बाढीको इपिसेन्टर पुग्नै सकेन सरकार
काठमाडौं : किस्पाङ गाउँपालिका वडा नं. ५, सिरुपानी, नयाँपुलस्थित त्रिशूली ३ बी जलविद्युत् आयोजनामा कार्यरत सिभिल इन्जिनियर किसान अधिकारी बाढीको सूचना पाएलगत्तै दौडिएर बाँच्न सफल भए। तर भदौ १० गते भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीले सोही कार्यालयको क्वार्टरमा रहेका उक्त कम्पनीका टोलीप्रमुख कमलबहादुर पाण्डे भने अझै त्यही क्वार्टरमै छन्। उनीमात्र होइन, उनीसँगै उक्त क्वार्टरमा ४५ जनाको अवस्था अझै अज्ञात छ।
‘क्वार्टरमा बस्थ्यौं। क्वार्टर र हाम्रो अफिससँगै छ— नयाँपुल, किस्पाङ गाउँपालिका ५ नम्बर वडामा। त्यही क्वार्टरको लगभग २०–४० मिटर वरपर पावर हाउसको साइट छ,’ इन्जिनियर किसानले भने, ‘घटनास्थलबाट भागेर म बाँच्न सफल भएँ भन्नुपर्यो। साथीभाइहरू त अझै बेपत्ता हुनुहुन्छ।’ त्यहाँको वस्तुस्थिति कस्तो थियो ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘हामी क्वार्टरमा बस्थ्यौं। क्वार्टर र हाम्रो अफिस सँगै छ, नयाँपुलमा। त्यही क्वार्टरको लगभग २०–४० मिटर वरपर पावर हाउसको साइट छ।’ उनका अनुसार म चाहिँ बिहानै पावर हाउसमा कङक्रटिङका लागि इन्स्पेक्सन गराउन गएको थिएँ। अरू साथी मलगायत चाहिँ चिलिमे इन्जिनियरिङ कन्सल्टेन्सी, क्लाइन्टका अरू साथीहरू सबै अफिस बेस हुनुहुन्थ्यो।
इन्जिनियर अधिकारी त्यहाँबाट सबै काम सकेर तल साइटबाट झर्दा खोलाको छेउमा पुग्दा ९ बजेर २१ मिनेट गएको थियो। ‘मसँग त्यो कल हिस्ट्री छ, जतिबेला अफिसको सरलाई फोन गरेँ– सर मास्तिर बाढी आयो रे! के छ भनेर बुझ्नुस् भनेँ,’ उनी थप्छन्, ‘त्यहाँ बुझ्न भनेर फोन राख्दा त्यस्तै ९:२२, २३, २४ भएको होला, हामीलाई सर्लक्कै छोप्यो। त्योभन्दा माथि नयाँपुलनेर पहाडमा लेदोसहितको ठूलो वेभ देख्यौं।’ उनीहरू त्यहाँबाट भागेर बाँच्न सफल भए। उनका अनुसार अहिले ३ बीको कार्यालय र क्वार्टर भएको घर लेदोले पुरिएको छ, जहाँ ४५ जना मान्छेहरू हुनुहुन्छ।
‘क्वार्टरको ५० मिटर टाढाबाट चाहिँ एकजना इन्जिनियर किसान अधिकारी भागेर बाँच्नु भएछ तर उहाँले लेदोसहितको बाढीले आँखैअगाडि त्यो घरलाई छोप्यो भन्नुभएको छ,’ टोलीप्रमुख पाण्डेकी पत्नी मिथिलाले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘तर घर लड्दा आउनुपर्ने आवाज आएको छैन भन्नुभएको छ उहाँले, किनकि इन्जिनियर भएकाले पनि घर लडेको छैन भन्नुहुन्छ। भनेपछि मान्छे बाँच्ने सम्भावना छ पनि भन्नुहुन्छ।’ मिथिलाका अनुसार तर अहिलेसम्म त्यहाँ के भयो सरकारलाई पत्तो छैन। ‘हामीले धेरै प्रयास गर्दाखेरि पनि सर्च एन्ड रेस्क्युको टिम चाहिँ झार्न सकेका छैनौं,’ उनी भन्छिन्, ‘अनि यहाँ सबैजना जो पीडित पक्षहरू हुनुहुन्छ ४५ घरको, सबैजनासँग बुझ्दाखेरि अहिलेसम्म केही भएको छैन भन्ने आउँछ।’
मिथिलाका अनुसार सरकारले सबैतिर सर्च एन्ड रेस्क्युका टिमहरू झार्यो, खोज्यो तर यो त्रिशूली ३ बी मा चाहिँ टिम झार्दै झारेन। ‘कम्तीमा त्यो घर छैन, बग्यो अथवा त्यहाँबाट दबियो अथवा के भयो त ? एउटा स्टाटसमात्रै थाहा पाउन पाए पनि मनमा अलिकति शान्ति हुन्थ्यो,’ मनभरि गाँठो पार्दै उनले थपिन्, ‘एक त हामीलाई बाँचेका छन् भन्ने आस छ, अर्को त्यहाँ बाँचेका छन् भने कति पीडा भोगेका होलान् ? कति सास्ती खेपेका होलान् ? सरकारले यता चाहिँ ध्यान दिनुपर्दैन कि के हो ? ’
इन्जिनियर किसान अधिकारी घटनाबारे सुनाउँछन्, ‘हामी गमबुटमा थियौं साइट गएकाले। मसहित कन्ट्र्याक्टरका ४–५ जना साथी दृश्य देख्नासाथ त्यहाँबाट भाग्यौं। अलिकति अगाडि सडकै सडक गएपछि दिमागले के सोच्यो, तुरुन्त निर्णय लिएँ, जे लिएँ त्यसले म बाँचेछु तर साथीहरू बचाउन सकिनँ,’ उनी भन्छन्, ‘बुट खोलेर घारीघारी माथि उक्लिएँ। अरू साथीहरू सँगसँगै भाग्दै हुनुहुन्थ्यो, सायद उहाँहरू सडकै सडक भाग्नुभयो।
कताबाट भाग्नुभयो, के भयो, केही मेसो पाउन सकिनँ।’ उनका अनुसार माथि पुगेर हेर्दा कम्पनीपट्टिबाट मेकानिकल इन्जिनियर, सर्भे अफिसर र म अनि अर्को कन्ट्याक्टरपट्टिबाट दुईजना इन्जिनियरलाई देखेँ। ‘त्यसपछि म माथि पुगेर डिलबाट हेरेँ, पावर हाउस एरिया, मेरो अफिसको यार्ड र क्वार्टर पूरै लेदोले छोपिसकेको रहेछ,’ अधिकारी सुनाउँछन्, ‘जहाँसम्म लाग्छ, त्यो बिल्डिङ डिपोजिटेड भएर चाहिँ बसेको छ, बिल्डिङ बगाएको छैन।
अब त्यहाँभित्र के–कस्तो अवस्था छ ? उहाँहरू मिसिङ हुनुहुन्छ वा के ? ग्यारेन्टी गर्न सक्ने अवस्था चाहिँ रहेन। मनले भन्छ, उनीहरू भित्रै जीवित हुनुपर्छ। बाध्यतामा परेर बस्नुभएको छ अथवा उछिट्टिएर जंगल पुग्नुभएको पनि हुन सक्छ।’ उक्त भवनभन्दा धेरै माथिको तहसम्म खोलाको बगरजस्तो बनेको उनको भनाइ छ। फ्याब्रिकेसन यार्ड सबै नै पूरै ढाकिएको र केही पनि नदेखिने उनको भनाइ छ।
अधिकारीका अनुसार १० मिनेटपछि हेर्दा त्यहाँ अघिको बाढी नै छैन। ‘यति छिटो आएर त्यति नै छिट्टै गयो कि बाढीको वर्णन गर्न सकिएन, मान्छेले भाग्ने समय नै पाएनन्,’ उनले भने, ‘मसँगै भागेका साथीहरू माथि गएर हेर्दा कोही छैनन्। कन्ट्याक्टरका प्रोजेक्ट म्यानेजर, असिस्टेन्ट प्रोजेक्ट म्यानेजर, हाम्रा इन्जिनियर साथीहरू कोही पनि भेटिएनन्।’ उनका अनुसार उनकै छोरी र आमा पनि त्यही क्वार्टरमा थिए। कतिसम्म भने कम्पाउन्डमा भएकाहरूलाई पनि उनले खबर गर्न पाएनन्। ‘एकै मिनेटमा खबर हुन्थ्यो तर त्यति भन्ने समयसमेत पाइनँ। उहाँहरू पनि त्यही ट्र्यापमा पर्नुभयो,’ उनले एक सासमा सुनाए।
उनले सुने अनुसार अफिसको क्वार्टर कम्पाउन्डबाट विभिन्न चिलिमेका साथीमध्ये निस्केर बाँच्ने एकजना मात्र हुनुहुन्छ— रुकुमपश्चिमका प्रशासन सहायक नवीन हमाल; जसलाई उनले पछि गाउँमा गएर भेटेको जानकारी दिए। ‘उहाँ चाहिँ खोला हेर्न जाँदै हुनुहुँदो रहेछ बाढी आयो भनेर। खोला हेर्दै जाँदा केही किन्न माथितिर पसलमा उक्लिँदा बाढी आएको देखेर माथितिर भाग्नु भएछ,’ उनले भने।
कम्पनीका टोलीप्रमुख कमलबहादुर पाण्डेका जेठान अनन्त विष्टले ज्वाइँ कमल र भान्जा इन्जिनियर प्रतीक भट्ट त्यही क्वार्टरमा परिरहेको भन्दै शीघ्र खोजतलासका लागि सरकारसँग आग्रह गरे। ‘
हामीले गुहार्दागुहार्दै तीन दिन भइसक्यो, सरकारले उद्धारका लागि केही गरेको छैन,’ उनले भने, ‘अफिसभित्र उहाँहरू मिटिङमा हुनुहुन्थ्यो। मिटिङ भइसकेपछि अचानक बाढी आएको बुझिन्छ, उहाँहरू भित्रै हुनुहुन्छ।’ उहाँहरू जीवितै हुनुपर्ने दाबी गर्दै उनले अहिले उक्त क्षेत्र १५–२० फिट पुरिएको जानकारी सरकारलाई गराइदिन आग्रह गरे। ‘अहिलेसम्म ३ बी मा रेस्क्यु कतैबाट पनि भएन। हामीले अहिले सम्बन्धित अफिसलाई पनि जानकारी गराइसक्यौं,’ उनी थप्छन्, ‘मान्छेलाई त अन्तिमसम्म आस हुन्छ। भवन डुबेर बगेकै रहेछ भने त्यसपछि चित्त बुझाउँला।
एकचोटि रेस्क्यु टोली पुगेर यथार्थ जानकारी त दिनुपर्यो नि।’ यसरी सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको र भौगोलिक जटिलताका कारण उद्धार टोली पैदल पुग्न नसक्ने अवस्था रहँदा हजारौं नागरिक, चालक तथा मजदुरहरू जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन्। प्राकृतिक विपद्को यो विकराल घडीमा स्थानीय जनप्रतिनिधिहरूले भने संघीय सरकारको तदारुकता पर्खेर बसेका छन्।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार, मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म लगातार समन्वय गर्दा पनि कुनै सुनुवाइ भएन। ‘हेलिकप्टरको प्रतीक्षा गर्दागर्दै घाइतेलाई कालिकास्थान र जिवजिवे अस्पताल हुँदै १० घण्टापछि मात्रै धुन्चे पुर्याउनुपर्ने बाध्यता आइपर्यो,’ अध्यक्ष अर्यालले सामाजिक सञ्जालमा गुनासो पोखेका छन्। आफ्ना नागरिकको उद्धारका लागि सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत हारगुहार गर्दा उल्टै गृहमन्त्रीको सचिवालयबाट फोन गरी ‘नकारात्मक प्रचार र राजनीति नगर्नू’ भन्दै दबाब दिइएको उनको भनाइ छ।
प्रभावित क्षेत्रको स्थिति झन्झन् भयानक बन्दै गएको छ। रसुवाको सबैभन्दा बढी प्रभावित गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार प्रभावित क्षेत्र पूरै लेदो र ग्रेगानको घेराबन्दीमा छ। ‘सडकको नामोनिसान छैन, पूरै दलदल भएकाले पैदल जाने कुनै सम्भावना छैन,’ तामाङले भने, ‘हेलिकप्टरबाहेक प्रभावित क्षेत्रमा पुग्ने अर्को कुनै विकल्प नै छैन।’ उद्धारमा सरकारको यो ढिलासुस्तीका कारण व्यावसायिक क्षेत्र र सर्वसाधारण नागरिक निराश छन्।
चिलिमे हाइड्रोपावरमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे टनेलभित्र फसे पनि उद्धार हुन सकेको छैन। उनकी श्रीमती रूपा पौडेलले फेसबुक लाइभमा बसेर आफ्ना श्रीमान्को उद्धार गर्न सरकार गुहारेकी छन्।
रसुवागढी÷टिमुरे क्षेत्रमा राष्ट्रिय कर्तव्यमा खटिएका भन्सार, हाइड्रो लगायतका सयौं निजामती कर्मचारीहरू अझै सम्पर्कविहीन छन्। ‘उनीहरूको खोज तथा उद्धारका लागि समर्पित खोज तथा उद्धार अभियान सञ्चालन गर्न हामी आह्वान गर्दछौं,’ यमुना पराजुली अधिकारीले लेखेकी छन्, ‘यस क्षणमा उनीहरूका आफन्त तथा प्रियजनहरूले अपेक्षा गर्न सक्ने न्यूनतम कुरा यही हो।’
सर्वसाधारणमात्र होइन, सञ्चारकर्मी टेकराज थामीको पनि हालसम्म कुनै अत्तोपत्तो छैन। उद्धारका लागि हालसम्म कुनै प्रयास नभएको परिवारजनको दुःखेसो छ। यस्तै, अर्का सञ्चारकर्मी निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनी हालसम्म सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजीका लागि पौडेलले व्यापक आह्वान गरिरहेका छन्। यस्तै, सञ्चारकर्मी बिनु पोख्रेलले लेखेकी छन्, ‘मेरा बाबालगायत दुई नानीबाबुसहितको २० जनाको टोली बुटवल–१६ बाट गोसाइँकुण्ड जानुभएको थियो। १० गते बिहानको बाढीले बीचबाटोमै अलपत्र पर्नु भएको छ। लाइन तथा नेटवर्कको समस्याका कारण सम्पर्कमा हुनुहुन्न।’ यस्तै, पूर्वसहसचिव हरि खनालले पनि सञ्जालमा लेखेका छन्, ‘धादिङबाट गोसाइँकुण्ड जानुभएका २९ जनाको पर्खाइमा छौं।’
एक हजारभन्दा बढी चालक अलपत्र
नेपाल ट्रक व्यवसायी संघका अध्यक्ष राजेन्द्र बानियाँका अनुसार चीनतर्फ र नेपाल भन्सार आसपासमा करिब चार सय कन्टेनर र एक हजारभन्दा बढी चालक तथा कामदार फसेका छन्। बाढी आएलगत्तै उद्धार र अवस्था बुझ्न निजी हेलिकोप्टर लिएर जान खोज्दासमेत सरकारी निकायबाट अनुमति नपाएको बानियाँले बताए। ‘हाम्रा साधन र मान्छे कहाँ कस्तो अवस्थामा छन्, न सरकारलाई थाहा छ, न हामीले खोज्दा सरकार भेटिन्छ, समयमा उद्धार नहुँदा बाँचेका कति कामदारले ज्यान समेत गुमाइसके,’ उनले आक्रोश पोखे।
ओखलढुंगाको चिशंखुगढीका दुर्गा भट्टराईका अनुसार जलविद्युत् आयोजनाको सुरुङभित्र आफ्ना छिमेकी भाइसहित थुप्रै मजदुरहरू फसेका छन्। ‘उद्धारका लागि अपिल गरेको दुई दिन बितिसक्दा पनि त्यहाँ कुनै उद्धार टोली पुग्न सकेको छैन,’ उनले भने। उद्धारमा खटिएका सरकारी निकायहरूले नदीको सतहमा देखिएका र बगेकाहरूलाई मात्र प्राथमिकता दिँदा सुरुङभित्र फसेका मजदुर र नाकामा रोकिएका सर्वसाधारण ओझेलमा परेका छन्। सरकारले निजी क्षेत्रका हेलिकोप्टरसमेत ‘होल्ड’ गरेर राखेको तर उद्धारमा प्रभावकारी कदम चाल्नुभन्दा प्रचारमा रमाउने गरेको आफन्तजनको आरोप छ।
काठमाडौंमा बसेर निर्णय गर्ने, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू नुवाकोटसम्म पुगेर अवलोकन गरी फर्किने तर बाटो बन्द हुँदा जीवित र फसेका पीडितसम्म उद्धार टिम पुग्न नसकेको स्थानीयको भनाइ छ। खाल्टे बेत्रावती, गोसाइँकुण्ड वडा नं. २ र स्याफ्रुबेंसी क्षेत्रमा भएको क्षतिको अझै यकिन अनुमान हुन सकेको छैन। यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू भने खराब मौसम र निरन्तरको पहिरोका कारण हवाई र स्थल दुवै मार्गबाट उद्धारमा कठिनाइ भइरहेको दाबी गर्छन्। तथापि, शुक्रबारबाट केही हेलिकोप्टर रसुवाका मुख्य प्रभावित क्षेत्रमा पुगे पनि त्यो पर्याप्त छैन।
बाढी आएको तीन दिन बितिसक्दा पनि सुरुङभित्र फसेका मजदुरको अवस्था अज्ञात रहनु र अर्थतन्त्रको मुख्य नाकामा हजारौं नागरिक अलपत्र पर्नुले राज्यको विपद् व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। कागजी समन्वय र आकासे निरीक्षणमा सीमित नभई सरकारले तत्काल प्राविधिक टोलीसहितको प्रभावकारी उद्धार र राहत सामग्री इपिसेन्टरमा नपुर्याउने हो भने मानवीय क्षति अझै बढ्ने निश्चित छ। सडकमार्ग ठप्प भएको, निजी क्षेत्रलाई समेत उद्धारमा जान अनुमति नदिइएको र सरकारी हेलिकप्टर पनि इपिसेन्टरसम्म नपुगी होल्ड गरिएकाले टनेलभित्र र नाका क्षेत्रमा फसेका हजारौं नागरिकको ज्यान गम्भीर जोखिममा परेको छ। पीडित परिवार र व्यवसायीहरूले तत्काल निजी तथा सरकारी दुवै माध्यमबाट इपिसेन्टरमै पुगेर उद्धार र खोजी कार्यलाई तीव्रता दिन सरकारसँग जोडदार माग गरेका छन्।
सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौं।

वालेन्द्र शाह,प्रधानमन्त्री
सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोस्ट पढेँ हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ। केही क्षेत्रमाबाहेक विपद्को अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन।

माधव अर्याल
अध्यक्ष, उत्तरगया गाउँपालिका, रसुवा
‘सारा शक्ति उद्धार र राहतमा छ’
प्रधानमन्त्री वालेन्द्र शाहले बाढी पहिरो प्रभावित रसुवा, भोटेकोशी–त्रिशूली करिडोरलगायतका क्षेत्रमा सरकारको सम्पूर्ण ध्यान नागरिकको राहत, खोज तथा उद्धारमा केन्द्रित रहेको बताएका छन्। ‘सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौं,’ प्रधानमन्त्रीले शुक्रबार साँझ भने।
अपर त्रिशूली र रसुवागढी जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्रीको भनाइ छ। ‘१६ वटा हेलिकप्टरमार्फत ९९ उडान गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेंसीबाट ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ भने ३२ ट्रक र ६ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ,’ प्रधानमन्त्रीले भने।
प्रतिक्रिया दिनुहोस !