अक्षरमा उनिएको कूटनीतिक गन्तव्य

अक्षरमा उनिएको कूटनीतिक गन्तव्य

नेपालमा अमेरिकी, भारतीय, रुसीलगायत विभिन्न विदेशी कूटनीतिक नियोगले पुस्तकालय र सूचना केन्द्र सञ्चालन गर्दै आएका छन्। यी पुस्तकालयलाई ‘सफ्टपावर’ अर्थात् नम्र शक्ति र सांस्कृतिक कूटनीतिका प्रभावकारी माध्यमका रूपमा पनि बुझ्न सकिन्छ।

कुटनीतिक नियोगअन्तर्गत सञ्चालित पुस्तकालयको भूमिका सामान्य पुस्तकालयको भन्दा व्यापक हुन्छ। विभिन्न देशका दूतावास तथा अन्तर्राष्ट्रिय संस्थाले सञ्चालन गरेका यस्ता पुस्तकालय सम्बन्धित देशको भाषा, साहित्य, संस्कृति, इतिहास, शिक्षा, विज्ञान तथा समसामयिक विषयबारे जानकारी दिने माध्यम मात्र नभई दुई देशबीच ज्ञान, विचार र संस्कृतिको आदानप्रदान गर्ने महत्वपूर्ण थलो पनि हुन्।

नेपालमा अमेरिकी, भारतीय, रुसीलगायत विभिन्न विदेशी कूटनीतिक नियोगले पुस्तकालय र सूचना केन्द्र सञ्चालन गर्दै आएका छन्। यस्ता पुस्तकालयले नेपाली विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई पुस्तक, जर्नल, पत्रपत्रिका, सन्दर्भ सामग्री र डिजिटल स्रोतमा पहुँच उपलब्ध गराएका छन्। यी पुस्तकालयलाई ‘सफ्टपावर’ अर्थात् नम्र शक्ति र सांस्कृतिक कूटनीतिका प्रभावकारी माध्यमका रूपमा पनि बुझ्न सकिन्छ। 

कूटनीतिक नियोगहरूले आफ्नो देशको भाषा, साहित्य र संस्कृतिको प्रचारप्रसार गर्ने, दुई देशबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने, सूचना तथा ज्ञान आदानप्रदान गर्ने र शैक्षिक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न मुलुकमा यस्ता पुस्तकालय स्थापना गर्ने गरेको पाइन्छ। नेपालमा सञ्चालित केही महत्वपूर्ण कूटनीतिक नियोगका पुस्तकालयको यहाँ चर्चा गरिएको छ।

अमेरिकन सेन्टर लाइब्रेरी : अमेरिकन सेन्टर लाइब्रेरी अमेरिकी दूतावासअन्तर्गत सञ्चालित महत्वपूर्ण सूचना तथा ज्ञान केन्द्र हो। काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास परिसरमा रहेको यस पुस्तकालयले नेपाली विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा अन्य पाठकलाई अध्ययन सामग्री र डिजिटल स्रोतमा पहुँच उपलब्ध गराउँदै आएको छ। यस पुस्तकालयको विकास अमेरिकी सार्वजनिक कूटनीतिको अवधारणासँग जोडिएको छ। अमेरिकी शिक्षा, संस्कृति, लोकतान्त्रिक मूल्य, विज्ञान, प्रविधि र सूचना पहुँचसम्बन्धी जानकारीलाई विश्वका विभिन्न समुदायसम्म पु¥याउने उद्देश्यले यस्ता सूचना केन्द्रहरू विकास गरिएका हुन्। नेपालमा पनि यस पुस्तकालयले सूचना साक्षरता, अनुसन्धान तथा अध्ययनका लागि विश्वसनीय स्रोत उपलब्ध गराउने काम गर्दै आएको छ।

अमेरिकन सेन्टर परम्परागत पुस्तक संकलनमा मात्र सीमित नरहेर समयक्रमअनुसार आधुनिक डिजिटल सूचना केन्द्रका रूपमा विकसित हुँदै गइरहेको छ। यहाँ पुस्तक तथा सन्दर्भ सामग्रीका अतिरिक्त पत्रपत्रिका तथा विभिन्न अनलाइन स्रोतको पहुँच उपलब्ध छ। अमेरिकी इतिहास, राजनीति, संस्कृति, अन्तर्राष्ट्रिय सम्बन्ध, अंग्रेजी भाषा, विज्ञान तथा प्रविधि, मानवअधिकार, लोकतन्त्र, शासन प्रणाली र समसामयिक विश्व राजनीतिसम्बन्धी सामग्री यहाँ विशेष महत्वका छन्। अमेरिकन सेन्टरको प्रभाव काठमाडौंमा मात्र सीमित नरहेर विभिन्न स्थानीय संस्थासँग सहकार्य गरी देशका विभिन्न स्थानमा ‘अमेरिकन कर्नर’ तथा ‘इनोभेसन हब’ सञ्चालन गर्दै आएको छ। काठमाडौंसहित इलाम, विराटनगर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीजस्ता स्थानमा सञ्चालन भएका यस्ता केन्द्रले पुस्तकालयको पहुँच मोफसलमा पनि पु¥याएका छन्।

पुस्तकालय सेवाको पहुँचलाई व्यापकता दिने गरी दूरदराजका बालबालिका तथा समुदायसम्म अध्ययन सामग्री पुर्‍याउन ‘बुकबक्स’ र ‘बुकटुक’ जस्ता कार्यक्रम सञ्चालन भएका छन्। यस्ता पहलले पुस्तकालयलाई भवनभित्र सीमित नराखी समुदायसम्म पुग्ने सेवाका रूपमा विकास गर्न सहयोग गरेका छन्। पठन संस्कृति, सूचना साक्षरता र आजीवन सिकाइको वातावरण निर्माणमा यस्ता कार्यक्रमको योगदान उल्लेखनीय देखिन्छ।

नेपाल–भारत पुस्तकालय : नेपाल र भारतबीचको सांस्कृतिक, ऐतिहासिक तथा शैक्षिक सम्बन्ध पुरानो र बहुआयामिक छ। यही सम्बन्धलाई थप सुदृढ बनाउन सन् १९५६ मा काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको भवनमा ‘नेपाल–भारत पुस्तकालय’ स्थापना गरिएको हो। भारत सरकारको सहयोगमा स्थापित यो पुस्तकालय भारतीय दूतावास, काठमाडौंअन्तर्गत सञ्चालन हुँदै आएको छ। यसले दुई देशबीचको बौद्धिक, शैक्षिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा लामो समयदेखि योगदान दिँदै आएको छ। नेपाली पाठकलाई अध्ययन सामग्री उपलब्ध गराउनुका साथै भारतीय इतिहास, संस्कृति, साहित्य तथा विज्ञानबारे जानकारी प्रवाह गर्नु यसको महत्वपूर्ण पक्ष हो।

विज्ञान तथा प्रविधि, व्यवस्थापन, समाजशास्त्र, इतिहासलगायत विभिन्न विषयका पुस्तकसँगै शब्दकोश, विश्वकोश तथा अनुसन्धानात्मक सन्दर्भ सामग्री पनि संगृहित छन्। महात्मा गान्धी, जवाहरलाल नेहरू र स्वामी विवेकानन्दलगायत भारतीय व्यक्तित्वसम्बन्धी पुस्तकहरू यसको उल्लेखनीय संग्रहका रूपमा रहेका छन्। सदस्यता प्राप्त गरेका पाठकले तोकिएको व्यवस्थाअनुसार पुस्तक घर लैजान सक्ने सुविधा पाउँछन्। 

पुस्तकालयको शान्त र व्यवस्थित वातावरणमा पाठकहरू ज्ञानको भोक मेटिरहेका हुन्छन्। पुस्तकालयले समयसमयमा पुस्तक प्रदर्शनी, साहित्यिक गोष्ठी, शैक्षिक सेमिनारजस्ता कार्यक्रम पनि आयोजना गर्दै आएको छ। नेपाल–भारत पुस्तकालय दुई देशबीचको बौद्धिक सम्बन्धको संस्थागत अभिव्यक्ति हो। पुस्तकका माध्यमबाट इतिहास, साहित्य र संस्कृतिको संवाद अघि बढाउँदै यसले नेपाल र भारतबीचको सम्बन्धमा ज्ञानको नयाँ आयाम थपेको छ।

रसियन हाउस पुस्तकालय : नेपालमा सञ्चालित कूटनीतिक नियोगका पुस्तकालयमध्ये ‘रशियन हाउस पुस्तकालय’ पनि महत्वपूर्ण छ। ‘रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर’का रूपमा चिनिने यसले नेपाल र रुसबीचको शैक्षिक, सांस्कृतिक तथा बौद्धिक सम्बन्ध विस्तारमा योगदान दिँदै आएको छ। रुसी भाषा, साहित्य, कला, विज्ञान, इतिहास र संस्कृतिसम्बन्धी सामग्री यस पुस्तकालयका प्रमुख आकर्षण हुन्। रुसी तथा अंग्रेजी भाषाका विभिन्न विषयका पुस्तकसँगै विज्ञान तथा प्रविधि, शब्दकोश, विश्वकोश, कला, संस्कृति र इतिहाससम्बन्धी सामग्री यहाँ उपलब्ध छन्। पुस्तकालयमा लियो टोल्स्टोय, फ्योदोर दोस्तोयेभ्स्की र अलेक्जेन्डर पुश्किनजस्ता विश्वप्रसिद्ध रुसी साहित्यकारका कृतिले पुस्तकालयको साहित्यिक पक्षलाई थप समृद्ध बनाएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका, जर्नल तथा अनुसन्धानमूलक सामग्रीले यसको सन्दर्भगत उपयोगिता बढाएका छन्। आधुनिक समयसँगै रशियन हाउस पुस्तकालयले डिजिटल सूचना सेवातर्फ पनि ध्यान दिएको छ। सदस्यता लिएपछि निश्चित अवधिका लागि पुस्तक घर लैजान सकिने व्यवस्था पनि छ। यस केन्द्रको अर्को महत्वपूर्ण पक्ष भाषा र संस्कृतिसम्बन्धी कार्यक्रम हुन्। रुसी भाषा कक्षा, साहित्यिक गोष्ठी, चलचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रमजस्ता गतिविधिले पुस्तकालयलाई बहुआयामिक सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग गरेका छन्। यसबाट नेपाली पाठकले रुसी समाज, साहित्य र संस्कृतिलाई पुस्तकमा मात्र सीमित नभएर प्रत्यक्ष सांस्कृतिक गतिविधिमार्फत पनि
बुझ्ने अवसर पाउँछन्।

पुस्तकालयभन्दा परको भूमिका : कूटनीतिक नियोगका पुस्तकालयको सबैभन्दा महत्वपूर्ण विशेषता तिनको बहुआयामिक भूमिका हो। कूटनीतिक पुस्तकालयले त्यससँगै सम्बन्धित देशको समाज, इतिहास, भाषा, संस्कृति, शिक्षा र नीतिबारे जानकारी दिने काम पनि गर्छ। ‘ज्ञान कूटनीति’का केन्द्रका रूपमा चिनिने पुस्तकालय ई–बुक, अनलाइन जर्नल, डिजिटल अभिलेख, शैक्षिक डेटाबेस र अन्य विद्युतीय स्रोतले परम्परागत स्वरूपलाई परिवर्तन गरिरहेका छन्। कूटनीतिक पुस्तकालयका लागि पनि यही डिजिटल रूपान्तरण अवसर र चुनौती दुवै हो। नेपालका सन्दर्भमा यस्ता पुस्तकालयले विशेषगरी सार्वजनिक शिक्षा र अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छन्। नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उपलब्ध स्रोत सीमित भएको अवस्थामा अन्तर्राष्ट्रिय पुस्तकालयका संग्रह अनुसन्धानकर्ता र विद्यार्थीका लागि निकै उपयोगी हुन सक्छन्। त्यस्तै, विदेशी भाषा अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय अध्ययन, तुलनात्मक राजनीति, संस्कृति र विश्व इतिहासका विद्यार्थीका लागि यी पुस्तकालय थप महत्वपूर्ण बन्न सक्छन्।

ज्ञान र मित्रताको साझा थलो : नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका पुस्तकालयलाई केवल ‘विदेशी पुस्तक राखिएका ठाउँ’का रूपमा मात्र हेरियो भने अन्याय हुन्छ। यी पुस्तकालयले ज्ञान, सूचना, भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई विश्वसँग जोड्ने सेतुको काम गरिरहेका छन्। विद्यार्थी र अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय स्रोतमा पहुँच दिनुका साथै नेपाली समाजलाई विभिन्न देशका विचार, अनुभव र सांस्कृतिक परम्परासँग परिचित गराएका छन्। कूटनीतिक सम्बन्ध प्राय:सरकार–सरकारबीचको संवादका रूपमा बुझिन्छ। तर, दीर्घकालीन सम्बन्ध नागरिकस्तरको समझदारीमा पनि निर्भर हुन्छ। पुस्तकालय, सांस्कृतिक कार्यक्रम, भाषा कक्षा, साहित्यिक छलफल र शैक्षिक आदानप्रदानले यही नागरिकस्तरको सम्बन्धलाई बलियो बनाउन सक्छन्।

भविष्यमा यस्ता पुस्तकालयबीच सहकार्य विस्तार, डिजिटल स्रोतको पहुँच वृद्धि, स्थानीय पुस्तकालय तथा विश्वविद्यालयसँग साझेदारी र सेवाको भौगोलिक विस्तार गर्न सकिएमा तिनको प्रभाव अझ व्यापक बन्न सक्छ। विशेषगरी काठमाडौंकेन्द्रित सेवाभन्दा बाहिर गएर प्रदेश तथा स्थानीय तहका विद्यार्थी र अनुसन्धानकर्तासम्म डिजिटल तथा प्रत्यक्ष सेवा पुर्‍याउन सके यसको सामाजिक उपयोगिता अझ बढ्नेछ। कूटनीतिक नियोगका पुस्तकालय सम्बन्धित देशको विदेश नीतिका मौन तर प्रभावकारी माध्यम पनि हुन्। भाषण वा औपचारिक कूटनीतिक भेटघाटभन्दा फरक ढंगले मानिसलाई मानिससँग, ज्ञानलाई ज्ञानसँग र संस्कृतिलाई संस्कृतिसँग जोड्ने काम गर्छन्।

१९औं पुस्तकालय दिवसको आदर्श वाक्य ‘बाल, युवा र वृद्ध:पुस्तकालय सबैको गन्तव्य’लाई सार्थक बनाउन कूटनीतिक नियोगका पुस्तकालयहरूको भूमिका पनि महत्वपूर्ण छ। समाजका सबै वर्ग र उमेरसमूहका लागि यी पुस्तकालय ज्ञान, अध्ययन, संवाद र सांस्कृतिक आदानप्रदानका साझा गन्तव्य बन्न सकून्। नेपालमा रहेका यस्ता पुस्तकालयलाई यही व्यापक दृष्टिले विकास र उपयोग गर्न सकियो भने शिक्षा, अनुसन्धान, पठन संस्कृति तथा अन्तर्राष्ट्रिय समझदारी विस्तारमा तिनको योगदान अझ महत्वपूर्ण बन्न सक्छ। हार्दिक शुभकामना !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.