्डिज र सम्पूर्ण वेस्ट इन्डिज क्रिकेट परिवारको तर्फबाट विनाशकारी बाढीपछि नेपालको जनताप्रति हामी हार्दिक प्रार्थना, समवेदना र ऐक्यबद्धता व्यक्त गर्दछौं।’
रोड टु युएफसीमा नेपालका लागि प्रार्थना
नेपालका मिक्स्ड मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले चीनको सांघाईमा जारी रोड टु युएफसी सिजन ५ को प्रतिस्पर्धामा भाग लिएका छन्। यसै सिलसिलामा चीन र नेपाल दुवैको सीमावर्ती क्षेत्रमा ठूलो क्षतिसहित आएको बाढीको विषयमा उक्त प्रतियोगिताका दौरान चर्चा भयो। प्रतियोगिता चलिरहँदा खेलका कमेन्टेटरहरूले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा पुगेको बाढी र त्यस विषयमा चर्चा गरेका थिए। उनीहरूले नेपाल र चीनको छिट्टै पुनर्स्थापना हुन सकोस् भन्ने सन्देश छोडे।
रोड टु युएफसीको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका रविन्द्र ढाँटले पनि नेपालमा हालः असहज स्थिति भइरहेको र सम्पूर्णले सक्दो सहयोग गर्न खेल जितेपछि अनुरोध गरे। उनले सेमिफाइनल खेलमा न्युजील्यान्डका फाइटर कासिब मर्डोचलाई पराजित गरेपछि नेपालको स्थितिको बारेमा रिङभित्रैबाट सबैलाई नेपालको लागि सहयोगको अनुरोध गरे।
‘अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइरहेको छ। आ-आफ्नो ठाउँबाट जति सक्दो सहयोग गर्नुहोला,’ उनले फाइट जित्नेबित्तिकै भने।
प्रतिक्रिया दिनुहोस !