बाढीपीडितका लागि नेपाली जनसम्पर्क समिति साउदीको ६ लाख सहयोग
साउदी अरब : भोटेकोशी नदीमा विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाली जनसम्पर्क समिति साउदी अरबले ६ लाख ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक मानवीय सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग घोषणा गरिएको समितिले जनाएको छ। बाढीपहिरोका कारण रसुवासहित नदी तटीय क्षेत्रका नागरिकको जनजीवन प्रभावित भइरहेका बेला समितिले पीडितको साथमा उभिने प्रतिबद्धता जनाएको हो।
समितिले विपद्को समयमा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको जनाएको छ। साथै, साउदी अरबमा रहेका नेपाली समुदाय, संघसंस्था तथा सहयोगी मनहरूलाई समेत पीडितको उद्धार र राहतका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेको छ।
समितिले सहयोग रकममार्फत बाढीपहिरो प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को यस घडीमा ‘विपद्मा परेका नेपालीको साथमा नेपाली जनसम्पर्क समिति परिवार, साउदी अरब’ भन्ने प्रतिबद्धतासहित मानवीय सहयोगको अभियानमा सबै नेपालीलाई एकजुट हुन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !