सन्दीप लामिछानेको किफायती बलिङमा सस्तैमा समेटियो बहराइन
काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालसामु बहराइनले ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो।
बहराइनलाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले अत्यन्तै किफायती बलिङ गरे। उनले १० ओभर बलिङ गर्दै ४ ओभर मेडनसहित १४ रन खर्चेर ५ विकेट लिएका हुन्।
बहराइनका लागि फेज अहमद, मोहम्मद वासिम र अन्तिम ब्याटरका रूपमा मैदान आएका अलि दाउदले मात्र दोहोरो अङ्कमा रन बनाउन सके। फेज अहमदले १५ बलमा दुई चौका र एक छक्कासहित १५ रन बनाउँदा मोहम्मद वासिमले २७ बलमा एक चौकासहित १३ रन बनाए। यस्तै, अन्तिम ब्याटरका रूपमा आएका अलि दाउदले २७ बलमा एक छक्कासहित १० रन बनाए।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेको ५ विकेटबाहेक ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !