रसुवा बाढी : नेपोभिट टायल्सका संचालक झाले दिए ११ लाख
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित नेपोभिट टायल्सका सञ्चालक एवम् उद्योगी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा रसुवा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन्। झाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा उक्त रकम सहयोग गरेका हुन्।
प्राकृतिक विपत्तिको समयमा बाढीपीडितको सहायताका लागि उक्त रकम सहयोग गरिएको उनकी पत्नी विभा झाले जानकारी दिइन्। बाढीको विभीषिकाले थुप्रै परिवार विस्थापित भएको र राष्ट्र नै शोकमा परेका बेला व्यक्तिगत उल्लास छाडेर प्रभावितको पुनर्स्थापनाका लागि सहयोग गरिएको उनको भनाइ छ।
‘देश विपत्तिमा छ । बाढीको विभीषिकाले धेरै परिवारहरू विस्थापित भएका छन् र कयौंको जीवन अस्तव्यस्त बनेको छ । देश दुःख र कष्ट भोगिरहेको छ । यो राष्ट्रिय विपत्तिको समय हो । यस्तो दारुण समयमा देश र सम्पूर्ण व्यक्तिहरूसँग संवेदना अनि श्रद्धाका साथ उभिएका छौं,’ उनले सामाजिक संजालमा लेखेकी छन्ज,‘जन्मदिनको उल्लास मनाउन त सकिन्थ्यो, तर यस विशेष दिनलाई बाढी प्रभावित मानिसहरूको सहयोगसँग जोड्ने निर्णय गरेका छौं।’
झाले गरेको यो मानवीय कार्यको उद्योग, व्यवसायी र स्थानीयले प्रशंसा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !