इतिहास रच्दै रवीन्द्र यूएफसी फाइनलमा

इतिहास रच्दै रवीन्द्र यूएफसी फाइनलमा
सुन्नुहोस्

चीनको सांघाईस्थित अक्टागनमा शुक्रबार भएको ब्यान्टमवेट सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै रवीन्द्र्र ढाँटले फाइनल यात्रा तय गरेका हुन् ।

काठमाडौं : बझाङको दुर्गम भूगोलबाट सुरु भएको एउटा सपना अहिले विश्वकै प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) ढोकासम्म पुगेको छ। मिक्स्ड मार्सल आट्र्स (एमएमए) नेपाली फाइटर रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी–सिजन ५’ को फाइनलमा प्रवेश गर्दै नेपाली खेलकुदकै इतिहासमा नयाँ अध्याय लेख्न सफल भएका छन्। चीनको सांघाईस्थित अक्टागनमा शुक्रबार भएको ब्यान्टमवेट सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै ढाँटले फाइनल यात्रा तय गरेका हुन्।

तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा ढाँटले स्प्लिट डिसिजनका आधारमा फाइनलमा स्थान बनाएका थिए। पहिलो जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने दोस्रो जजले मर्डोकलाई २९–२८ को अग्रता दिएका थिए। निर्णायक तेस्रो जजले पनि ढाँटलाई २९–२८ अंक दिएपछि नेपाली फाइटर विजयी घोषित भएका थिए। यो जितसँगै उनी ‘रोड टु यूएफसी’ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।

मर्डोकविरुद्धको भिडन्त ढाँटका लागि सहज थिएन। यसअघि नै मर्डोक अपराजित फाइटरका रूपमा परिचित थिए। ढाँट र मर्डोक दुवैको व्यावसायिक रेकर्ड प्रभावशाली रहेकाले सांघाईको अक्टागनमा भएको यो भिडन्तलाई ढाँटको अहिलेसम्मकै कठिन परीक्षाका रूपमा हेरिएको थियो। ढाँटले तीन राउन्डको प्रतिस्पर्धामा आफ्नो अनुभव, धैर्य र मानसिक दृढता देखाएका थिए।

तर, पहिलो र दोस्रो राउन्डको सुरुवाती चरणमा मर्डोकलाई दबाबमा राखे पनि धेरै समय उनले संघर्ष गर्नु परेको थियो। त्यसैले निर्णायकको केही अंकको आधारमा अगाडि रहँदै उनले फाइनलको टिकट काट्न सफल भएका थिए। तथापि उनको यो जित केवल अर्को खेलको सफलता थिएन, नेपाली एमएमए खेलाडीले अन्तर्राष्ट्रिय स्तरको उच्च प्रतिस्पर्धामा लगातार आफूलाई प्रमाणित गर्न सक्ने क्षमताको द्योतक पनि थियो।

मकाउबाट सुरु भएको यात्रा

ढाँटको रोड टु यूएफसी यात्रा गत मेमा मकाउबाट सुरु भएको थियो। प्रतियोगिताको क्वार्टरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्तोजोनसँग प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा ढाँटले दोस्रो राउन्डमै टेक्निकल नकआउटमार्फत अलिन्तोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए। त्यो जितसँगै ढाँट रोड टु यूएफसीको अन्तिम चारमा पुग्ने पहिलो नेपाली खेलाडीसमेत बनेका थिए। त्यसैले प्रतियोगिताको हरेक चरणसँगै उनी नेपाली एमएमएको इतिहासमा नयाँ नयाँ कीर्तिमान पनि बनाइरहेका छन्।

मकाउको जितपछि ढाँटको अगाडिको चुनौती भने अझ कठिन थियो। सेमिफाइनलमा उनले न्युजिल्यान्डका मर्डोकको सामना गर्नुपर्ने थियो। मर्डोकलाई पराजित गर्न सके फाइनलमा पुग्ने र यूएफसीसँगको व्यावसायिक सम्झौताको एक कदम नजिक पुग्ने अवस्था थियो। यही कारण सांघाईको भिडन्तलाई नेपाली एमएमए समर्थकले विशेष चासोका साथ हेरेका थिए।

विश्वै ठूलो एमएमए मञ्चमो रवीन्द्रको पाइला

रवीन्द्र ढाँटको कथा केवल रिङमा जितेको खेलको कथा मात्रै होइन, उनको यात्रा संघर्ष, अभाव, जोखिम र आफ्नो सपनाप्रतिको अडानको कथा पनि बनेको छ। बझाङका ढाँट कुनै समय वैदेशिक रोजगारीका लागि कतारमा निर्माण मजदुर बन्ने निर्णयमा समेत पुगेका थिए। तर, भाग्यले उनको जीवनको बाटो परिवर्तन भयोे। उनले एमएमएलाई आफ्नो करियर बनाउने निर्णय लिए। यही निर्णयले उनलाई अहिले विश्वकै चर्चित एमएमए संस्था यूएफसीको ढोकासम्म पुऱ्याएको छ।

इन्डोनेसियाको बालीस्थित सोमा फाइट क्लबका मुख्य प्रशिक्षक वेबे युसेफले पनि ढाँटको यात्रालाई असाधारण कथा भनेका छन्। उनका अनुसार रवीन्द्रको सफलता केवल प्रतिभाको परिणाम होइन, उनको निरन्तर मेहनत, आत्मविश्वास र अवसरलाई उपयोग गर्ने क्षमताको परिणाम हो।

