न रह्यो घर, न भविष्यको भर
देवीघाट/ नुवाकोट : बुधबार बिहानको करिब ९ बजेको थियो। नुवाकोटको ढुंगेबजारकी माइली तामाङ आफ्नी ६ वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन्। एक वर्षकी सानी छोरी पनि उनकै साथमा थिइन्। दैनिकजस्तै लागिरहेको त्यो बिहान केही मिनेटमै उनको जीवनकै सबैभन्दा त्रासदीपूर्ण क्षणमा परिणत भयो। कहिले पनि सिनेमा र अन्त कतै नदेखेको दृश्य।
अचानक प्रहरीले माइकिङ गर्दै स्थानीयलाई रसुवाबाट बाढी आइरहेको र सुरक्षित स्थानतर्फ जान आग्रह गर्न थाल्यो। त्यसदिन उनीजस्तै धेरै बालबालिका कोही विद्यालय पुगिसकेका थिए, कोही जाने तयारीमा थिए। माइलीले धेरै सोच्ने समय पाइनन्। उनले दुई छोरी र अत्यावश्यक सामान पोको पारिन् र घरभन्दा माथितिर लागिन्। उनको एकतले घर खोलाको सीधै किनारमा थिएन। केही माथि, भित्तातिर थियो। त्यसैले घर सुरक्षित नै होला भन्ने लागेको थियो। तर, बाढीले सिर्जना गरेको त्रासले घरको सुरक्षाभन्दा पनि आफू र छोरीहरूको जीवन ठूलो कुरा हो भन्ने उनलाई लाग्यो।
अहिले उनी आफन्तको घरमा आश्रय लिएर बसेकी छन्। खाना पकाउन भने आफ्नै घरमा आउँछिन्। तर, रात बिताउन माथि नै जान्छिन्। ‘हामीले सोच्यौं, यो त बाढी हो। तर, जमिन नै भूकम्प आएजस्तो हल्लीरहेको थियो। अनौठो विस्फोटजस्तो आवाज आइरहेको थियो,’ उनी सम्झिन्छिन्। उनको घर जोगिएको छ। तर, उनको मन अझै सम्हालिएको छैन।
बाढी आएको दिनदेखि उनकी छोरीलाई लगातार ज्वरो आइरहेको छ। वरिपरि बाढीको त्रास, विस्थापन, असुरक्षा र अनिश्चितताको वातावरण छ। एउटा आमाका लागि छोरीको ज्वरोमात्रै पनि ठूलो चिन्ताको विषय हो। त्यसमाथि घर छोडेर अस्थायी आश्रयमा बस्नुपरेको अवस्था छ। यो एउटा परिवारको कथा मात्रै होइन। नुवाकोटका बाढी प्रभावित बस्तीमा अहिले यस्ता सयौं कथाव्यथा छरिएका छन्। जहाँ घर थियो, त्यहाँ अहिले माटो र भग्नावशेष छ। ढुंगेबजार अहिले बजारजस्तो देखिँदैन। बाढीले घर, पसल र मानिसका वर्षौंका मेहनतलाई एकैछिनमा बगरमा परिणत गरिदिएको छ।
कुनै घरको दुईतला, कुनै घरको तीन तलासम्म पानी पुगेको देखिन्छ। कतिपय घरका भित्तामात्र बाँकी छन्। घरभित्र रहेका सामान, कागजात, लत्ताकपडा, खाद्यान्न र व्यवसायका सामग्री बाढीले बगाएको छ। त्यहाँको कारागार पूरै भग्नावशेषमा परिणत भएको छ। बाढी आएको केही दिनपछि स्थानीयहरू विस्तारै आफ्नो घरतर्फ फर्किन थालेका छन्। उनीहरू घरमा बस्न होइन, माथिल्लो तलामा सुरक्षित रहेको केही सामान निकाल्न आउँछन्। कसैलाई नागरिकता चाहिएको छ, कसैलाई शैक्षिक प्रमाणपत्र। कसैलाई औषधि, कसैलाई केही कपडा। कसैको पसलमा बाँकी रहेको थोरै सामान नै उसको आगामी जीवनको सहारा हुन सक्छ।
