नुवाकोटमा आफन्त ‘सास कि लास’को पर्खाइमा

नुवाकोटमा आफन्त ‘सास कि लास’को पर्खाइमा
सुन्नुहोस्

सरकारले हेलिकप्टरसहितको सुरक्षाकर्मी उद्धारमा खटाएको दाबी गरे पनि मैदानमा समन्वयको अभाव र सूचनाको पारदर्शी कमीले स्थानीयवासी र पीडितको आक्रोश चुलिएको हो।

नुवाकोट : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट नुवाकोट, रसुवा र धादिङमा ठूलो क्षति पुगेपछि सरकार उद्धार तथा खोजी कार्यमा सक्रिय बनेको छ। सरकारले शनिबार विभिन्न स्थानमा १९ वटा हेलिकप्टर परिचालन गरी उद्धार तथा राहत कार्य जारी राखेको दाबी गरेको छ।

तर, ४ दिन बितिसक्दा पनि बेपत्ता भएका आफ्ना आफन्तको स्थिति अज्ञात रहँदा पीडित परिवारको आक्रोश बढेको छ। सरकारले हेलिकप्टरसहितको सुरक्षाकर्मी उद्धारमा खटाएको दाबी गरेपनि मैदानमा समन्वयको अभाव र सूचनाको कमीले स्थानीयवासी र पीडितको आक्रोश चुलिएको हो।

नुवाकोटको श्री नं. १ सैन्य तालिम केन्द्र, मैथली ब्यारेकमा बेपत्ता आफन्तको ‘सास कि लास’ पर्खाइमा पुगेका परिवारजनको भीड अझै घटेको छैन। ४ दिन बितिसक्दा पनि एकाबिहानै ब्यारेकमा धाउने आफन्तहरू सूचना नपाउँदा अन्योल र तीव्र मानसिक तनावमा छन्।

यहीबीच जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार मात्रै खोज तथा उद्धारसँग सम्बन्धित विज्ञप्ति सार्वजनिक गरेको छ। घटनाको ४ दिनपछि सार्वजनिक गरिएको विज्ञप्तिमा समेत मानवीय तथा भौतिक क्षतिको वास्तविक र यकिन तथ्यांक समेट्न नसकिएको भन्दै स्थानीयले प्रशासनको तयारी र क्षमतामाथि प्रश्न उठाएका छन्।

गृहमन्त्रीलाई प्रश्नको ओइरो, ब्यारेक अगाडि झडपको स्थिति शनिबार बिहान मात्रै गृहमन्त्रीसमक्ष समेत पीडित परिवारका प्रश्नको ओइरो लागेको थियो। उनीहरूले ‘हाम्रो आफन्तको सास कि लास कहिले पाइन्छ ?’, ‘खोजी तथा उद्धारमा किन ढिलाइ भइरहेको छ ?’ भन्दै पीडितले गृहमन्त्रीलाई घेरेका थिए। उता मैथली ब्यारेकको प्रवेशद्वारमा समेत पीडित परिवारले आफ्ना आफन्तको अवस्थाबारे जानकारी माग्दा तत्काल स्पष्ट जवाफ नपाएको गुनासो गरेका छन्। प्रश्नको जवाफ खोज्नै एक घण्टाभन्दा बढी समय लाग्ने अवस्था बनेको पीडितको भनाइ छ। शनिबार बिहान पीडित परिवार र सुरक्षाकर्मीबीच तनावसमेत उत्पन्न भएको थियो। आफन्तहरूलाई डिउटीमा रहेका सेनाले के खोज्न आएको भनेपछि ब्यारेकमा केहीबेर झडपको अवस्थासम्म 
पुगेको थियो।

सरकारले उद्धारका लागि हेलिकप्टरसहित ठूलो जनशक्ति र स्रोत परिचालन गरिरहेको भए पनि स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित परिवारबीच प्रभावकारी समन्वय हुन नसक्दा पीडितले थप सास्ती खेप्नुपरेको छ। सरकारले प्रयास गरिरहे पनि पीडितलाई समयमै सूचना दिन नसक्नु, बेपत्ताको यकिन विवरण सार्वजनिक गर्न नसक्नु र आफन्तलाई खोजीको प्रगतिको स्पष्ट जानकारी नदिनु गम्भीर कमजोरी भएको उनीहरूको भनाइ छ।

मैथली ब्यारेकमा जम्मा भएका परिवारको एउटै माग छ, ‘हामीलाई आश्वासन होइन, सत्य चाहिएको छ। आफन्तको घाइते भए कहाँ छन् भनिदिनुहोस्, छैनन् भने शव खोजेर जिम्मा लगाइदिनुस्।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.