एसिया कपको ढोका ढक्ढकाउँदै नेपाल

एसिया कपको ढोका ढक्ढकाउँदै नेपाल

काठमाडौं : तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप।

त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता एसियाली क्रिकेटका दुई ठूला टोलीसँग एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना पनि त्यहीँबाट पूरा भएको थियो।

वर्षौंदेखि नेपाली क्रिकेटले देखेको ठूलो सपना त्यही प्रतियोगितामार्फत वास्तविकतामा परिणत भएको थियो। अब तीन वर्षपछि नेपाल फेरि त्यही अवसरको संघारमा छ। फरक यतिमात्र छ, यसपटक त्यो यात्रा घरेलु मैदानबाट होइन, विदेशी भूमिबाट सुरु हुँदैछ।

मलेसियामा हुने एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रोपटक एसिया कप खेल्ने लक्ष्यमा छ। प्रतियोगिताको उपाधि विजेताले सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ। अर्थात् नेपालसामु फेरि एउटा यस्तो प्रतियोगिता छ, जसको अन्तिम उपाधिले एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुग्ने बाटो खोल्नेछ।

नेपालको यात्रा सोमबार बहराइनसँगको खेलबाट सुरु हुनेछ। त्यसपछि नेपालले घरेलु टोली मलेसिया, साउदी अरेबिया र हङकङसँग समूह चरणका खेल खेल्नेछ। समूह चरण पार गरेपछि सेमिफाइनल र फाइनलको चुनौती हुनेछ। तर, नेपालका लागि यो यात्रा नयाँ भने होइन। तीन वर्षअघि पनि नेपालले यही प्रतियोगिताबाट एउटा ठूलो सपना पूरा गरेको थियो। यसपटक फेरि त्यही प्रतियोगिता छ, फेरि उही लक्ष्य छ र फेरि नेपाली क्रिकेटसामु इतिहास दोहोर्‍याउने अवसर छ।

२०२३ को त्यो अविस्मरणीय यात्रा
नेपालमै भएको एसीसी प्रिमियर कपको पहिलो संस्करण नेपाली क्रिकेटका लागि विशेष रह्यो। रोहित पौडेलको कप्तानीमा नेपाल प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो। घरेलु मैदान र दर्शकको साथमा खेलिरहेको नेपाली टोलीमाथि अपेक्षा पनि उत्तिकै थियो।

समूह चरणदेखि नै नेपालले आफ्नो उद्देश्य स्पष्ट देखाएको थियो। टोलीको लक्ष्य केवल प्रतियोगिता खेल्नु थिएन। नेपाल एसिया कपको टिकट काट्न चाहन्थ्यो। प्रतियोगिताको हरेक खेलसँगै त्यो सपना नजिकिँदै गयो। अन्ततः नेपाल फाइनलमा पुग्यो, जहाँ प्रतिद्वन्द्वी थियो संयुक्त अरब इमिरेट्स, युएई। फाइनल नेपाली क्रिकेटका लागि सामान्य खेल थिएन। त्यो उपाधिको खेल त थियो नै, त्यससँगै एसिया कपको ढोका पनि जोडिएको थियो। मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको थियो, तर नेपाली समर्थकको नजर ट्रफीभन्दा पर, एसिया कपसम्म पुगिरहेको थियो।

नेपालले फाइनलमा युएईलाई हराउँदै उपाधि जित्यो। त्यो जितसँगै नेपाली क्रिकेटको एउटा नयाँ इतिहास लेखियो । नेपालले पहिलोपटक एसिया कपमा स्थान बनायो। त्यसपछि नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पायो। विश्व क्रिकेटका दुई ठूला टोलीसँग एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्नु नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण थियो। एसिया कपमा भारतविरुद्ध मैदानमा उत्रँदा नेपाली क्रिकेटले वर्षौंदेखि बनाउँदै आएको सपना नयाँ स्तरमा पुगेको थियो।

