हिमालका ‘प्राकृतिक बम’ थामे र रसुवाको विनाश सुरुवात मात्र !
विश्वको कुल उत्सर्जनमा नेपालको हिस्सा ०.१ प्रतिशतभन्दा पनि कम छ । तर, यसको सजाय भने नेपाल र नेपालीले नै सबैभन्दा बढी भोग्नुपरेको छ । घर बगेको, बाटो बगेको, आफन्त गुमाएको दुःख अरूले उत्सर्जन गरेको ग्यासको प्रतिफल हो ।
काठमाडौं : सोलुखुम्बुको थामे गाउँमाथि २०८१ भदौ १ गते बिहान अचानक हिमताल फुट्यो, पानी र माटोको भेल गाउँतिर पस्यो। विद्यालय, स्वास्थ्यचौकी बगे। झन्डै २० घर भत्किए, १३५ जना रातारात बेघरबार भए। एक वर्ष नबित्दै ०८२ असार २४ गते यस्तै घटना भयो। यसपटक ठाउँ फेरियो— रसुवाको भोटेकोशी। तिब्बततर्फ बनेको एउटा नयाँ हिमताल फुट्यो, नेपाल–चीनलाई जोड्ने मैत्री पुल क्षणभरमै बगायो। ९ जनाले ज्यान गुमाए।
०८३ भदौ १० गते फेरि त्यही भोटेकोशी–रसुवा निशानामा पर्यो यसपटकको विनाश लेखाजोखा गर्न नसकिने छ। बस्ती—बस्ती नै बगे। किनारामाथिका घर, पुल, सडक, जलविद्युत् आयोजना सबै बगे, र मृतकको शव ७ सय हाराहारी भेटिए। उद्धार अझै जारी छ, हजारौं बेपत्ता छन्।
तीन वर्ष, तीनवटा ठूला घटनाको कारण भने उही, एउटै हिमाल र हिमनदीबाट आउने पानी। वर्षौंदेखि वैज्ञानिकहरूले दिँदै आएको चेतावनी अब साबित भइरहेको छ। सन् २०२० मा नै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को अध्ययनले नेपाल, तिब्बत र भारत गरी तीनतिर फैलिएका हिमतालमध्ये ४७ वटालाई ‘सम्भावित खतरनाक’ भनेका थिए– जुन कुनै पनि बेला फुट्न सक्छन्। यीमध्ये २१ नेपालभित्रै छन्, २५ तिब्बततर्फ र १ भारततर्फ।
सबैभन्दा डरलाग्दो कुरा ती ४७ मध्ये ४२ वटै हिमताल कोशी नदी बेसिनमा पर्छन्। तिनको निकास कोशी बेसिन भोटेकोशी, सुनकोशी, अरुण, दूधकोशी प्रमुख प्रणाली हुन्। यी नदी तीव्र प्रवाहका छन्, त्यसैले हिमताल फुटेमा पानी छिटो र भयानक गतिमा तल झर्छ। इम्जा, च्छो रोल्पा, थुलागी, लोअर बारुण, लुम्डिङ जस्ता हिमताल त झन् निरन्तर फैलिँदै र कमजोर हुँदै गएकाले सरकारले नै छुट्टै उच्च–जोखिम सूचीमा राखेको छ।
बारम्बार किन बढ्दै छन् दुर्घटना ?
पटक–पटक भएका विपद्को जवाफ दिनलाई सजिलो छ– तापक्रम बढ्दैछ। तापक्रम बढ्दा हिमनदी पग्लिन्छ, पग्लिएको पानी जम्मा भएर हिमताल बन्छ वा फैलिन्छ। र, त्यो पानी थाम्ने माटो–ढुंगाको बाँध कमजोर हुन्छ। कुनै हिमपहिरो, चट्टान खसाइ वा भारी वर्षाले थोरै धक्का दिदाँ पनि बाँध फुट्छ। क्षति तलका बस्तीहरूले भोग्नुपर्छ।
भोटेकोशी–रसुवाको हकमा त झन् चिन्ताजनक कुरा के हो भने यसपटक फुटेको ताल ६ वर्षअघिको ४७ को औपचारिक सूचीमै परेको थिएन। यो भनेको हिमाल यति छिटो फेरिँदैछ कि वैज्ञानिक अध्ययनले पनि भ्याइरहेका छैनन्।
जलवायु परिवर्तन विज्ञ बाटुकृष्ण उप्रेतले नागरिक सेवा सुविधा, सडक आदि हेरेर बसोबास नदी किनारतिर गर्न थालेको बताए। ‘विकासका काम पनि त्यतै छन्, मानिसहरू नदी किनारतिर सरे, तर हिमालतिर तापक्रम बढेर कतिखेर हिमताल फुट्छ पत्ता नहुने अवस्था छ, यसले नदी किनारामा पलपलमा जोखिम बढाइरहेको छ,’ उनले भने। विकास र बसोबासको मोडल नै परिवर्तन आवश्यक भइसकेको विज्ञहरू बताउँछन्।
हिमनदी पग्लिने र तापक्रम बढ्ने मुख्य कारण विश्वभरका ठूला औद्योगिक मुलुकले उत्सर्जन गर्ने कार्बन हो। नेपालको योगदान त्यसमा नगण्य छ। विश्वको कुल उत्सर्जनमा नेपालको हिस्सा ०.१ प्रतिशतभन्दा पनि कम छ। तर, यसको सजाय भने नेपाल र नेपालीले नै सबैभन्दा बढी भोग्नुपरेको छ। घर बगेको, बाटो बगेको, आफन्त गुमाएको दुःख अरूले उत्सर्जन गरेको ग्यासको प्रतिफल हो।
सीमापार जोखिम पनि उत्तिकै जटिल छ। धेरै हिमताल तिब्बततर्फ छन्, तर तिनको पानी नेपाल हुँदै बग्छ, प्रकोपको उत्पत्ति बाहिर, तर विनाश यतै। पछिल्लो भोटेकोशी घटनामै नेपाल र चीनका निकायले सुरुमा फरक–फरक कारण (भूकम्प, हिमपहिरो, हिमताल विष्फोट) बताउनुले दुई देशबीच तथ्यांक र समन्वयको खाडल पनि छर्लंग पारेको छ।
अन्तरदेशीय सूचना प्रणालीको खाँचो
इसिमोड र यूएनडीपीले निरन्तर उपग्रह निगरानी, प्रारम्भिक चेतावनी प्रणाली र सीमापार तथ्यांक साझेदारी अत्यावश्यक भन्दै आएका छन्। तर, व्यवहारमा धेरै हिमताल–विशेषगरी भर्खरै बन्ने साना ताल नियमित निगरानीबाटै बाहिर छन्। भएको प्रणाली पनि कमजोर छ। दुई छिमेकी मुलुकबीच तथ्यांक आदानप्रदान ढिलो हुन्छ। यसैले प्राकृतिक जोखिम पटक–पटक मानवनिर्मित त्रासदीमा बदलिइरहेको छ।
नेपालमा विज्ञका चेतावनी पढ्ने, अन्तर्राष्ट्रिय मञ्चमा ठूला कुरा गर्ने तर, नेपालमा आएर कार्यन्वयन नहुने समस्या प्रमुख रहेको जलवायु परिवर्तन विज्ञ उप्रती बताउँछन्। उनले अन्नपूर्णसँग भने ‘सरकारी योजना र कार्यन्वयन प्रभावकारी हुनुपर्छ, यसबारे अध्ययन अनुसन्धान गर्न इसिमोडजस्तो राष्ट्रिय संस्था चाहिन्छ, यसबारे बहस भए पनि सरकारले बनाउनतिर लागेन।’
थामे, भोटेकोशी २०२५ र अहिलेको भोटेकोशी–रसुवा तीनवटै घटना छुट्टाछुट्टै होइनन्, एउटै कथाका फरक–फरक अध्याय हुन्। हिमाल पग्लिँदैछ, हिमताल फैलिँदैछ, र तल बस्ने मानिसको जोखिम बढ्दै गएको छ। प्रश्न अब ‘फेरि अर्को घटना हुन्छ कि हुँदैन’ भन्ने होइन कि अर्को पटक हुनुअघि नेपाल कति तयार हुन्छ र पूर्व सूचना सयन्त्र कस्तो छ भन्ने प्रमुख हो।
- तीन वर्षमा थामे र भोटेकोशी क्षेत्रमा तीन ठूला हिमतालजन्य विपद्।
- तापक्रम वृद्घिका कारण हिमनदी पग्लिँदा हिमतालको आकार र जोखिम बढ्दै छ।
- इसिमोड–यूएनडीपी अध्ययनले ४७ हिमताललाई सम्भावित खतरनाक सूचीमा राखेको छ।
- जोखिमयुक्त ४७ मध्ये ४२ हिमताल कोशी नदी बेसिनमा।
- पछिल्लो भोटेकोशीमा फुटेको हिमताल पुरानो जोखिम सूचीमै थिएन।
- नदी किनारमा बढ्दो बस्ती र विकास संरचनाले जोखिम थप बढाएको छ।
यसका लागि नीतिगत व्यवस्था नै प्रभावकारी हुनु पर्ने जलवायु अनुकूलन विज्ञ डा. धर्मराज उप्रेतीको जोड छ। नेपालका कोशी त्रिसूलीजस्ता जलप्रणाली अन्तरदेशीय भएकाले सूचना प्रवाहमा पनि सरकारी स्तरमै अन्तरदेशीय सूचना प्रणाली विकास गर्नुपर्ने उप्रेतीको भनाइ छ। ‘यस विषयमा लगानी गर्ने, व्यवस्थापन गर्ने काम भएन भने अहिले एउटा बम फुटेजस्तो भएको छ अरु दर्जनौं टाउकामाथि छन् नेपाल सधंै ड्यामेज एन्ड लसको अवस्थामा रहिरहन्छ,’ उनी भन्छन्।
हिमाल पग्लिएर ताल फुट्नु ‘प्राकृतिक प्रकोप’ मात्र रहेन, यो राज्यको नीतिगत लाचारी र फितलो सीमापार कूटनीतिको परिणाम पनि बन्दै गएको छ। अरूले फालेको कार्बनको मूल्य नेपालीले चुकाउनुपर्ने दुष्चक्रबाट निष्कन सरकारले अन्तरदेशीय तथ्यांक आदानप्रदान र पूर्वसूचना प्रणालीलाई उच्च हिमाली क्षेत्रसम्म युद्धस्तरमा लैजान आवश्यक छ। ‘अन्यथा कोशी र गण्डकी बेसिनका दर्जनौं हिमतालहरू जुनसुकै क्षण नेपालका लागि टाउकामा राखिएका बम बनेर भयावह महाविपत्ति ल्याउने निश्चित छ,’ विज्ञहरूको साझा निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस !