१३ जलविद्युत्का ९३६ कर्मचारी–प्राविधिक सम्पर्कविहीन
आयोजनाका संरचनामा क्षति पुग्दा विद्युत् उत्पादन र सञ्चालन प्रभावित
काठमाडौं : बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न १३ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। आयोजनाका संरचना, कार्यालय तथा कामदारका क्याम्पमा क्षति पुग्दा विद्युत् उत्पादन र सञ्चालनसमेत प्रभावित भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा करिब दुई हजार कामदार कार्यरत थिए। तीमध्ये ९ सय ३६ जना अझै सम्पर्कविहीन छन्।
इप्पानका प्रमुख कार्यकारी अधिकृत भीम गौतमका अनुसार बाढीमा परेका कामदारमध्ये २ सय ५४ जनाको उद्धार भइसकेको छ। तर, ठूलो संख्यामा कामदार अझै बाढी प्रभावित क्षेत्रमा फसेका छन्। तत्काल पाँचवटा जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार गर्नुपर्ने अवस्था रहेको उनले बताए।
‘बाढीमा परेका कामदारमध्ये २ सय ५४ जनाको उद्धार भइसकेको छ। तर अझै बाढीमा फसेकाहरूको उद्धार हुन बाँकी छ। तत्काल पाँचवटा हाइड्रोपावरमा फसेकाहरूको उद्धार गर्नुपर्ने अवस्था छ,’ गौतमले भने।
- भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा ठूलो क्षति पुऱ्यायो।
- आयोजनाका संरचना, कार्यालय र कामदारका क्याम्प बाढीले क्षतिग्रस्त भएका छन्।
- प्रभावित आयोजनामा कार्यरत करिब २ हजार कामदारमध्ये ९ सय ३६ जना सम्पर्कविहीन छन्।
- तत्काल पाँचवटा जलविद्युत् आयोजनामा फसेका कामदारको उद्घार गर्नुपर्ने अवस्था छ।
- रसुवाको माथिल्लो त्रिशूली–१ का मात्रै ५ सय ७६ जना कामदार सम्पर्कविहीन छन्।
- रसुवागढी आयोजनाका ९३ जना तथा अन्य विभिन्न आयोजनाका दर्जनौं कामदार तथा नुवाकोटको माथिल्लो त्रिशूली–३ बी का १५८ जना कामदार सम्पर्कविहीन छन्।
उद्धारका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग प्रत्यक्ष समन्वय भइरहेको उनले बताए।
५७६ जना एउटै आयोजनाका सम्पर्कविहीन
भोटेकोशी बाढीका कारण रसुवाका सात जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका छन्। तीमध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका मात्रै ५ सय ७६ जना कामदार सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
त्यस्तै, रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना कामदार सम्पर्कविहीन छन्। रसुवा भोटेकोशीका चार, लाङटाङ खोलाका ४२, चिलिमेका आठ र मेलुङ खोलाका सात कामदार सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। माथिल्लो मेलुङमा कार्यरत कति कर्मचारी सम्पर्कविहीन छन् भन्ने यकिन हुन सकेको छैन।
नुवाकोटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाका १ सय ५८ जना कामदार पनि सम्पर्कविहीन छन्। त्यस्तै, माथिल्लो त्रिशूली–३ का ४२ जना, त्रिशूली जलविद्युत् आयोजनाका एक जना र देवीघाट जलविद्युत् आयोजनाका एक जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। मिडिल त्रिशूली गंगाका दुई जना कामदार पनि सम्पर्कविहीन छन्।
नुवाकोट सौर्य जलविद्युत् आयोजनामा कार्यरत कामदारको अवस्थाबारे भने अझै यकिन हुन सकेको छैन।
उद्धारमा ढिलाइ भएको गुनासो
चिलिमे इन्जिनियरिङ सर्भिसेसका प्रबन्ध निर्देशक प्रशान्त मल्लका अनुसार, बाढी आउनुअघि आयोजनामा कन्सल्टेन्ट र क्लाइन्टका तर्फबाट करिब ६५ जना कर्मचारी कार्यरत थिए। बाढी आएको समयमा कार्यालय र क्याम्पमा गरी ४५ जना रहेको उनले बताए। मोबाइलको लोकेसन ट्र्याक गर्दा उनीहरू कार्यालय र क्याम्प रहेकै क्षेत्रमा देखिएको र अझै जीवित हुन सक्ने आशा रहेको मल्लले बताए। तर, उद्धारका लागि सरकार र सम्बन्धित निकायबाट प्रभावकारी पहल हुन नसकेको उनको गुनासो छ। ‘मोबाइल ट्र्याक गर्दा उहाँहरू कार्यालय र क्याम्प रहेकै ठाउँमा देखिनुभएको छ। त्यसैले अझै जीवित हुनुहुन्छ भन्ने आशा छ। तर उद्धारका लागि सरकारले तत्काल पहल गर्न सकेको छैन,’ उनले भने।
त्रिशूली जलविद्युत् आयोजनासँगसमेत उद्धारका लागि आग्रह गर्दा तत्काल उद्धार अघि बढ्न नसकेको उनले बताए। ‘६ वटा आवास र कार्यालय रहेका ठाउँमध्ये अहिले कुनै पनि देखिने अवस्थामा छैनन्। कार्यालय रहेको सम्पूर्ण क्षेत्र नै बगरले पुरिएको छ,’ मल्लले भने।
प्रतिक्रिया दिनुहोस !