तर, घरभित्र पस्ने आँट सबैसँग छैन। घरमा पसेकाहरू पनि भक्कानिँदै फर्कनै गर्छन्। बाढीपछि बस्तीमा दुर्गन्ध फैलिन थालेको छ। मानिस मात्र होइन, गाईवस्तु र अन्य जनावर पनि बाढीमा परेका छन्। तीमध्ये कतिपयको अवस्था पत्ता लागेको छैन। दिन बित्दै जाँदा दुर्गन्धसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि बढ्ने चिन्ता स्थानीयमा छ। अहिले राहतस्वरूप खानेकुरा र आवश्यक सामग्री वितरण भइरहेको छ। तत्काल भोकै बस्नुपर्ने अवस्था केही हदसम्म टरेको छ। तर विपद्को वास्तविक पीडा राहतको प्याकेटले मात्र मेटिँदैन।
विशेषगरी महिला, बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गरेर जीवन चलाउने परिवारको अवस्था झनै कठिन छ। आज खान पाए पनि भोलि के गर्ने ? कहाँ जाने ? आफूले जीवनभरी मेहनत गरेर कमाएको पैसाबाट किनेको घर भग्नावेशमा परिणत भएको छ।
आज छोरीलाई सुरक्षित राखे पनि अर्को महिना उसको विद्यालय कसरी पठाउने ? घर छैन भने कहाँ बस्ने ? काम गर्ने ठाउँ नै बाढीले बगायो भने आम्दानी कसरी गर्ने ? अनि घरको कमाउने व्यक्ति गुमाएकालाई समस्या छ, अब कसरी जीवन गुजारा गर्ने ? यी प्रश्नको उत्तर अहिले कसैसँग छैन। त्यो प्रश्नको उत्तर यतिबेला उनीहरू हामीसँग खोजिरहेका छन्। भन्छन, हेर्नुस् त अब हामी के गर्ने, कहाँ जाने ?
तलको देवीघाट बजारको दृश्य झनै हृदयविदारक छ। दुवै पुल पूर्णरूपमा भत्किएको छ। जहाँ कुनै समय मानिसको चहलपहल हुन्थ्यो, पसलका सटर खुल्थे, यस क्षेत्रका कृषि र तरकारीहरू यही बजारमा जम्मा भएर अन्यत्र जान्थे, बालबालिका हिँड्थे र परिवारहरू आफ्नो दैनिकी चलाउँथे, त्यहाँ अहिले बाढीले छोडेको भग्नावशेष र बगर छ।
सयौं घर बगरमा परिणत भएका छन्। पाँचतले घरको माथिल्लो दुई तलामात्रै सतहमा देखिनु विपद्को भयावहता बुझाउन पर्याप्त छ। केही मानिस आफ्ना घरका भग्नावशेषमाथि पुगेर सामान खोजिरहेका छन्। उनीहरू कसैसँग बोल्न चाहँदैनन्। बोल्ने अवस्था पनि छैन। केही मानिसले वर्षौंको कमाइ, सम्पत्ति र भविष्य एकैपटक गुमाएका छन्। सडक किनारमा एउटी महिला आफ्नो घर भएको ठाउँ देखाउँदै थिइन्। उनको हातमा लगाएको कपडा र एउटा सानो झोला मात्रै थियो।
आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘मसँग यो लगाएको कपडा र यो सानो ब्यागबाहेक अब के छ र ? प्रहरीले माइकिङ गरेपछि भाग्यौं। आफ्ना सामान लैजानै पाएनौं।’ त्यो वाक्यमा बाढीले बगाएको एउटा घरभन्दा धेरै ठूलो कथा लुकेको छ। घर गुमाउनु भनेको केवल चारवटा भित्ता गुमाउनु होइन। त्यससँगै मानिसले आफ्ना बाल्यकालका सम्झना, विवाहका फोटो, छोराछोरीका प्रमाणपत्र, नागरिकता, सम्पत्तिका कागजात, व्यवसायका सामग्री र वर्षौंको मेहनत गुमाउँछ। सबैभन्दा ठूलो कुरा—उसले आफ्नो भविष्यप्रतिको भरोसा गुमाउँछ। देवीघाटमा अर्को डर पनि थपिएको छ– घरमा बाँकी रहेका सामान चोरी हुने डर। विपद्का बेला मानिसले आफ्नो ज्यान जोगाउन घर छोडेको हुन्छ। फर्किएर हेर्दा घर नभए पनि बाँकी सामान सुरक्षित होला भन्ने आशा हुन्छ।
