विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ

विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ
सुन्नुहोस्

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोम बाढीपीडित क्षेत्रमा पहिलो चरणको राहत सामग्री पठाउँदै।

काठमाडौं : भोटेकोशी र रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपद्को अग्रपंक्तिमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब ६० मेट्रिकटन राहत सामग्री पठाउनुका साथै पूर्वाधार पुनस्र्थापना, स्वास्थ्य टोली र टनेल रेस्क्यु टिम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीनसहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूले समेत उद्धार, राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेका छन्।

भारतले पठाइसकेको तीन चरणको ६० मेट्रिकटन राहत सामग्रीमा अस्थायी आश्रयका सामग्री, कम्बल, सरसफाइ सामग्री, बत्ती र औषधि रहेका छन्। बाढीबाट ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको अवस्थामा भारतले राहतका अतिरिक्त खोज तथा उद्धारमा सहयोगको प्रस्ताव पनि गरेको थियो। नेपालले भने हाल आफ्नै सुरक्षा निकायले खोज तथा उद्धार सञ्चालन गरिरहेको भन्दै विदेशी उद्धार टोली परिचालनको आवश्यकता नरहेको जनाएको छ।

  •     भारतले पठायो ६० मेट्रिकटन राहत
  •     विशेष उद्घार टोली पठाउन भारतको प्रस्ताव
  •     चीन, बेलायत, श्रीलंका, बंगलादेशबाट सहयोग घोषणा
  •     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सहयोग घोषणा
  •     रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

भारतबाट ‘टनेल रेस्क्यु टिम’ र स्वास्थ्यकर्मी आउने तयारी
भारतले विशेष ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका हुन्। 

विपद्को खबर आउनासाथ भारतले मानवीय सहायता परिचालन गरेको छ। साउन १० गते १० टन राहत सामग्री पठाइएको थियो भने बिहीबार ३७.५ टन सामग्री पठाइएको छ। 

शनिबार साँझ थप १२–१३ टन सामग्री बोकेको तेस्रो विमान काठमाडौं आउँदैछ। ‘यससँगै भारतले हालसम्म करिब ६० टन राहत सामग्री नेपाल पठाइसकेको छ,’ जैसवालले भने, ‘यसबाहेक नेपालको आवश्यकताअनुसार टनेल रेस्क्यु टिम, मेडिकल टिम र बेलीब्रिज उपलब्ध गराउन भारत तयार छ।’ भारतले खोजी तथा उद्धार कार्यका लागि राष्ट्रिय आपद मोचन बल (एनडीआरएफ) टोली खटाउन नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ। उनी भन्छन्, ‘उताबाट औपचारिक स्वीकृति प्राप्त हुनासाथ टोली परिचालन हुनेछ।’ 

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तमिलनाडुका २१ जना भारतीय नागरिक दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरले उनीहरूको उद्धारका लागि नेपाली सेना र नेपाल सरकारलाई धन्यवाद दिएका छन्। भारतीय सञ्चारमाध्यमले पनि २१ भारतीय नागरिकलाई उद्धार गरी दिल्ली पु¥याइएको पुष्टि गरेका छन्।

ट्रम्पले भने : नेपाललाई सहयोग गर्न अमेरिका तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक समारोहपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,’ राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि राष्ट्रपति ट्रम्पले सहयोगको प्रतिबद्धता जनाएको एनबीसीले उल्लेख गरेको छ। नेपालमा आएको विपद्पछि भारत, चीनलगायत विभिन्न देश र अन्तर्राष्ट्रिय समुदायले सहयोगको प्रतिबद्धता व्यक्त गरिरहेका बेला अमेरिकी राष्ट्रपतिले पनि नेपाललाई प्रत्यक्ष सहयोगको प्रतिबद्धता जनाएका हुन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोन गरी समवेदना दिएका छन्। उनले शुक्रबार दिउँसो प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी एक्समार्फत गराएका छन्। 

सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने भन्दै लेखेका छन्, ‘यो कठिन घडीमा पाकिस्तान नेपालको सरकार र जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँछ।’ यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री बालेनसँग कुरा गरेका थिए। बेलायत, अस्ट्रेलिया, बंगलादेश, दक्षिण कोरियालगायत मुलुकका विदेशमन्त्रीहरूले परराष्ट्रमन्त्रीलाई टेलिफोन गरेर सहयोग गर्न तयार रहेको जानकारी गराएका छन्।

श्रीलंकाले १० लाख डलर दिने

श्रीलंकाले बाढीबाट प्रभावित नेपाललाई १० लाख डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाली विदेश मन्त्रालयका अनुसार नेपालका जनताप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा सहयोग पठाउन सरकारलाई निर्देशन दिएका थिए। राष्ट्रपति दिसानायकेले बुधबार नै समवेदना सन्देश जारी गरेका थिए।

बिहीबार श्रीलंकाली विदेशमन्त्री विजिता हेराथले परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरी समवेदना, समर्थन र ऐक्यबद्धता जनाएका थिए। श्रीलंका सरकारले नेपाल सरकारलाई जारी उद्धार तथा राहत कार्यमा सघाउँदै जाने पनि भनेको छ।

यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा बंगलादेशका परराष्ट्रमन्त्री रहमानले नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न बंगलादेश सरकार तयार रहेको बताएका छन्।

अस्ट्रेलियाले ५० लाख डलर दिने र राहत पठाउने

बाढीबाट प्रभावितहरूका लागि अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने भएको छ। अस्ट्रेलियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै बाढी प्रभावित क्षेत्रमा ‘कन्सुलर एसिस्टेन्स’ र राहत सामग्री तीव्र रूपमा परिचालन गरिएको जनाएको छ। ५० लाख डलरको सहायता रकम स्थापित साझेदार संस्थाहरूमार्फत खाना, आपत्कालीन वासस्थान, स्वच्छ खानेपानी र सरसफाइमा खर्च गरिनेछ।

नेपालमा आएको विनाशकारी बाढीबाट अति प्रभावित परिवार तथा समुदायका लागि अस्ट्रेलिया सरकारले संकटकालीन आवास तथा अत्यावश्यक राहत सामग्री पठाएको छ। अस्ट्रेलियाले विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा सबैभन्दा बढी आवश्यकता भएका स्थानहरूमा द्रुत गतिमा सहायता पुऱ्याउन सहयोग गरिरहेको छ। ‘उद्धार तथा राहतको कार्य जारी रहँदा नेपाल सरकार र मानवीय सहायतामा खटिएका साझेदार संस्थाहरूलाई सहयोग गर्न प्रतिबद्ध छौं,’ नेपालस्थित अस्ट्रेलियाली दूतावासले भनेको छ।

बेलायतको ५ मिलियन पाउन्ड सहयोग

बेलायतले भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि उद्धार तथा राहत कार्यमा सहयोग गर्न ५ मिलियन पाउन्ड अर्थात् करिब १ अर्ब ४ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ।

बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका बेला बेलायतले उक्त आर्थिक सहयोग प्रस्ताव गरेको हो। नेपाल सरकारले भने विदेशी सहायता एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउन अपिल गरेको छ।

पुटिन दुःखी

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाएको सन्देशमा राष्ट्रपति पुटिनले पहिरो तथा बाढीका कारण धेरै नागरिकको ज्यान गएको र ठूलो विनाश भएको भन्दै समवेदना प्रकट गरेका हुन्। ‘हामी मित्रवत् नेपाली जनताको यो शोक र पीडामा साथमै छौं,’ उनले भनेका छन्। काठमाडौंस्थित रसियाली दूतावासका अनुसार पुटिनले शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै यस विपद्बाट प्रभावित सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

नेपालले माग्यो तत्कालै बेलीब्रिज

सरकारले बाढीबाट क्षतिग्रस्त सडक तथा पुल सञ्जाल तत्काल पुनस्र्थापना गर्न भारत र चीनसँग बेलीब्रिज सहायता मागेको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण ४२ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सरकारले भारत र चीनलाई औपचारिक रूपमा सहयोगका लागि पत्राचार गरेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए। भारतले एउटा बेलीब्रिज नेपालमै उपलब्ध रहेको र त्यसलाई तत्काल प्रयोग गर्न सकिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.