एक हारपछि लगातार उकालो

ढाँटले सन् २०१९ मा व्यावसायिक एमएमए करियर सुरु गरेका थिए। त्यसयता उनले अन्तर्राष्ट्रियस्तरमा निरन्तर प्रतिस्पर्धा गर्दै आएका छन्। उनले अन्तर्राष्ट्रिय व्यावसायिक करियरमा एकमात्र हार बेहोरेका छन्। सन् २०२३ मा ‘वन च्याम्पियनसिप’अन्तर्गत पाकिस्तानका इस्माइल खानसँग उनी पराजित भएका थिए। तर, त्यो हारले उनको यात्रा रोकिएन, अझ फराकिलो भयो। सन् २०२३ मा ‘वन च्याम्पियनसिप’ मा रुसका तोरेपची दोंगाकलाई पराजित गरेपछि नेपाली एमएमए समर्थकमाझ उनको लोकप्रियता बढेको थियो। त्यसपछि भारतमा भएको म्याट्रिक्स फाइट नाइट–१७ मा उनले भारतका चर्चित च्याम्पियन चुङग्रेङ कोरेनलाई हराउँदै ब्यान्टमवेट उपाधि जितेपछि उनको चर्चा नेपालमा थप चुलिएको थियो। यो सफलताले ढाँटलाई नेपाली एमएमएको अग्रपंक्तिमा पुऱ्यायो। यही प्रदर्शनका आधारमा उनी रोड टु यूएफसीको पाँचौं सिजनमा सहभागी हुने अवसर पाएका थिए।

बालीको प्रशिक्षण र ‘सोमा परिवार’

ढाँटको अहिलेको सफलताको पछाडि बालीस्थित सोमा फाइट क्लबको प्रशिक्षणलाई पनि महत्वपूर्ण मानिएको छ। ढाँट करिब दुई वर्षदेखि आफ्ना प्रशिक्षक दिविज पियासँग सोमा परिवारसँग जोडिएका छन्। त्यहाँ उनले विश्वका विभिन्न देशका फाइटरसँग प्रशिक्षण गर्ने अवसर पाएका छन्।

सोमाका प्रशिक्षक वेबे युसेफका अनुसार ढाँट प्रशिक्षणमा निकै मेहनती छन्। उनका लागि प्रतिस्पर्धा केवल आफ्नो व्यक्तिगत सफलताको विषय होइन, आफ्नो टिम र आफूलाई साथ दिने सबैका लागि लड्ने अवसर पनि हो। ढाँटको सफलतामा प्रशिक्षक दिविज पियाको भूमिका पनि महत्वपूर्ण रहँदै आएको छ। अझ राम्रो प्रशिक्षण र अन्तर्राष्ट्रिय स्तरको तयारीका लागि आफ्ना फाइटरलाई बालीसम्म लैजाने निर्णयले नेपाली एमएमएको प्रशिक्षणलाई नयाँ उदाहरण प्रस्तुत गरेको छ।

नेपाली समर्थकको बढ्दो साथ

ढाँटको यात्रा रिङभित्र मात्र सीमित छैन, उनीसँगै विदेशमा रहेका नेपाली दर्शक र समर्थकको ठूलो भावनात्मक सम्बन्ध पनि जोडिएको छ। मकाउमा भएको क्वार्टरफाइनलमा नेपाली समर्थकको उल्लेख्य उपस्थिति देखिएको थियो। प्रशिक्षक वेबे युसेफलेसमेत विदेशमा यति ठूलो संख्यामा नेपाली समर्थक आफ्नो फाइटरलाई समर्थन गर्न उपस्थित भएको देख्दा आफू प्रभावित भएको बताउँदै आएका छन्।

फाइनलमा रियो ताजिमा प्रतिद्वन्द्वी

सेमिफाइनलमा मर्डोकलाई हराएसँगै ढाँटको अगाडिको चुनौती जापानका रियो ताजिमा बनेका छन्। ताजिमाले अर्को सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्। फाइनल भिडन्तको मिति भने तय भएको छैन। ढाँटले फाइनल जितेमा रोड टु यूएफसी–सिजन ५ को उपाधिमात्र जित्ने छैनन्, विश्वकै प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौताको अवसर पनि प्राप्त गर्नेछन्। यही कारण अबको फाइनल ढाँटको व्यक्तिगत करियरका लागि मात्र होइन, नेपाली एमएमएका लागि पनि असाधारण महत्वको बन्न पुगेको छ।

बझाङको गाउँबाट सुरु भएको सपना, निर्माण मजदुर बन्नुपर्ने अवस्थाबाट अलगिएको जीवन, अन्तर्राष्ट्रिय रिङमा गरेको संघर्ष, भारतमा जितेको ब्यान्टमवेट उपाधि, मकाउमा हासिल गरेको नकआउट जित र सांघाईमा अपराजित मर्डोकमाथि प्राप्त कठिन जित हुँदै उनी अब रोड टु यूएफसीको फाइनलमा पुगेका छन्। उनको अगाडि अब एउटा मात्र भिडन्त बाँकी छ। त्यो भिडन्त जिते विश्वको सबैभन्दा ठूलो एमएमए संस्थाको ढोका नेपाली खेलाडीका लागि पहिलो पटक खुल्नेछ। 

त्यसैले रियो ताजिमाविरुद्धको फाइनल केवल दुई फाइटरबीचको प्रतिस्पर्धामात्रै हुने छैन। यो एउटा नेपाली खेलाडीले वर्षौंसम्म बोकेको सपना र त्यसलाई पछ्याउन गरिएको त्यागको परीक्षा हुनेछ। बझाङको ‘बाघ’ भनिने रवीन्द्र ढाँट अब नेपाली एमएमएको इतिहासमा सबैभन्दा ठूलो छलाङ मार्ने संघारमा पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.