नेपालले त्यसबेला बनाएको त्यो इतिहास अहिले पनि नेपाली क्रिकेटको सबैभन्दा विशेष अध्यायमध्ये एक मानिन्छ। एसिया कपले नेपाली टोलीलाई ठूला टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर मात्र दिएन, नेपाली खेलाडी र समर्थकलाई पनि आफूहरू कति ठूलो मञ्चसम्म पुग्न सक्छन् भन्ने विश्वास दिलायो। त्यही विश्वासको परीक्षामा नेपाली टोलीलाई पुनः खरो उत्रर्नु पर्ने छ। 

null

यसपटक चुनौती मलेसियामा
सन् २०२३ मा नेपालको यात्रा आफ्नै मैदानबाट सुरु भएको थियो। यसपटक भने परिस्थिति फरक छ। उपाधिका लागि नेपालले विदेशी भूमिमा प्रतिस्पर्धा गर्नुपर्नेछ। घरेलु दर्शकको निरन्तर साथ हुने छैन। आफ्नै मैदानको परिचित वातावरण हुनेछैन। मलेसियाको मैदान र परिस्थितिमा आफूलाई छिट्टै ढाल्दै नेपालले उपाधिको यात्रा तय गर्नुपर्नेछ।

समूहमा नेपालसँगै बहराइन, घरेलु टोली मलेसिया, साउदी अरेबिया र हङकङ छन्। कागजमा नेपाल बलियो टोलीमध्ये एक देखिन सक्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पछिल्लो अनुभव, ठूला प्रतियोगितामा सहभागिता र खेलाडीहरूको क्षमता हेर्दा नेपाललाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। तर, क्रिकेटमा विगतको प्रदर्शनले मात्र वर्तमान खेल जितिँदैन। त्यसैले चार समूह चरणका खेलबाट सुरु हुने नेपालको यात्रामा हरेक खेल उत्तिकै महत्वपूर्ण हुनेछ। पहिलो खेलबाट राम्रो सुरुआत गर्नु नेपालका लागि आवश्यक हुनेछ। सुरुआती खेलमा प्राप्त हुने आत्मविश्वासले प्रतियोगिताको आगामी यात्रा सहज बनाउन सक्छ। तर एउटा खराब दिनले उपाधिको यात्रालाई कठिन पनि बनाउन सक्छ। समूह चरण पार गरेपछि सेमिफाइनल र फाइनलको दबाब हुनेछ। अन्ततः उपाधिसँगै फेरि एसिया कपको टिकट।यसपटकको यात्रा छोटो छैन। तर गन्तव्य नेपालका लागि परिचित छ।

नयाँ कप्तान, उही सपना
सन् २०२३ मा रोहित पौडेलको कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो। त्यही टोलीले नेपाली क्रिकेटलाई पहिलोपटक एसिया कपसम्म पुर्‍याएको थियो। यसपटक भने नेपाली टोली नयाँ नेतृत्वमा मैदानमा उत्रँदै छ। कप्तान परिवर्तन भएको छ। टोलीमा पनि केही परिवर्तन भएका छन्। तर नेपाली क्रिकेटको सपना भने परिवर्तन भएको छैन। फेरि प्रिमियर कप जित्ने। फेरि एसिया कप खेल्ने।

नयाँ कप्तानका लागि पनि यो प्रतियोगिता एउटा ठूलो परीक्षा हुनेछ। केवल कप्तानको हैसियतले टोलीलाई मैदानमा नेतृत्व गर्नु मात्र होइन, ठूलो लक्ष्यतर्फ टोलीलाई एकताबद्ध बनाएर लैजानु पनि उनको जिम्मेवारी हुनेछ।

नेपालसँग अहिले विगतभन्दा फरक अनुभव छ। सन् २०२३ मा एसिया कप खेल्नु एउटा नयाँ अनुभव थियो। त्यसपछि नेपाली टोलीले विश्वकपजस्ता ठूला प्रतियोगितामा पनि खेलिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा ठूला टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

यी अनुभवले नेपाली क्रिकेटलाई परिपक्व बनाएको छ। अब नेपाल कुनै ठूलो प्रतियोगितामा पहिलोपटक सहभागी हुने टोली मात्र होइन। नेपाली टोलीसँग ठूला मञ्चको अनुभव पनि छ र त्यहाँ फेरि पुग्ने चाहना पनि। त्यसैले यसपटकको प्रिमियर कपको यात्रा केवल एउटा अवसर मात्र होइन, विगतमा बनाएको स्तरलाई फेरि प्रमाणित गर्ने चुनौती पनि हो। यो टोलीमा शेर मल्लले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने मौका बनाउन सक्छन्। सोमपाल कामीको स्थानमा यसपटक युवा खेलाडी हेमन्त धामीको काँधमा ठूलो जिम्मेवारी रहेको छ। उनले करण केसीसँग तीव्र गतिको बलिङमा साझेदारी बनाउनुपर्छ। ओपनिङमा आसिफ शेखसँग युवा खेलाडी अर्जुन कुमालले जोडी जमाउन सक्नेछन्। 

विगतको सफलताको छायाँ, नयाँ इतिहासको अवसर
तीन वर्षअघि नेपालले प्रिमियर कप जित्दा एसिया कप खेल्ने सपना पूरा गरेको थियो। अहिले त्यही इतिहास नेपाली टोलीका लागि प्रेरणा पनि हो र अपेक्षा पनि।
एकपटक हासिल गरिसकेको उपलब्धि फेरि दोहोर्‍याउनु कहिलेकाहीँ अझ कठिन हुन्छ। किनकि यसपटक नेपालसँग समर्थकको अपेक्षा छ। नेपाली क्रिकेटको विगतको उपलब्धि छ। फेरि एकपटक एसिया कपमा पुग्ने स्पष्ट लक्ष्य छ। तर, खेलाडीका लागि यो दबाबसँगै अवसर पनि हो। नेपालले २०२३ मा जे हासिल गरेको थियो, त्यसलाई संयोग मात्र नभई नेपाली क्रिकेटको क्षमता थियो भन्ने प्रमाणित गर्ने अवसर अहिले फेरि आएको छ।

पछिल्ला केही वर्षमा नेपाली क्रिकेटले लगातार अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। एसिया कपदेखि विश्वकपसम्मको यात्राले नेपाली क्रिकेटलाई नयाँ पहिचान दिएको छ। नेपाली टोलीले ठूला टोलीसँग खेल्दै अनुभव बटुलिरहेको छ भने समर्थकको अपेक्षा पनि हरेक सफलतासँगै बढ्दै गएको छ। नेपालका लागि अब लक्ष्य केवल ठूला प्रतियोगितामा पुग्नु मात्र होइन, त्यहाँ बारम्बार पुग्ने टोलीका रूपमा आफूलाई स्थापित गर्नु पनि हो। त्यसका लागि एसीसी प्रिमियर कप फेरि एउटा महत्वपूर्ण परीक्षा बनेर आएको छ।

null

फेरि त्यही ढोका, फेरि त्यही सपना 
तीन वर्षअघि त्रिवि क्रिकेट मैदानमा सुरु भएको एउटा यात्रा एसिया कपसम्म पुगेको थियो। यसपटक मलेसियाको मैदानबाट सुरु हुने यात्रा कहाँसम्म पुग्छ, त्यो आगामी दिनका खेलले तय गर्नेछन्।

पहिलो खेलबाट सुरु हुने यो यात्रा समूह चरण, सेमिफाइनल र सम्भावित फाइनल हुँदै फेरि एसिया कपको ढोकासम्म पुग्न सक्छ। तर त्यसका लागि नेपालले हरेक खेलमा आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ। 
मलेसियामा नेपाललाई फेरि एउटा इतिहास लेख्ने अवसर छ। 
कप्तान नयाँ छन्। परिस्थिति नयाँ छ ।मैदान नयाँ छ। तर, सपना उही छ। तीन वर्षअघि घरेलु मैदानमा खुलेको एसिया कपको ढोका, यसपटक विदेशी भूमिबाट फेरि खोल्ने। नेपाली क्रिकेट फेरि एउटा मोडमा उभिएको छ। अब प्रश्न केवल यति हो, के नेपालले २०२३ को त्यो अविस्मरणीय यात्रा दोहोर्‍याउँदै फेरि एसिया कपको टिकट काट्न सक्छरु यसको उत्तर मलेसियाको मैदानमा दिइनेछ।

नेपालको टोली:
सन्दीप लामिछाने (कप्तान), रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी 

नेपालको तालिका
नेपाल भर्सेस बहराइनस् भदौ १५, सोमबार, बिहान ७:१५ बजे
नेपाल भर्सेस मलेसियास् भदौ १८, बिहीबार, बिहान ७:१५ बजे
नेपाल भर्सेस साउदी अरेबियास् भदौ २१, आइतबार, बिहान ७:१५ बजे
नेपाल भर्सेस हङकङ चीनस् भदौ २३, मंगलबार, बिहान ७:१५ बजे


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.