त्यही आशामाथि पनि खतरा पैदा भयो भने विस्थापित परिवारको मानसिक पीडा झनै गहिरिन्छ। बाढीले प्रभावित क्षेत्रमै मात्र पीडा छैन। काठमाडौंका अस्पतालहरूमा पनि त्यही विपद्को अर्को दृश्य देखिन्छ। महाराजगन्ज शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आफन्त खोज्दै मानिसहरूको भीड छ। प्रभावित क्षेत्रमा जान नसकेका परिवारहरू अस्पतालमा घाइतेको र बेपत्ताको सूची हेर्छन्। कतिपयले आफ्ना बेपत्ता मानिसको ठूलो र अन्य विवरण राखेर त्यहाँ सार्वजनिक गरिरहेका छन्।
कतै आफ्नो मान्छेको नाम भेटिन्छ कि भनेर शव पहिचानका लागि राखिएका विवरण हेर्छन्। तर, हरेक सूची आशाको सूची हुँदैन। कहिलेकाहीं नाम नदेखिनु झन् ठूलो पीडा हुन्छ। शिक्षण अस्पतालमा आएका सबैको आँखा रसाएका छन्, आउँछन, हेर्छन् र मलिन अनुहार लिएर फर्कन्छन्।
सिन्धुपाल्चोकका ७० वर्षीया वृद्ध दुई दिनदेखि अस्पताल परिसरमा आफ्ना दुई छोराको खबर कुरिरहेका छन्। दुवै छोरा सवारी चालकका रूपमा रसुवा गएका थिए। उनीहरू हराइरहेका छन्।
आँखाभरि आँसु पार्दै उनले भने, ‘मेरो त मर्ने बेला भयो। मेरा छोराहरूलाई केही भइहाल्यो भने मेरा भर्खरका नातिनातिनालाई कसले पाल्ला ? कसले शिक्षा देला ? ’ यो प्रश्नको उत्तर कुनै राहत सामग्रीको प्याकेटसँग हुँदैन। यो एउटा बाबुको प्रश्न हो। एउटा परिवारको भविष्यसँग जोडिएको प्रश्न हो। अस्पतालमा भेटिएका धेरै परिवारका कथा उस्तै छन्। रसुवातर्फ नेपाली सामान लिएर गएका चालक, त्यताबाट फर्किरहेका चालक, तीर्थयात्री, जलविद्युत् आयोजनाहरूमा काम गर्ने र स्थानीय धेरै बेपत्ता भएको देखिन्छ।
शिक्षण अस्पतालको शव राख्ने भवन अगाडि पहिचानका लागि राखिएका तस्बिर र विवरण हेर्न आफन्तहरू आउने गर्छन्। कोही तस्बिर हेरेर फर्किन्छन्। कोही नाम खोज्छन्। कोही अस्पतालका कर्मचारीलाई प्रश्न गर्छन्। कोही त्यहाँ जम्मा भएका अरूसँग गुहार माग्छन्।
तर, धेरैको हातमा अन्तिमसम्म पनि उत्तर हुँदैन। त्यही भीडमा ५३ वर्षीया एक महिला पनि भेटिन्छिन्। प्रहरीमा कार्यरत ज्वाइँ र उनीसँगै रहेकी छोरीको अत्तोपत्तो छैन। उनी डिजिटल प्रविधिसँग परिचित छैनन्। वेबसाइटमा बेपत्ताको सूची राखिएको छ भन्ने सुन्छिन्, तर त्यो सूची कसरी हेर्ने भन्ने थाहा छैन।
