सुस्त कारोबार, राताम्मे सेयर बजार
यससाता औसतमा दैनिक ३ अर्ब ९७ करोडको सेयर कारोबार भयो भने अघिल्लो साता औसतमा दैनिक ४ अर्ब ४८ करोडबराबरको किनबेच भएको थियो।
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन्।
गत मंगलबार नाडा अटो शोको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले भने, ‘मेरो यो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीहरूको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइनँ।’
यसले मुलुकको अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोबल के कस्तो छ भनेर प्रस्ट पार्छ। जबसम्म व्यवसायी र लगानीकर्ता सरकारप्रति आश्वस्त र उनीहरूको मनोबल बलियो हुँदैन बजारले गति लिन सक्ने अवस्था देखिँदैन। भदौको दोस्रो सातामा सेयर कारोबार चार दिन भएकोमा नेप्से चारै दिन घट्यो। शुक्रबार ‘जनैपूर्णिमा’को बिदा परेकाले सेयर कारोबार भएन। अघिल्लो साता भने पाँच दिन सेयर कारोबार भएकोमा एक दिन बढेर चार दिन घटेको थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६१८.७२ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा झ¥यो। त्यसपछिका तीनदिनै लगातार नेप्से घट्यो। मंगलबार ५.२० अंक र बुधबार ३५.८२ अंकले घट्यो। यस साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सामान्य अंकले घट्यो। बिहीबार नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा झर्यो ।
सातामा चार दिनको कारोबारमा नेप्से ६१.२९ अंकले गिरावट आयो। अघिल्लो सातामा पनि नेप्से २५.११ अंकले घटेको थियो। यस सातामा बुधबार न्यून विन्दु २५४६.८४ मा र सोमबार उच्च विन्दु २६२०.१८ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो। यस साता सबैभन्दा कम बुधबार र बिहीबार ३ सय ४८ वटा कम्पनीको कारोबार भएकोमा मंगलबार साताकै सबैभन्दा बढी ३ सय ५७ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५० स्क्रिप्टसम्मको कारोबार भएको थियो।
यस साता सबैभन्दा कम सेयर कारोबार सोमबार ३ अर्ब २३ करोड ९७ लाख र सबैभन्दा बढी बुधबार ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाको भयो। साताभरिमा चार दिनको कारोबारमा १५ अर्ब ९० करोड ९६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसबाट औसतमा दैनिक ३ अर्ब ९७ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता भने २२ अर्ब ४६ करोड ६० लाखको कारोबार हुँदा औसतमा दैनिक ४ अर्ब ४९ करोड ३२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग ११ प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब १६ प्रतिशतले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४४ खर्ब ७० करोड रुपैयाँ छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो। साताभरमा नेप्से ६१.२९ अंकले घट्दा कुल बजार पुँजीकरण १ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण ४३ अर्ब २० करोड रुपैयाँले घटेको थियो।
गत साता पाँचैदिन सकरात्मक सर्किट लेभलमा कारोबार भएको सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रिज यस साताका कारोबारका दिनहरूमा पनि सोहीअनुसार कारोबार भयो। सेयर कारोबारको अन्तिम दिन बिहीबार सर्वोत्तम पेन्ट्सको प्रतिकित्ता १३९४.८० रुपैयाँ पुगेको छ। यस साता सोमबार पञ्चकन्या माई हाइड्रोपावरको ९.८३ प्रतिशत, मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको १०.०७ प्रतिशत र बिहीबार अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ९.४५ प्रतिशतले घटेर सेयर कारोबार भयो। बुधबार रसुवागढी हाइड्रोपावर र मैलुङ खोला जलविद्युत् कम्पनीको नकारात्मक सर्किट लेभलमा
कारोबार भए।
यस साता सर्वाधिक बढी कारोबार हुनेमा सोमबार रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७२ लाख ८३ हजार, मंगलबार मकर जितुमाया सुरी हाइड्रोपावर ९० करोड ७ लाख ९७ हजार र बुधबार चिलिमे हाइड्रोपावरको २० करोड ५६ लाख ८६ हजार रुपैयाँ छ। त्सैगरी, बिहीबार सर्वाधिक कारोबार शिवम् सिमेन्टको २१ करोड ७५ लाख ८१ हजार रुपैयाँको भयो।
सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता १ उपसमूहको बढेको थियो भने अरु १२ वटाको घटेको थियोे। म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङको समूहको ५७.४५ अंकले बढेको हो। अघिल्लो साता एक उपसमूहको बढेको थियो भने अरु १२ वटाको घटेको थियोे। बढ्नेमा टे«डिङ समूह थियो। यस सात सेन्सेटिभ इन्डेक्स १०.२४ अंक, फ्लोट इन्डेक्स ४.५० र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७३ अंकले घटेका थिए। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स ३.३५ अंक, फ्लोट इन्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२० अंकले घटेका थिए।
अपर हेवाखोला हाइड्रोको शतप्रतिशत हकप्रद सेयर
अपर हेवाखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत (१:१ अनुपातमा) हकप्रद सेयर दिने भएको छ। विद्युत् नियमन आयोगले कम्पनीको वार्षिक साधारणसभाले पारित गरेको निर्णयअनुसार न स्वीकृति दिएकाले हकपद सेयर १ः१ आउने पक्का भएको हो। कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, त्यसपछि कायम रहेको चुक्ता पुँजी ५७ करोड ५० लाखको १ः१ को अनुपात हकप्रद सेयर निष्कासन गर्ने भएको हो।
हाइड्रोपावर र नन् लाइफका सूचकमा गिरावट
भोटेकोशीमा बुधबार आएको बाढीका कारण दर्जन बढी हाइड्रोपावरमा असर पर्दा हाइड्रोपावर र निर्जीवन बिमा कम्पनीका सूचकमा गिरावट आएको छ। यस साता हाइड्रोपावरको सूचक १६४.४२ अंकले घटेकोमा बुधबार र बिहीबारमा मात्रै १२४.११ अंकले घटेको छ। त्यसैगरी यस साता निर्जीवन बिमा कम्पनी ६८५.३६ अंक घटेकोमा सेयर कारोबारको पछिल्ला दुई दिनमा मात्रै ६०५.८६ अंकले घटेको छ।
बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। तिनीहरूको आम्दानीमा ह्रास आउने भएपछि त्यसको असर हाइड्रोपावर समूहमा परेको छ। त्यसैगरी, बाढीका कारण निर्जीवन बिमामा ‘क्लेम’ बढी पर्ने निश्चित भएपछि नन् लाइफ समूहको सेयर मूल्य पनि प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस !