रसुवा बाढीपीडितका लागि प्रवासी नेपाली मञ्च साउदीको ४ लाख सहयोग
साउदी : रसुवाको टिमुरे तथा त्रिशूली नदी आसपासमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रवासी नेपाली मञ्च, साउदी अरबले ४ लाख १५ हजार ३ सय ५९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मञ्चले बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सिधै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्को समयमा राहतका नाममा रकम संकलन तथा वितरण गर्दा पारदर्शिता र प्रभावकारिता कायम हुनुपर्ने भन्दै मञ्चले सरकारी राहत कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो।
मञ्चका अनुसार प्राकृतिक विपद्का कारण रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको र सयौँ परिवार प्रभावित बनेका छन्। यस्तो कठिन परिस्थितिमा प्रवासमा रहेका नेपालीहरू पनि पीडित परिवारको दुःखमा साथ दिनुपर्ने मान्यताअनुसार आर्थिक सहयोग गरिएको हो।
प्रवासी नेपाली मञ्च साउदी अरबले आफ्नो सहयोगलाई केवल आर्थिक योगदानका रूपमा नभई विपद्मा रहेका नेपाली नागरिकप्रतिको सामाजिक उत्तरदायित्व र मानवीय ऐक्यबद्धताको रूपमा लिएको जनाएको छ। मञ्चले प्रभावित नागरिकको तत्काल उद्धारसँगै सुरक्षित आवास, खाद्यान्न, स्वास्थ्य सेवा र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस !