विपद्मा एकअर्काको सहारा बनौं
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमका बासिन्दा पीडामा छन्। बेपत्ता व्यक्तिका परिवारलाई अनिश्चितता, मानसिक तनाव र आर्थिक/सामाजिक पीडाले पिरोलिरहेको छ। यस्तो अवस्थामा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सुझाव छ, ‘आफूलाई माया गरौं। आपसमा कुराकानी गरौं। आपसमा सहयोग लिऊँ।’
के गर्ने ?
- पर्याप्त निद्रा, आराम, र नियमित तथा स्वस्थ खाना खानुहोस्। आफ्नो आवश्यकताबारे बताउनुहोस्। विश्वास गर्ने मानिससँग कुरा गर्नुहोस्। मनभित्रै दबाएर नराख्नुहोस्।
- घरमा वा सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। दुर्घटना हुने सम्भावना बढ्न सक्छ।
- केही समयका लागि अतिरिक्क माग र जिम्मेवारीहरू कम गर्नुहोस्।
- आफूलाई सुरक्षित महसुस हुने ठाउँमा गएर शान्त रूपमा के भएको थियो भनेर मनन गर्नुहोस्। भावनाहरू अत्यधिक तीव्र भएमा जबर्जस्ती नगर्नुहोस्।
के नगर्ने ?
- भावनाहरू मनभित्रै दबाएर नराखुहोस्। विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नुहोस्।
- आफ्ना भावना र विचारका कारण लज्जित ननहुस गर्नुहोस्। यस्ता प्रतिक्रिया सामान्य हुन्।
- विश्वास गर्ने मानिसहरूबाट टाढिन नखोज्नुहोस्।
बालबालिकालाई सहयोग गरौं
- दैनिक जीवनलाई सकेसम्म सामान्य राख्नुहोस्। नियमित दिनचर्या र सामान्य गतिविधिले उनीहरूलाई सुरक्षित महसुस गराउँछ।
- बच्चा कुरा गर्न तयार हुँदा कुरा गर्नका लागि उपलब्ध रहनुहोस्। आवश्यक परेमा विश्वासिला वयस्कको सहयोग लिनुहोस्।
- उमेर अनुसार सत्य र सरल जानकारी दिएर के भएको हो भनेर बुझाउनुहोस्। यसले भ्रम, डर र दोषी महसुस गर्ने भावना कम गर्छ।
- नराम्रा कुरा हुन सक्छन्, तर त्यसको अर्थ सधैं डराएर बस्नुपर्छ भन्ने होइन भन्ने आश्वस्त पार्नुहोस्।
- धैर्य, सरलता र इमानदारीका साथ प्रश्नको उत्तर दिनुहोस्, विशेषगरी मृत्यु जस्ता संवेदनशील विषयमा।
यी लक्षणहरू रहिरहेमा सहयोग मागौं
- घटनाबारे कुरा गर्न चाहना भए पनि कोही नहुनु
- सजिलै झरकिनु, अत्यधिक उत्तेजित/अशान्त हुनु
- घटनाका जीवन्त दृश्य बारम्बार आउनु
- निद्रामा समस्या, दुःस्वप्न वा बेचैन विचार आउनु
- अत्यधिक भावनात्मक उतार–चढाव वा खालीपन महसुस हुनु
- थकान, एकाग्रता कमी, शारीरिक समस्याहरू (हृदय छिटो धडकिनु, काँप्नु, चक्कर लाग्नु, मांसपेसी दुख्नु, वाकवाकी आदि)
- घटनापछि सम्बन्ध, काम वा पढाइमा असर पर्नु
- मदिरा वा लागूपदार्थको प्रयोग बढ्नु
- नजिकको व्यक्तिले तपाईको अवस्थाबारे चिना व्यक्त गर्नु
बालबालिकामा देखिन सक्ने सामान्य प्रतिक्रिया
- दुःस्वप्न, बारम्बार घटना सम्झना आइरहने
- घटना फेरि भइरहेको जस्तो लाग्ने
- घटना सम्झाउने कुरा/स्थानबाट टाढिने
- चिडचिडापन, रिस उठ्नु, डर लाग्ने
- ध्यान केन्द्रित गर्न वा सुत्न कठिनाइ हुने
- आमाबुबा/हेरचाहकर्तासँग बढी टाँसिइरहने
- पेट दुख्ने, टाउको दुख्ने जस्ता शारीरिक गुनासो गर्ने
- विद्यालयमा समस्या देखिने
- प्रतिक्रिया सामान्य हुन् र प्रायः चार हप्ताभन्दा बढी रहँदैन।
बालबालिकामा कस्तो सोचाइ र व्यवहार देखिन सक्छ ?
- आफूलाई दोष दिनु वा आत्मसम्मान घट्नु
- आफू खराब व्यक्ति हुँ वा आफूलाई नराम्रो कुरा हुनै पर्छ भन्ने सोच
- अरूमा विश्वास कम हुनु, सुरक्षित महसुस गर्न कठिनाइ
- लाज, दुःख र डरजस्ता तीव्र भावना अनुभव गर्नु
- भय बढाउने, सम्झना दिलाउने अवस्थाबाट टाढिनु
- यदि लक्षणहरू चार हप्ताभन्दा बढी रहिरहेमा सहयोग लिनुहोस्।
प्रतिक्रिया दिनुहोस !