उनको समस्या केवल छोरी र ज्वाइँ हराउनु होइन। उनीसँग रहेका साना नातिनातिनालाई हेर्नु कि आफन्त खोज्न अस्पताल धाउनु भन्ने अर्को संकट पनि छ। ‘म एक्लो मान्छे कहाँ जाऊँ, कता जाऊँ ?’ उनको प्रश्नले विपद्को समयमा सूचना र पहुँचको महत्व पनि देखाउँछ।
रसुवाको तुलनामा देवीघाटमा मानवीय क्षति कम भएको आकलन हुनुको एउटा कारण समयमै आएको सूचना पनि हो। बाढी आउनुभन्दा करिब एक घण्टा अगाडि सूचना पाएका मानिसले भाग्ने समय पाए।यसले एउटा महत्वपूर्ण पाठ सिकाउँछ—विपद्मा हरेक मिनेटको मूल्य हुन्छ।
काठमाडौं उपत्यकाबाट नुवाकोटतर्फ जाने टोखा–छहरे वैकल्पिक सडकमा अहिले सुरक्षा निकायका ठूला सवारी र राहत बोकेका गाडीको चाप बढेको छ। सामान्य अवस्थामा साना सवारी चल्ने सडक अहिले उद्धार र राहतको महत्वपूर्ण मार्ग बनेको छ। त्यससँगै ट्राफिक व्यवस्थापनको चुनौती पनि थपिएको छ। यो विपद्ले देखाएको अर्को कुरा हो– हामीसँग राहत पु¥याउने प्रयास त हुन्छ, तर ठूलो स्तरको आकस्मिक विपद् एकैपटक आइपर्दा राज्य संयन्त्र कति तयार छ भन्ने प्रश्न अझै बाँकी छ। वास्तवमा यो खालको विपत्तिसँग सामना गर्ने हाम्रो संस्था र स्रोत छैनन् आज बाढीको चौथो दिनसम्म पनि उद्धारको कार्य जारी छ।
कहिले सकिने हो यकिन छैन। यतिबेला सबैको ध्यान नुवाकोटमा केन्द्रित भएको पाइन्छ। सबैभन्दा बढी प्रभावित भएको रसुवाको त धेरै जानकारीसमेत आएको छैन्। यस अवधीमा सरकारले गरेको एक कमजोरी भनेको बेलैमा उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह नगर्नु। ढिलै भए पनि भारत र चीनका उद्धारकर्ता आएर उद्धारको थालनी गरेका छन्। जहाँसम्म अन्तर्राष्ट्रिय सहयोग कुरा छ, निरन्तर रूपमा आइरहेको छ। यदि समयमा नै विदेशी उद्धारकर्ता ल्याउन सकेको भए, क्षति कम हुन सक्थ्यो। यस विषयमा उच्च सरकारी तहमा पर्यात्छ छलफल र विमर्श नभएको चाहि देखिन्छ। चार दिने निरन्तर रुपमा मेैले फेस गरेका प्रश्नहरू हुन् ?
उद्धार निकै ढिलो भयो, कहिले सकिन्छ ?
पीडितका लागि अस्थायी आवास कहिले बन्छ ?
पुनस्र्थापन कहिले सुरु हुन्छ ?
घर गुमाएकालाई सरकारले कति सहयोग गर्ला ?
पसल गुमाएकाको रोजगारी कसरी फर्किन्छ ?
दैनिक ज्यालादारी गर्ने परिवारलाई आयको विकल्प के दिइन्छ ?
बालबालिकाको पढाइ कसरी निरन्तर हुन्छ ?
बाढीमा परेर झन्डै ८ सयको संख्यामा मानिसहरूले जीवन गुमाइसकेका छन्। हजरौं सम्पर्कविहीन छन्।
त्यसभन्दा पनि माथि मानिसमा एक खालको त्रास अझै छ। अझै बाढी आउने हल्ला छ, कति ठूलो आउने हो। यसपटकको बाढीले उनीहरूले परम्परागत बुझाईलाई नै परिवर्तन गरिदिएको छ। अहिले खोलाभन्दा निकै माथि बसेकाहरू पनि भन्न थालेका छन्– बाढीको त कुनै सीमा रहेनछ, डाँडा नै नाघेर माथिसम्म आउन सक्ने रहेछ।
प्रतिक्रिया दिनुहोस !